‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

स्थानीय जनप्रतिनिधिहरूलाई ‘भाइरल होइन, आइडल’ बन्न सुझाव !

स्थानीय निर्वाचनमा निर्वाचित मेयरहरूले आफू छिटो लोकप्रिय देखिनका लागि हतार–हतारमा विना कुनै पूर्व तयारी जे–जस्ता निर्णयहरू गर्दै छन्, जस्तो प्रक्रिया अपनाउँदै छन् त्यसले उनीहरूलाई भोलि सङ्कटमा पार्न सक्छ, किन भने स्थानीय सरकार सञ्चालनमा सामूहिक भावना, विधि र प्रक्रियाप्रति उनीहरू सजग देखिएका छैनन् । निर्णयका लागि आवश्यक पूर्व तयारीविनै बैठकहरूको बसेको र विवाद भएको खबरहरू आएका छन् । 

रौतहट कटहरिया नगरपालिकाका मेयर अजय प्रकाशले नगरपालिकाको पहिलो बैठकबाटै कटहरियाका सम्पूर्ण सार्वजनिक विद्यालयहरूमा कक्षा १ देखि १० सम्म अङ्ग्रेजी भाषाका माध्यमबाट पठनपाठन गराउनु पर्ने निर्णय गराए। सार्वजनिक शिक्षाको गुणस्तर कमजोर हुनुमा अङ्ग्रेजी भाषालाई माध्यम बनाउन नसक्नुलाई मुख्य कारण ठाने। जबकि  त्यसका पछाडि अरू धेरै कारणहरू विद्यमान छन् । विद्यालय शिक्षालाई स्तरीय बनाउनका लागि पूर्वप्राथमिक शिक्षाको भूमिकाप्रति उनीहरूमा कुनै जानकारी भएको पाइएन। यो त एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो ।

पूर्वप्राथमिक शिक्षा एउटा त्यस्तो बलियो आधार हो, जसले विद्यार्थीहरूलाई जीवनपर्यन्त सिकारु बन्ने र जीवनभरका  लागि अवसरहरू निर्माण गर्ने क्षमता विकास गर्न विशेष भूमिका खेलेको हुन्छ। आज त्यो भूमिका प्रभावकारी नहुँदा सार्वजनिक शिक्षाको शैक्षिक उपलब्धि निराशाजनक भएर शिक्षामा राज्यको लगानीले सकारात्मक प्रतिफल दिन सकेको छैन । त्यसैले सार्वजनिक शिक्षाको शैक्षिक उपलब्धि स्तरीय बनाउनका लागि पूर्वप्राथमिक शिक्षालाई नै विशिष्ट बनाउन सक्नुपर्छ ।

स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूलाई उनीहरू आफूले गर्ने र कर्मचारी प्रशासनले गर्ने कामको बारेमा अभिमुखीकरण गर्नुपर्ने आवश्यकता देखियो । जनमुखी नीति ल्याउने र पद्धति बसाल्ने भन्दा पनि मिडिया खपतका लागि क्रियाकलापहरू गर्न खोजेको सङ्केत मिलेको छ ।

यस्ता गतिविधिहरूप्रति सङ्केत गर्दै पत्रकार मातृका पौडेलले ट्विट छ— ‘नवनिर्वाचित जनप्रतिनिधिज्यूहरूलाई पहिलो र अन्तिम सुझाव—तपाईँ भाइरल होइन, आइडल बन्नुस् । अहिले देखाउने होइन भविष्य लेखाउने काम गर्नुस् ।’

सार्वजनिक शिक्षामा गुणात्मक परिवर्तनको पहिलो सर्त पूर्वप्राथमिक तहको शिक्षालाई गुणस्तरीय बनाउनु हो। यसको सुरूआत दक्ष, तालिमप्राप्त योग्य शिक्षकहरूको चयन र उनीहरूलाई नियमित तालिमको व्यवस्था गरेर पूर्वाधार बालमैत्री बनाउनु पर्छ । पूर्वप्राथमिक कक्षाहरू कम्तीमा दुई वर्ष चलाउन पाठ्यक्रम विकास गरेर त्यसको प्रभावकारी कार्यान्वयनमा लैजान स्थानीय सरकार तयार भएर लगानी पनि बढाउनु पर्छ । पूर्वप्राथमिक कक्षाको माध्यम भाषा भने विद्यार्थीहरूको घरको भाषा नै हुनुपर्छ । त्यसपछिका कक्षाहरूमा कुन भाषालाई कसरी प्रयोग गर्ने भन्ने भाषिक योजना पनि बनाउनु पर्छ । मातृभाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषाको प्रयोग कुन तहमा कसरी गर्ने भन्ने सवालमा शिक्षक स्पष्ट र दक्ष पनि हुनुपर्छ ।

तर अहिले चलिरहेका बाल कक्षाहरूलाई नै नियमित गरिरहनु र विद्यालय शिक्षामा अङ्ग्रेजी भाषालाई माध्यम भाषा बनाएर मात्र गुणस्तरीय शिक्षा दिन सकिन्छ भनेर बुझ्नु भ्रम मात्र हो । यो बुझाइले सार्वजनिक शिक्षाको गुणात्मक सुधारमा उल्लेखनीय भूमिका खेल्न र योगदान गर्न सक्दैन । त्यसैले ढिला नगरी पूर्व प्राथमिक तहको शिक्षा गुणात्मक बनाउन स्थानीय सरकार, विद्यालय र अभिभावकहरूसँगै शिक्षा क्षेत्रका सरोकारवालाहरू इमानदार भएर सक्रिय हुनुपर्छ।

स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई अनुरोध छ, ‘विधि ठिक नभए सुधार गर्नुहोस्, नीति ठिक नभए सच्याउनु होस् र पद्धति ठिक नभए ठिक बनाउनु होस्, तर विधि, नीति र पद्धति नै मिचेर हुकुमी शैलीमा सरकार चलाउने परिकल्पना नगर्नुहोस्। किनभने नेपाल पछाडि पर्नुको मुख्य कारण विधि, नीति र पद्धतिको पालना नभएर नै हो । आज  देशले त्यो पालना गर्ने गराउने नेतृत्व खोजेको छ । देशले खोजेको त्यो नेतृत्व बन्नका लागि तयार हुनुहोस् ।’ स्थानीय सरकार प्रमुखहरूका लागि यो एउटा सुवर्ण अवसर हो।

असल र सक्षम नेताले विधि, नीति र पद्धतिको पालना गरेर सुशासन दिन प्रशासन चलाउन जानेको हुन्छ । द्वन्द्व कालमा जस्तो जोर जबरजस्ती र ज्ञानेन्द्र कालमा जस्तो सेना लगाएर पद्धति बसाल्न र विधि पालना गर्न लगाउन खोज्नु मूर्खता हुनेछ । लोकतान्त्रिक गणतन्त्रमा जबरजस्तीले काम गर्दैन । दबाब सिर्जना गरेर शासन गर्न र प्रशासन चलाउने आजको माग होइन, किन भने अब नेपालमा थिति बसाल्नु छ, विधि विधानले काम गर्ने बनाउनु छ र जनअपेक्षा तथा समस्याहरूको सम्बोधन विधिसम्मत र प्रक्रियाअनुसार गर्नु छ । त्यसैले प्रगतिशील लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने जो कोहीले विधि, नीति र पद्धतिमा मात्र आफ्नो प्रगति देखेको हुन्छ । प्रक्रियाहरू पूरा गरेर निर्णयमा पुग्न खोज्छ ।

तर दुर्भाग्य नै भन्नुपर्छ, अहिले चुनिएका अधिकांश जनप्रतिनिधिहरू छिटो लोकप्रिय हुने लोभमा आफ्ना प्रतिबद्धता पूरा गर्न हतारिएर निर्णयहरू गर्न खोज्दै छन् । उनीहरूले जानेर नजानेर विधि र प्रक्रिया मिच्न खोजेको आभास हुँदा  असल पद्धतिको विकास र अभ्यास छायामा परेर भ्रमित भिड र अराजक जत्थाको प्रभाव र दबाबमा जनप्रतिनिधिहरू पर्छन् कि भन्ने संशयपूर्ण परिस्थिति बन्न खोजेको छ । 

त्यसको सङ्केत दीपक बस्यालको ट्विटले गरेको छ, ‘आदर्श र विधि विधानमा चल्न थालेको बहुदल पछि जति भो ? अरू छोडी फोहोरसम्म उठ्न सक्दैन, त्यसैले यी सबै घाममा सुकाएर एक वर्ष हेर्न मिल्दैन ? नयाँ युवाको सोच र जोस हेर्न मिल्दैन ? यसो गर्दा जहाज डुब्ने हो ?’ 

त्यस्तै सञ्जीव साहको ट्विट त झन् डरलाग्दो छ, ‘विगत ३० वर्षदेखि त्यही विधि विधानले देशलाई लुटिरा‘छ र विश्वसामु विर गोर्खालीलाई भिखारी बुद्धिहीन भनेर चिनाइरहेको छ। नेपालमा अब कोरियाको जस्तै किमजोङ, हिटलर, या नायक फिल्मको अनिल कपुर जस्तै लिडर चाहिएको छ । अनि मात्र देश सुनिन्छ ।’  बस्याल र साहको ट्विटले नयाँ पुस्ताले लोकतन्त्र होइन निरूङ्कुसताको  पक्षपोषण गर्न खोजेको सङ्केत गर्छ । यो खालको मनोविज्ञानलाई लोकतान्त्रिक गणतन्त्र विरोधीहरूले प्रयोग गर्न भरपुर प्रयास गरिरहेका छन् । तिनीहरूले बुझ्नुपर्छ, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।

हामीले बुझ्नुपर्छ, सामाजिक सञ्जालहरूलाई प्रश्नहरू उठाउने माध्यम मात्र होइन प्रश्नहरूको समाधान खोज्ने आधार पनि हो । सामाजिक सञ्जालहरूलाई सदुपयोग गर्दै बस्याल र साहहरू जस्ताको नकारात्मक मनोविज्ञानलाई सकारात्मक बनाउने वातावरण तयार गर्नुपर्ने भएको छ। यसर्थ सबभन्दा पहिला हामी सबैले लोकतान्त्रिक अभ्यास स्वीकार गर्नुपर्छ। राज्यको नीति नियम साना ठुला सबैले मान्ने संस्कृतिको विकास गर्दै क्षणिक राजनीतिक तथा व्यक्तिगत लाभहानी नहेरी इमानदार र प्रतिबद्ध भएर विधि, नीति र पद्धति अनुसार चल्ने बानी बसाल्नु पर्ने भएको छ ।

त्यसैले, राम्रो काम गर्न पनि विधि र प्रक्रिया त मान्नै पर्छ । यसको विकल्प छैन । भएका संरचनाहरूलाई तत्काल सक्रिय  र सकारात्मक बनाएर क्रियाशील बनाउनु पर्छ । जनताको तहबाट सकारात्मक र रचनात्मक सहयोग लिनुपर्छ। अन्यथा गाउँ—सहर भ्रमित बनाएर परिस्थितिलाई भड्काएर आफू लोकप्रिय हुने प्रयास मात्र हुनेछैन सामाजिक मनोविज्ञान अराजक बनाउने प्रयास हुन सक्छ । त्यसको पछिल्लो उदाहरण कबड्डी ४ की नायिका मिरूता मगरले आफूमाथि फुर्वा लामाबाट दुर्व्यवहार भयो भनेपछि गिरफ्तार लामाको रिहाइको लागि एउटा पक्षले नायिकाका विरुद्ध सडकमा अस्वाभाविक नारा नै लगायो । कानुनी त्रुटि र अतिवादको आडमा एकले अर्कोलाई दोष लगाउँदा अराजक सामाजिक मनोविज्ञानलाई प्रयोग गर्दै गाउँ—सहरमा अराजकता फैलाएर नेपालमा नियन्त्रित अस्थिरता कायम गर्न खोजिँदै छ ।   यसर्थ नेतृत्वले गाउँ सहर भ्रमित बनाएर छिटो लोकप्रिय हुने रहर छोड्नुपर्छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ९ : ०२ बजे