आज वर्षाको सम्भावना

सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुग्योः अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरु केही पनि नसोच्नेहरुको हातमा पुगेको टिप्पणी गर्नु भएको छ ।

अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै सरकारलाई यसबारे केही ज्ञान छ कि छैन ?  भनी सरकारलाई प्रश्न समेत गर्नुभयो ।

विश्व वातावरण दिवसको अवसर पारेर आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको हिमालले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई अगाडि बढाउन वर्तमान सरकार सक्षम नभएको बताउनु भयो ।

अध्यक्ष ओलीले वातावरणीय प्रश्नमा नेपालको हिमाल महत्वपूर्ण रहेको विषयमा आफूले सरकारमा रहँदा विश्वका नेताहरुसँग संवाद गरेको उल्लेख गर्दै त्यसको महत्व दर्शाउनका लागि अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम संचालन गर्ने निर्णय गरिएको पनि स्मरण गराउनु भयो । तर त्यो सन् २०२० मा कोभिडका कारण अघि बढन नसकेको र त्यसपछि अघि बढाउन खोज्दा सरकारबाट हट्नुप रेको अध्यक्ष ओलीको भनाइ थियो ।  

अध्यक्ष ओली भन्नुहुन्छ, ‘हामी सरकारबाट हटेपछि कसले सोच्ने वातावरणको बारेमा । पैसाबाहेक अरु नसोच्नेहरुका हातमा सरकार पुगेपछि के को वातावरण ? त्यो सबै टुंगियो कुरा । त्यसकारण अहिले यी सब कुराहरुतिर सरकारका मान्छेहरुलाई थाहा छैन । केही रुचि छ कि छैन, ज्ञान छ कि छैन । उहाँहरु हेर्नु हुन्छ कि हुन्न ? मैले देखेको के हो भने–व्यूरोक्र्याटसले ड्राफ्ट गरिदिएका फरमेट भित्रका स्टेटमेन्ट वाचन गरिदिने सम्मको खालको स्थिति बनेको देख्छु । त्यसबाट हामीले अलिमाथि उठ्न जरुरी छ ।’

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  १० : २३ बजे