आज वर्षाको सम्भावना

इम्बोस्ड प्लेट र स्यानिटरी प्याडमा नीतिगत भ्रष्टाचार,प्रधानमन्त्री पत्नी, छोरा र सालो संलग्न !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले यातायात साधनको इम्बोस्ड नम्बर र महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा प्रधानमन्त्रीको परिवार नै मिलेर नीतिगत भ्रष्टाचार गरिरहेको आरोप लगाएको छ । 

इम्बोस्ड नम्बर प्लेटमा सरकारको जबर्जस्तिविरुद्ध मंगलवार काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं युवा संघका अध्यक्ष किरण पौडेलले प्रधानमन्त्री देउवा पत्नी आरजुका भाइ भूषण राणाको सेटिङमा यो खेलोमेलो भइरहेको बताउनुभयो ।  

उहाँले इम्बोस्ड नम्बर प्लेट सम्बन्धी काम गर्ने विदेशी कम्पनीको नेपाली एजेन्ट नै भूषण राणा रहेकोबताउनुभयो । उहाँले एक महिनाभित्र इम्बोस्ड नम्बर जडान गरे पनि नगरे पनि ९५प्रतिशत भुक्तानी सो कम्पनीलाई दिन लागिएको भन्दै त्यस्लाई रोक्न माग गनुृभयो ।  

‘यो खेल प्रधानमन्त्री निवासबाटै भइरहेको छ । भूषण राणा को हुन् ? इम्बोस्ड नम्बर प्लेटमा उनको के खेलोमेलो छ खोजियोस् । आज आरजु देउवा विदेश हिँड्नुभएको छ किन ? प्रस्टै छ कमिसनको लेनदेन विदेशमै हुने गरेको छ ।’पौडेलको भनाई थियो । 

अध्यक्ष पौडेलले भारतबाट आयात हुने स्यानिटरी प्याडमासमेत नीतिगत भ्रष्टाचार भइरहेको बताउनुभयो । पौडेलले प्याडमा ९० प्रतिशत छुट दिने बजेटको नीतिगत व्यवस्थामा पनि प्रधानमन्त्रीका पुत्र जयवीर सिंह देउवा,अर्थमन्त्री जनार्दन शर्मा र विना विभागीय मन्त्री उमेश श्रेष्ठको सेटिङ रहेको बताउनुभयो । 

देउवापुत्रले सो व्यवसाय गरिरहेको र नेपालका स्यानिटरी प्याड उद्योगलाई धराशायी बनाउन प्रधानमन्त्री परिवारबाटै नीतिगत भ्रष्टाचार भएको  पौडेलले आरोप लगाउनुभयो । 

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ४ : ४९ बजे