आज वर्षाको सम्भावना

एमाले नेता हुँ भन्दै अरूलाई भोट हाल्ने कसैलाई छुट छैन : इन्चार्ज घिमिरे

उदयपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले एमाले नेता हुँ भन्ने अरूलाई भोट हाल्ने छुट नभएको बताउनुभएको छ । 
 
नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को प्रथम अधिवेशनलाई उद्घाटन गर्दै उदयपुरको सदरमुकाम गाईघाटस्थित होटेल टाउन हलमा घिमिरेले पार्टीका नेता र कार्यकर्ताले अरूलाई भोट लगाउनु गम्भीर विषय भएको बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा पार्टीभित्रका नेताको अन्तर्घातकै कारण धेरै ठाउँमा पराजित हुनु परेको निष्कर्ष निकाल्दै उहाँले भन्नुभयो, ‘आफू अनुकूल निर्णय नहुँदैमा विपक्षी पार्टीलाई भोट हाल्नु गम्भीर हो । समीक्षा हुन्छ र त्यस्ता अन्तर्घात गर्नेलाई कारबाही गर्छौ । दया र मायाले पार्टी संगठन नचल्ने भन्दै उहाँले स्वार्थको राजनीतिको समूल अन्त्य गर्न यस पटकको निर्वाचनको परिणामले निर्मम समीक्षाको बाटो रोजेको उल्लेख गर्नुभयो ।

‘आफूले भनेको सबै ठिक अरूले भनेको सबै बेठिक, घिमिरेले भन्नुभयो, ‘पार्टी भित्रको अहमता र घमन्डको सीमा नाघेकाले तल्लो स्तरबाटै समीक्षा गरी त्यस्तालाई कारबाही गर्छौ ।

घिमिरेले नेकपा एमालेलाई सिद्ध्याउनु भनेको राजनीतिक अस्थिरता मच्चाउनु र कम्युनिस्ट आन्दोलनलाई सखाप पार्नु नै भएको बताउनुभयो । उहाँले केही शक्ति एमालेलाई सिद्ध्याउने सोचमा रहेको आरोप लगाउनुभयो ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले आस्था र विचारका आधारमा कुनै पनि कर्मचारीलाई पूर्वाग्रही ढंगले सरुवा, बढुवा गरे त्यसको संगठनले सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभयो ।

उहाँले समग्र कर्मचारीको गुनासो, समस्यामा केन्द्रित हुन संगठनले केन्द्रीय कार्यालयबाट एकद्वार प्रणालीको व्यवस्था गर्न लागेको हुँदा नअत्तालिन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ६ : ०५ बजे