अनुशासनहीनता र अराजकता बाई बाईः कम्युनिष्ट आन्दोलन हाई हाई

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नाम विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेललाई जिताई दिएपछि तोडमा परेका प्रचण्ड मुद्धा पुनरावलोकनको लागि पुःन अदालत गएका थिए । तर अदालतले त्यसलाई अस्वीकार गरिदिएको छ । अब उनलाई त्यही पुरानो छोडिसकेको माओवादी विचार र माओवादी पार्टी बोकेर हिड्नु पर्ने वाध्यता आईलागेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनका स्वनामधन्य नायक प्रचण्ड खासमा पार्टी बनाउन जनतामा धाउनु पर्ने हो । जननेता मदन भण्डारीको अगुवाईमा नेपालको कम्युनिष्ट आन्दोलनले पाएको जनताको बहुदलीय जनवादजस्तो जनताले मन पराउने विचार बोकेर जनतालाई सन्तुष्ट पारेर उनीहरुलाई संगठित गर्नु पर्ने हो । तर उनले जीवनभर जनतालाई दुःख दिएको हुनाले, धेरै निर्दोष जनताको ज्यान लिने र हुर्मत लिने गरेको हुनाले, जनतालाई झुक्याएर सत्तामा पुग्न कोशिस गरेको हुनाले, क्रान्तिकारी कम्युनिष्ट सरकारलाई गिराउन प्रतिक्रियावादी साँठगाँठ गरेको हुनाले,विचारको राजनीति गर्नुको सट्टा चटके राजनीति गरेको हुनाले र एकीकृत भईसकेको कम्युनिष्ट आन्दोलनलाई क्षत विक्षत बनाउन भिलेनी भूमिका खेलेको हुनाले जनतामा जाने उनमा नैतिक तागत छैन । प्रचण्डले खेल्न सक्ने सबैराजनीतिक छिर्के दाउ निस्तेज भएपछि उनी आज ईतिहासमै सबभन्दा अप्ठ्यारोमा परेका छन् ।

दश बर्षसम्म जङ्गलमा बमबारुदको खेती गर्दा पनि पार्टी  बनेन, जनतामा गएर झुट्टा आश्वासन बाँड्दा पनि पार्टी बनेन । युद्ध लड्दा पनि पार्टी बनेन, चुनाब लड्दा पनि पार्टी बनेन । अब अदालतले पार्टी बनाई दिन्छ कि भन्ने मृगमरीचिकामा थिए उनी ! युजे पोत्तरको अन्तराष्ट्रिय गीत गाउनेहरू नै 'क्रान्तिकारी कम्युनिष्ट पार्टी' बनाउन अदालत धाउनु एक आश्चर्यजनक घटना हो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा अरु पनि अचम्मका दृश्य देखिदैछन् । नेपालको कम्युनिष्ट आन्दोलनले सात दशक पार गरिसक्दा पनि यसको नेतृत्व गर्ने केही नेताहरुमा पटक्कै परिपक्वता देखिएन । मौका पर्यो भने अहिलेसम्म भएका परिवर्तनको श्रेय आफैं लिन पनि पछि नपर्ने तर पदीय स्वार्थको पट्टी आँखामा बाँधेपछि सबै कुरा विर्सने रोग उनीहरुमा कायमै रहेको देख्न सकिन्छ । एमाले-माओवादी एकता कायम हुन नसकेपछि पुःन ब्युँतिएकका एमालेभित्र अहिले केही नेताहरुले जनताको मन कुड्याँउने व्यवहार देखाउदैछन् ।

नेकपा(एमाले)मा अहिले पार्टी अध्यक्ष के पी शर्मा ओलीको सबैतिर अत्यधिक बहुमत छ । पार्टीको केन्द्रिय कमिटीदेखि सबै मातहत कमिटीमा अध्यक्षको बहुमत छ । संघीय संसदीय दल, प्रदेश संसदीय दल र स्थानीय जनप्रतिनिधिहरुको अत्यधिक बहुमत पार्टी अध्यक्ष के पी शर्मा ओलीकै पक्षमा छ । सबै जनसंगठनको अत्यधिक बहुमत पार्टी अध्यक्ष र महासचिवकै पक्षमा छ । पार्टी एकता भंग हुँदा माओवादी तर्फबाट ठूलो संख्यामा एमाले भएका नेता पनि ओलीकै पक्षमा भएपछि त के चाहियो ? अर्कातिर नवौं महाधिवेशनमा अल्पमतमा परेर पराजित भएका, पार्टीको मूल नेतृत्वलाई सिध्याउने प्रचण्डको डिजाईनमा फसेर नेता कार्यकर्ताको ठूलो पङ्क्तिको समर्थन गुमाएका हाल निलम्बित नेता माधव नेपालको पक्षमा एउटा सानो समूह बाँकी छ । नेकपा(एमाले)भित्रको यो नै अहिलेको गुट हो ।

वृहत् नेपाली शब्दकोशले 'कुनै खास उदेश्य लिएर केही व्यक्तिको पक्ष,मत वा स्वार्थका आधारमा बनेको सानो दल वा जमात,पारस्परिक मतभेद वा रागद्वेषका कारणले कुनै ठूलो सङ्गठन वा समूहभित्र तयार भएको सानो सङ्गठन' भनेर व्याख्या गरेको छ । अनि पार्टी अध्यक्ष र महासचिवले वैधानिक तवरले बोलाएको पार्टीको बैठक कसरी गुट भेला हुन्छ ? एमालेका केही असन्तुष्ट नेताले आयोजना गरेको भेलालाई 'राष्ट्रिय कार्यकर्ता भेला' लेख्न र भन्न नहिच्किचाउने तर पार्टीको वैधानिक बैठकलाई 'गुट भेला' भन्नु अराजकताको पराकाष्टा नै हो । विगतमा जनवादी केन्द्रियताको ठूल्ठूला गुड्डी हाँक्ने नेताहरु नै पार्टी निर्णय मान्नुको सट्टा 'गुटको निर्णय नमान्ने' अनौठो तर्क गर्दैछन् । अझ १५ बर्ष पार्टी महासचिव भएको व्यक्तिले नै यस्तो तर्क गरेपछि कसको के लाग्छ ? ती नेताहरुका आन्दोलन, पार्टी र नेतृत्वबारेको विगतको बुझाई सबै भाँडमा गएको हो ?

सबैलाई जानकारी छ, एमालेमा केही नेताहरु पार्टी नेतृत्वसंग असन्तुष्ट छन् । पार्टी नेतृत्वविरुद्ध गुटबन्दी गर्दागर्दै पेरिस डाँडामा आफ्नो नेम प्लेट राखिसकेका नेताहरू पुन: एमालेमा फर्कन 'वाध्य' नेताहरुको मन अमिलो भएको छ अहिले । 'एमालेमै फर्किएर ओलीलाई सिध्याउने' हुँकार गरेका नेताहरु एमाले आफूले भनेबमोजिम नचलेकोले कम्युनिष्ट आन्दोलन विसर्जनको दिशामा गएको, एमाले विभाजन हुन लागेको जस्ता हावादारी धारणा अगाडि सारिरहेका छन् । यस्तो लाग्छ, उनीहरू मात्र एमाले हुन्, उनीहरू नै कम्युनिष्ट आन्दोलन हुन् ! उनीहरूले भनेजस्तो नहुँदा कम्युनिष्ट आन्दोलन विसर्जन हुन्छ, पतन हुन्छ,ध्वस्त हुन्छ ! योभन्दा विडम्वना अरु के हुनसक्छ ?

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले देशको मुहार फेर्ने काम गरिरहेको, विश्व मानचित्रमा नेपालको नयाँ वृहत् नक्सा पेश गरेको, नेपाली श्रमजीवी जनताको पक्षमा काम गरेको र देशलाई सार्वभौम,सबल र समृद्ध राष्ट्रको कोटीमा पुर्याउन गरिरहेको अथक प्रयास आज देशका सबै जनताले मुक्त कण्ठले प्रशंशा गरेका छन् । तर गुटमा रोईलो छ । कहिले ओली देशद्रोही हो भनेका छन्, कहिले ओलीले दलाल पूँजीवादको पक्षपोषण गरेको जस्ता आरोप लगाएका लगायै छन् । अराजक र पार्टीविरोधी गतिविधि गरेवापत पार्टी विधानबमोजिम गरिएको निलम्बनलाई 'देशभक्तिपूर्ण आवाजलाई दबाउन खोजेको' भन्ने हाँस्यास्पद तर्क गरेका छन् ।

कम्युनिष्टहरु समाजिक चेतनाको हिसाबले सबभन्दा उच्च मानिस हुन्  भनिन्छ । कम्युनिष्टहरुलाई यस्तो तर्क गर्न अलि शरम हुनु पर्ने हो । एमालेको पार्टी अनुशासनबाट स्खलित केही नेताहरुले आफुले अमुक अमुक पद नपाएको झोंकमा हाल देखाईएको प्रहसनबाट नेपालको कम्युनिष्ट आन्दोलन झुक्किदैन, जनता अलमलमा पर्दैनन् । नेपाल र नेपालीको समृद्धिलाई पनि यसले कुनै असर गर्दैन । नेपालको कम्युनिष्ट आन्दोलनले प्राप्त गरेको नयाँ उचाईलाई कसैले घटाउन सक्दैन ।

यसविचमा एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी लामो समयदेखि गुटबन्दी र अराजकताको नेतृत्व गरिरहेका नेताहरु माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ । यसको अर्थ उनीहरुले हाल अनधिकृत रुपमा प्रयोग गर्दै आएको एमालेको नाम, लोगो र झण्डा अब प्रयोग गर्न पाउन्नन् भन्ने हो । तर पनि उनीहरूले त्यसो गरिरहेछन् । राज्यसत्ता, पार्टी र राजनीति खेलाँची गर्ने विषय हन् र ?

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : २८ बजे