हेलिकोप्टरबाट ‘मसला’ बोकेर अस्पताल ढलान

गोरखा । गोरखाको धार्चेमा बनिरहेको एक अस्पतालको ढलानका लागि हेलिकप्टर प्रयोग गरिएको छ । धार्चे गाउँपालिका– ३ स्थित खोर्लाबेँसीमा १५ शय्याको सामुदायिक अस्पताल निर्माणका लागि हेलिकप्टर प्रयोग गरी ढलान गरिएको हो ।  

करिब तीन करोड लागतमा बनिरहेको उक्त अस्पतालका लागि गाउँपालिकाको ४० र छायाँ नेपाल संस्थाको ६० प्रतिशत लगानी  छ । 
छायाँ नेपालका परियोजना प्रबन्धक सन्तोष सिलवालका अनुसार उक्त अस्पताल निर्माणका लागि नेपालमा नै पहिलोपटक ‘स्विङ फ्लाइट्स’ प्रविधि प्रयोग गरिएको हो । उहाँले यो प्रविधि अनुसार हेलिकोप्टरबाट सिमेन्ट, गिटी, बालुवा घोलेर तयार गरिएको ‘मसला’ बोकेर अस्पतालको भुइँतला ढलान गरिएको जानकारी दिनुभयो । 

जेठ १९ गते सिम्रिक एयरका दुईवटा हेलिकप्टरबाट अस्पतालका लागि ‘मसला’ बोकेर ढलान गरिएको उहाँले जानकारी दिनुभयो ।  छायाँ नेपाल र सिम्रिक एयरसँगको सहकार्यमा निःशुल्क दुईवटा हेलिकोप्टरले ५० ट्रिपभन्दा बढी ‘मसला’ ओसारेको सिलवालले जानकारी दिनुभयो।

​​​​​​​सडक सञ्जाल नपुगेको दुर्गम ठाउँमा हेलिकोप्टरबाट तयारी निर्माण सामग्री (मसला) लैजान कत्तिको सहज हुन्छ भन्ने परीक्षणका लागि पनि हेलिकोप्टर प्रयोग गरिएको हो । 

हेलिकोप्टरको प्रयोग सिम्रिक एयरले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको संस्थाले जनकारी दिएको छ ।

अहिले अस्पतालको १ र २ नम्बर ब्लकको भुइँतला ढलान र गाह्रो लगाउने काम भइसकेको छ भने ब्लक नम्बर ३ र ४ को भुइँतला ढलान सम्पन्न गरी गाह्रो लगाउने काम भइरहेको छ । 

 

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  २ : ०९ बजे