दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मनाङलाई हराउँदै पुलिस सेमिफाइनलमा

हेटौँडा । मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा हेटौँडामा सञ्चालन भइरहेको चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपमा  मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

राष्ट्रिय टिमबाट बाहिर परेका, नाम चलेका खेलाडीले भरिएको मनाङलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लब हेटौँडामा जारी मकवानपुर गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको हो । 

अञ्जन विष्ट, विमल घर्ती मगर, सुजल श्रेष्ठ, दिनेश राजवंशी, विशाल श्रेष्ठ लगायतका चल्तीका खेलाडी लिएर मैदान प्रवेश गरेको मनाङलाई पुलिसले १–० गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

खेलको ३४ औँ मिनेटमा भरत शाहले गरेको गोल नै पुलिसको जितमा निर्णायक बन्यो । ४१ औँ मिनेटमा मनाङले बराबरी गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न सकेन ।

पुलिसका अजित भण्डारीले विमल घर्ती मगरलाई डीबक्स क्षेत्रमा लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । अञ्जन विष्टको पेनाल्टी प्रहारलाई पुलिसका गोलरक्षक सत्रुघन चौधरीले बचाएका थिए । त्यसपछि मनाङले लगातार आक्रमण गरे पनि पुलिसका गोलरक्षक चौधरी बाधक बनेका थिए । खेलको म्यान अफ द म्याच उनै गोलरक्षक चौधरी भए ।

उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । जारी प्रतियोगितामा बुधवार मकवानपुरको विजय यूथ नव जनजागृति क्लब सिमराको खेल हुनेछ । 

मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा सञ्चालन भइरहेको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपको चौथो संस्करण यही वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतियोगितामा १२ क्लबको सहभागिता छ । 

मनाङ मर्स्याङ्दी सँगको खेलमा नेपाल पुलिस क्लबको प्रशिक्षक र खेलाडी गरी तीन जनाले रातो कार्ड पाएका छन् । प्रशिक्षक अनन्तराज थापा तथा खेलाडी हेम तामाङ र हेमन्त श्रेष्ठले रातो कार्ड पाएका हुन् । श्रेष्ठले मैदान प्रवेश नगर्दै रातो कार्ड पाएका हुन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७९, बुधबार  ७ : ५९ बजे