संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन हुँदैन : अध्यक्ष ओली

मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा  पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताउनुभएको छ । उहाँले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरू वामपन्थी नभएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले  नेकपा एकीकृत(समाजवादी)का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताउनुभयो । उहाँले आफूले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री  बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताउनुभयो ।

उहाँले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको जिकिर गर्नुभयो ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ११ : २२ बजे