लोसपाले प्रधानमन्त्री देउवालाई बुझायो ११ बुँदे ज्ञापन पत्र  

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापन पत्र बुझाएको छ । 

विगतमा लोसपासँग गरिएको प्रतिबद्धता पूरा गर्न भन्दै पार्टी अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा बालुवाटार पुगेको टोलीले प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

विगतमा विभिन्न सरकार हुँदा र वर्तमान काँग्रेस नेतृत्वको सरकार गठन हुँदा आफ्नो पार्टीसँग भएका सम्झौता र प्रतिबद्धता पूरा गर्न सरकारलाई आग्रह गरिएको छ । 

प्रधानमन्त्री देउवाले आफ्नो पार्टीले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म पूरा नगरेकाले पुनः स्मरण गराउन ११ बुँदे ज्ञापन पत्र बुझाइएको लोसपाले जनाएको छ ।

लोसपाले संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्ने र वैवाहिक अङ्गीकृत सम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिने, मधेस आन्दोलन÷थरुहट आन्दोलनलगायत विभिन्न आन्दोलनमा लगाइएका झुटा मुद्दा फिर्ता गर्ने र महोत्तरी र कैलालीमा रहेका रेशम चौधरीलगायतका राजबन्दीहरूलाई अविलम्ब रिहाइ गर्ने, नेपालमा विभिन्न उत्पीडित समुदाय मधेसी, थारु, आदिवासी जनजाति, शिल्पी, महिला, मुस्लिमलगायतको सम्मान, पहिचान र अधिकार प्राप्तिका लागि संविधान संशोधन गर्ने, जनसङ्ख्याको आधारमा स्थानीय निकायm प्रदेशसभा र सङ्घीय संसद्मा प्रतिनिधित्वको व्यवस्था गर्ने माग गरिएको छ । 

यस्तै, पूर्व न्यायाधीश गिरिशचन्द्र लाल प्रतिवेदन सार्वजनिक गर्ने, विगतमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरिएका सम्झौता लागू गर्ने लगायतका माग राखिएको छ । 

प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउन लोसपा अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, अनिलकुमार झा लगायतका नेता बालुवाटार पुग्नुभएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलबार  ११ : ४१ बजे