चितवनमा नयाँ प्रजातिको चरा भेटियो

चितवन । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । 

नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धान बारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । 

छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्बिर लिनुभएको थियो । नयाँ चरा भेटिएपछि चराविज्ञ डा हेमसागर बरालसहितको विज्ञ समूह मङ्गलवार चितवन आएर थप अध्ययन गरेको थियो ।

बिडारीका अनुसार मङ्गलवार पनि चरा भेटिएको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् । यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ । यो चरा लजालु स्वभावको भएको बिडारी बताउनुहुन्छ । 

यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ । चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ । रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ९ : ०८ बजे