असार १ गतेबाट सेयर बजारका लगानीकर्ताहरु अनसनमा बस्ने

काठमाडौं । आव ०७९।८० को बजेटले सेयर बजारलाई सम्बोधन नगरेको भन्दै लगानीकर्ताहरु अनसनमा बस्ने भएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटले सेयर बजार सुधारका लागि कुनैपनि कामहरु नगर्दा पुँजी बजार निरन्तररुपमा आरालो लागेको भन्दै लगानीकर्ताहरु अनसनमा बस्ने भएका हुन् । 

पुँजी बजार सुधारका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति समेत गठन भएको छ । समितिले पूँजी बजारमा गंभीर संकट आएको भन्दै सरकारसँग १९ बुंदे माग  राख्दै आन्दोलन गर्ने घोषणा समेत गरेको छ । समितिले असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरेको छ । सो अनशनअघि लगानीकर्ताहरुले शान्तिपूर्ण कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

हालै काठमाडौको भृकुटीमण्डपमा सय भन्दा बढी लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र बिस्तारका लागि दबाबमुलक कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

लगानीकर्ताहरुको भेलाले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र २९ गते पूँजी बजारका विज्ञसहित बृहत छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  १ : ४४ बजे