दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बाँदर मुढे घटनाका पीडितको पीडा बल्झँदो, पीडित भन्छन्–प्रचण्डले आश्वासन मात्रै दिए

चितवन । बाँदर मुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ । 

माडीबासीका लागि आजको दिन कालो दिनका रूपमा इतिहासको पानामा दर्ज भएको छ । १७ वर्षअघि भएको बाँदर मुढे बम विस्फोटको घटनाका घाइतेहरूको पीडा अहिले पनि बल्झँदो छ  । 

पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन् । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आश्वासन मात्रै दिएको पीडितको गुनासो छ । माडी प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ ।

तत्कालीन विद्रोही माओवादीले २३ जेठ २०६२ मा माडीको बाँदर मुढे खोलामा थापेको एम्बुसमा परी ४२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश माडीका स्थायी बासिन्दा थिए । नेपाली सेनाका तीन जवानले पनि उक्त घटनामा वीरगति प्राप्त गरेका थिए । 

विद्रोही माओवादीका कमाण्डर स्वयम प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्दा पनि पीडितले राहत महसुस गर्न पाएका छैनन् । विस्फोटमा एउटा घरका तीन जनासम्म परेका थिए । 

१५० यात्रु बोकेर माडीको बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबहाक बसमा माओवादीले बम विस्फोट गराउँदा घटनास्थलमा ३९ र उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो । सामान्य घाइते भई घरमा उपचार गराएका घाइतेको रेकर्डबाहेक ७५ जना घाइते भएका थिए ।

मृतकहरूको सम्झनामा आज घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरिएको छ । 

एड्भोकेसी फोरमको सहकार्यमा बाँदर मुढे घटना पीडित समितिले घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरेको हो । दोषीलाई कारबाही गरी पीडितको अधिकार सुनिश्चित गर्न पीडितले माग गरेका छन् ।

घटना भएको १७ वर्ष भइसक्दा पनि पीडा घट्नेभन्दा बढ्दै गएकी पीडित यमकला चुवाई बताउनुहुन्छ । घटना हुँदा उहाँको पेटमा ८ महिनाको गर्भ थियो । घटना भएको एक महिनापछि उहाँले छोरीलाई भरतपुर अस्पतालमा जन्म दिनुभएको थियो। तर छोरीको मुटुको धड्कन असामान्य भएपछि उहाँले छोरीलाई अस्पतालमा सात महिनासम्म राख्नुभएको थियो।

“घटनापछि छोरीलाई जन्म त दिएँ र मुटुको धड्कनले राम्रोसँग काम नगरेकाले अस्पतालको आइसियुमा सात महिनासम्म राखेँ” उहाँ भन्नुहुन्छ, “मेरो आँखामा छर्रा लागेको थियो । अहिलेसम्म पनि आँखा राम्रोसँग देख्न सक्दिन । दाहिने खुट्टा भाँचिएर रड राखेको छ ।”

उहाँको हातका औँला काटिएको छ । अहिले ऋण लिएर आफ्नो र छोरीको उपचार गर्दै आएको उहाँ बताउनुहुन्छ । उहाँका तीन छोरी, एक छोरा र श्रीमान् हुनुहुन्छ। बम विस्फोटमा पर्दा गर्भमा रहेकी छोरी अहिले १७ वर्षको पुग्न लागिन्  । उनी कक्षा ११ मा पढ्दै छिन् ।

अर्का दुई छोरी १८ वर्ष नाघिसके । स्नातक तहमा पढ्छन् । १८ वर्ष नाघेपछि दुई छोरीलाई सरकारले दिँदै आएको पढाई खर्च बापतको रकम रोकिएको उहाँले बताउनुभयो। 

“१८ वर्ष पुग्दा सम्मको लागि सरकारले छोराछोरीलाई पढाई खर्च दिएको थियो । १८ वर्ष नाघेपछि नदिने रहेछ”, उहाँ भन्नुहुन्छ, “‘दुई छोरी १८ वर्षभन्दा बढीका भए । १३ र १४ कक्षामा पढ्दै छन् । उनीहरूलाई दिँदै आएको पढाई खर्च रोकिएको छ ।”

घरमा कमाउने मान्छे कोही नभएको भन्दै उहाँले ठुलो कक्षामा पढ्न थालेका छोरीहरूको पढाई खर्च जुटाउन समस्या भएको बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले पीडितलाई सधैँ झुटो आश्वासन दिएर भोट माग्ने गरेको उहाँ बताउनुहुन्छ ।

औषधिमा महिनामा दुईदेखि सात हजार रुपैयाँसम्म खर्च भइरहेको उहाँले बताउनुभयो। छोरीको लागि मात्रै महिनामा करिब पाँच हजार रुपैयाँ खर्च हुने गरेको उहाँको भनाइ छ ।

“घटनाले छोरी मानसिक रूपमा कमजोर छन् । उसले पनि महिनामा पाँच हजार जतिको औषधी खाइरहेकी छ”, उहाँले भन्नुभयो, “‘झन् पछि–पछि पीडा बल्झिँदै गएको छ ।”

बम विस्फोटमा श्रीमती र एक छोरा गुमाएका तत्कालीन कल्याणपुर गाविस–५ का निर्मल सापकोटाको पनि पीडा उस्तै छ । बाँदर मुढे घटनाबारे कसैले सम्झाइ दिँदा अहिले पनि मन भक्कानिएर आउने उहाँ बताउनुहुन्छ ।

“मैले पाँच वर्षको छोरो र श्रीमती गुमाएँ”,  उहाँ भन्नुहुन्छ, “घटनाबारे कसैले सम्झाइदियो भने अहिले पनि मन भक्कानिन्छ ।”

२०७४ को प्रतिनिधि सभाको निर्वाचनका बेला पीडित परिवारका एक सदस्यलाई रोजगारीको सुनिश्चितता गर्ने र प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने प्रचण्डको आश्वासन थियो । त्यसका लागि अमिक शेरचनको संयोजकत्वमा समिति बनाएपछि चुनाव जितेपछि प्रचण्डले सबै भुलेको उहाँ बताउनुहुन्छ।

“पीडितका छोराछोरीलाई स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने भन्ने थियो । घटनास्थलमा स्मारक बनाउने प्रतिबद्धता जनाएका थिए । प्रचण्डले भनेका कुरा सबै आश्वासनमा मात्रै सीमित भएका छन्” उहाँ भन्नुहुन्छ, “बरु नगरपालिकाले दिन्छु भनेको एक लाख रुपैयाँ विभिन्न चरणमा गरेर पीडितलाई दिएको छ ।”

बाँदर मुढे घटना पीडित समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले राज्यले पीडितको मागलाई सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँ आफै पनि बम विस्फोटमा परेर घाइते भएका  हुनुहुन्छ । काम विशेषले भरतपुर आउँदै गर्नुभएका उहाँ चढेको बस पौने ८ बजे बम विस्फोटमा परेको थियो । 

बम विस्फोटको घटनामा परेर घाइते भएका उहाँको मेरुदण्ड र देब्रे खुट्टा भाँचिएको थियो । खुट्टामा स्टिल हालेपछि अलिअलि हिँड्न सकिएको उहाँ बताउनुहुन्छ । उहाँजस्ता थुप्रै घाइतेको अवस्था अहिले पनि नाजुक छ ।

“धेरै घाइतेहरू उपचार नै गर्न नसकेर रोइरहनुभएको छ”, उहाँ भन्नुहुन्छ, “कमसेकम राज्यले पीडितलाई परिचय पत्र दिएर राज्यबाट सहुलियत पाउने व्यवस्था गरिदिएको भए पीडितलाई धेरै राहत हुने थियो ।”

बम विस्फोटको घटनामा परेका घाइतेहरू एकोहोरिएर टोलाउने र मानसिक रूपमा पनि कमजोर भएको उहाँ बताउनुहुन्छ।

“केही घाइतेले अहिले पनि मानसिक रोगको औषधि खानुभएको छ । हात खुट्टा भाँचिएकाले औषधी मलम गर्ने र अर्थोको जाँच गराउने गर्नुभाछ’, उहाँ भन्नुहुन्छ , ‘उपचार मंहगो हुँदा पीडितहरू झन् पीडामा हुनुहुन्छ । घाइतेले काम गरेर कमाउन सक्दैन, न राज्यले नै उनीहरूलाई हेरेको छ ।’

घाइते जीवन लिएर बाँचेकामा पीडितमा हीनताबोध हुन थालेको उहाँ बताउनुहुन्छ । “प्रचण्डले पीडितहरूलाई राखेर थुप्रै आश्वासन दिनुभयो तर न्यायको बाटोमा कतै लाग्नुभएन । व्यक्तिलाई किन्न सकिन्छ कि भन्ने बाटोमा लाग्नुभयो” उहाँ भन्नुहुन्छ, “घटना निरूपण गर्न उहाँ लाग्नुभएन ।”

२०७४ को निर्वाचनमा केही पीडितलाई राखेर एक घर एक रोजगार दिने र घाइतेलाई औषधी उपचार व्यवस्था गर्ने भनेर प्रचण्डले आश्वासन दिएका तर त्यो पुरा नभएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ७ : २७ बजे