एमालेले औपचारिक रुपमा चुनावी समिक्षा सुरु गर्ने, जेठ ३० गते सचिवालय बैठक

काठमाडौं – नेकपा एमालेले औपचारिक रुपमा चुनावी समिक्षा सुरु गर्ने भएको छ ।

पार्टी स्रोतका अनुसार स्थानीय निर्वाचनपछि विभिन्न व्यक्ति र कमिटीबाट आएका रिर्पोटहरुलाई आधार मानेर पार्टीको उपल्लो कमिटी सचिवालयको बैठकमा छलफल हुने भएको हो ।

बैठकको तयारीका लागि जेठ २९ गते पार्टी केन्द्रीय कार्यलयको बैठक बस्नेछ । महासचिवको संयोजकत्वमा हुने उक्त बैठकले सचिवालयमा पेश गरिने एजेण्डा तय गर्नेछ ।

केन्द्रीय कार्यलय बैठकको भोलीपल्ट पार्टी सचिवालयको बैठक बस्ने तय भएको छ । पार्टी केन्द्रीय कार्यलय च्यासलमा हुने बैठकमा स्थानीय तहको निर्वाचनमा भएका हारजितको विस्तृत समिक्षा हुने सचिवालयका एक नेताले जानकारी दिनुभयो ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गम्भिर अन्तरघात भएको बताइसक्नु भएका कारण अबको बैठकको निशाना अन्तरघातीको पहिचान र कारबाहीमा केन्द्रित हुन सक्ने ति नेताले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीका अनुसार केन्द्रीय कार्यलयको बैठक जेठ २९ र सचिवालयलको बैठक जेठ ३० गतेलाई तय भएको यो बेलालाई जानकारी दिनुभयो ।

सचिवालय बैठकले आवश्यकता ठानेमा स्थायी र केन्द्रीय कमिटीको बैठक पनि बोलाउने नेताहरुले जनाएका छन् ।

सचिवालय बैठकको भोलीपल्ट पार्टी अनुशासन आयोगको बैठक बोलाइएको एमाले स्रोतले जनाएको छ । पार्टी निकट स्रोतका अनुसार यस पटक बस्ने अनुशासन आयोगको बैठकले केही उपल्लो तहका नेतालाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ । अध्यक्ष ओलीको परामर्शमा आयोगले यो कदम चाल्न लागेको हो ।

यसअघि पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई आयोगले कारबाहीको सिफारिस गरेको छ । देशका विभिन्न स्थानीय तहमा जित्ने आधार हुँदाहुँदै पनि हार्नु आफ्नै पार्टी भित्रको अन्तरघातलाई कारण मानिएको छ ।

अध्यक्ष ओलीले भरतपुर, पोखरा महानगर र दमक नगरपालिकाकोे हारलाई गम्भिरतापूर्वक लिएको निकटस्थहरुले जनाएका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  ९ : ५१ बजे