‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेकपा एमालेमा देखा परेका वर्तमान समस्या र निराकरण 

स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । घोषित नतिजा अनुसार २०७४ सालको निर्वाचनमा भन्दा यसपालि राजनीतिक समीकरणमा केही बदलाव आएको छ । त्यति बेला आफ्नो वर्चस्व कायम गरेको नेकपा एमालेले अहिले सबै महानगरहरू र ९१ पालिकाहरूको नेतृत्व गुमाएको छ । २०५ पालिकाको प्रमुखहरूमा विजयी हुँदा दोस्रो र ३८ लाखको लोकप्रिय मतका आधारमा पहिलो पार्टी भए तापनि ३२९ पालिका प्रमुखहरूको नेतृत्व हासिल गरेको नेपाली काँग्रेस स्थानीय तहमा पहिलो पार्टीको रूपमा देखा परेको छ । 

एकातिर पाँच दलीय गठबन्धन र अर्कोतिर एक्लै निर्वाचनमा होमिएको एमालेलाई अहिलेको स्थानीय तहको चुनाव निकै चुनौतीपूर्ण थियो । पाँच दलीय गठबन्धन, पार्टी विभाजन भएको अवस्था, पालिकाहरूमा केही पुराना अनुहारहरू दोहोरिनु तथा अलोकप्रिय उम्मेदवार र अन्तर्घातले गर्दा नेकपा एमालेले पराजय बेहोर्नु परेको छ । 

देशको प्रमुख शक्तिको रूपमा रहेको पार्टी नेकपा एमाले खुम्चिदा मुलुकको वामपन्थी तथा लोकतान्त्रिक र समाजवादी आन्दोलन कमजोर हुन्छ । समाजवादको स्थापना गर्ने संषर्घ शिथिल हुन्छ । त्यसैले एमालले अब आफ्नो सङ्गठनको गम्भीर समीक्षा र व्यापक सुदृढीकरण गरी आसन्न सङ्घीय तथा प्रदेशको निर्वाचनमा श्रेष्ठता हासिल गर्नै पर्छ । त्यसका लागि आन्तरिक तथा बाह्य केही महत्त्वपूर्ण समस्याहरू छन् । तिनीहरूको समाधान नगरी अगाडि बढ्न सकिने छैन । अतः यहाँ केही मूलभूत समस्याहरूलाई पर्गेल्नु सान्दर्भिक होला । 

१. अवसरवाद र साङ्गठनिक अराजकता 
​​​​​​​गत सङ्घीय निर्वाचन र पार्टी एकतापछि पार्टी कमिटीहरू चलायमान भएनन् । दुई सैद्धान्तिक र वैचारिक धारबाट आएका तमाम पार्टी कार्यकर्ता र नेताहरूको उचित व्यवस्थापन नहुँदा सङ्गठनमा व्यक्तिवादी प्रवृत्ति मौलाउँदै गयो । जनवादी केन्द्रीयता र लौह अनुशासनले सुसज्जित हुने कम्युनिष्ट पार्टीको नेतृत्व पङ्क्ति र कार्यकर्तामा अराजकता उत्पन्न भयो । कमिटीका बैठक र सामूहिक नेतृत्व प्रणाली कमजोर भई व्यक्तिवादी सोच र प्रवृत्तिको विकास भयो । यही आत्मकेन्द्रीत प्रवृत्तिले गर्दा नेकपामा विग्रह आई अन्ततः पार्टी विभाजन समेत भयो । पार्टी विभाजनपछि एउटा तप्का दक्षिणपन्थी अवसरवादी धारमा परिणत भएको छ भने अर्को तप्काको रूपमा रहेको नेकपा एमालेलाई वामपन्थी आन्दोलनको रक्षा र विकास गर्नु पर्ने दायित्व आएको छ । 

दक्षिणपन्थी अवसरवादीहरूले के पी ओलीको नेतृत्वमा रहेको सरकार समेत अपदस्त गरे । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको माओवादी केन्द्र र माधव नेपालको एकीकृत समाजवादीले एमाले विरुद्ध मोर्चाबन्दी गरी नेपाली काँग्रेसलाई मजबुत बनाउने र वामपन्थी आन्दोलनलाई विसर्जन तर्फ लैजाने हर्कत गरेका छन् । यसले अवश्य नै वामपन्थी आन्दोलनलाई पछाडि धकेल्ने नै छ । 

एमालेका अध्यक्ष ओलीसँगको व्यक्तिगत टकराब, ईश्र्या र कुण्ठाले उनीहरु सिङ्गो वाम आन्दोलनलाई धोका दिइरहेका छन् । बहुसङ्ख्यक जनताले स्थानीय तहमा पनि वामपन्थीहरूको पक्षमा अभिमत प्रकट गरेका छन् । तर, माओवादी केन्द्र लगायतका काँग्रेसका पक्षमा उभिएका वामपन्थी दलहरूले त्यो जनमतलाई दुरुपयोग गरेका छन् । यदि वामपन्थी शक्तिहरू एकताबद्ध हुने हो भने अहिले पनि शासन सत्ता कम्युनिष्टहरुकै हातमा आउँछ । तर, प्रचण्ड र माकुनेहरुमा काँग्रेसीकरणको खतरनाक रुझान देखा परेको छ । बुर्जुवा यथास्थितिवादी र दलाल पुँजीवादको संरक्षकको रूपमा रहेको नेपाली काँग्रेससँगको सिद्धान्तहीन साँठगाँठ फगत सत्ता प्राप्ति र राज्य स्रोतको दोहन गर्ने एक मात्र ध्येयबाट प्रेरित छ । 

यो चरम दक्षिणपन्थी अवसरवादी प्रवृत्ति हो । नेकपा एमाले भित्र पनि केही यस्ता खालका तत्त्वहरू छन् । अवसरवादी तत्त्वहरूले निर्वाचनका बेला पार्टीका आधिकारिक उम्मेदवारहरूको विरुद्ध लागे । जसले गर्दा महत्त्वपूर्ण स्थानहरूमा पार्टीले पराजय भोग्नुपर्‍यो । यस्ता व्यक्ति र प्रवृत्तिलाई समयमा पहिचान गर्नु र साङ्गठनिक अराजकतालाई तलैदेखि अन्त्य गरी पार्टी सङ्गठनलाई इस्पाती, मजबुत र चुस्त बनाउनु जरुरी छ । 

२. आत्मकेन्द्रीत व्यक्तिवादी सोच र आपसी टकराब
नेकपा एमालेभित्रको अर्को समस्या भनेको व्यक्तिवाद, अहङ्कार, इगो र आपसी टकराब पनि अहिले प्रमुख समस्याको रूपमा रहेको छ । स्थानीय तहको निर्वाचनमा यो अझ प्रकट भई अन्तर्घात तहसम्म पुग्यो । आपसी गुटबन्दी र व्यक्तिगत रूपमा सङ्गठन चलाउन खोज्दा धेरै ठाउँमा पराजय भोग्नुपर्‍यो । विगत लामो समयदेखि वर्चस्व कायम रहेको काठमाडौँ र पोखरा महानगरपालिकाको नेतृत्व गुमाउनु यसको ज्वलन्त उदाहरण हो । 

जब व्यक्तिले सङ्गठनभन्दा आफ्नो महत्त्व बढी ठान्छ, त्यहाँ अराजकता सिर्जना हुन्छ । अहिले जिम्मेवार नेताहरू नै गुटबन्दीमा लाग्दा दुवै पक्ष र सिङ्गो सङ्गठन नै पराजित भएको छ ।  नेकपा हुँदादेखिको गुटबन्दीका बाछिटाहरू अद्यावधि हराएको छैन । नेतृत्वलाई खुइलाउने, असहयोग गर्ने र पार्टी काममा नलाग्ने रोग अहिले पनि छ । विधान महाधिवेशन र दसौँ राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका नीति तथा कार्यक्रमप्रति स्वामित्व लिने र पार्टी काममा इमानदारीपूर्वक नलाग्ने झुण्ड अहिले पनि विद्यमान छ । तथाकथित  १० भाइ मध्येका केही अझै पनि बुद्धि विलासमा रमाई रहेका छन् ।  

तसर्थ: यस्ता खालका गतिविधिलाई समयमा नै नियन्त्रण गर्नु जरुरी छ । सिङ्गो पार्टी  जुझारु हुनु पर्दछ । व्यक्तिवादले आफूलाई सेवक भन्दा पनि शासक ठान्दछ । नातावाद र कृपावादले प्रशय पाउँछ । लाखौँ इमानदार कार्यकर्ताहरू अवसरबाट वञ्चित हुन्छन् । सामन्तवादी राज्यसत्तामा व्यक्तिवादी प्रवृत्ति देखा पर्नु अनौठो नमानिए तापनि लोकतान्त्रिक व्यवस्थामा यो त्याज्य हुन्छ । 

विगतमा निर्वाचित पालिकाका जनप्रतिनिधि, सांसद र मन्त्रीहरूले आफूलाई छोटे राजा वा ठालु मानी  जनतालाई अलगअलग गर्दा पार्टीले नोक्सान बेहोर्नु परेको छ । त्यसैले यस्तो खालको अराजक प्रवृत्ति विरुद्ध निर्मम बन्नु जरुरी छ । र, अहिले निर्वाचित जनप्रतिनिधिहरूलाई पनि जनमुखी र उत्तरदायी बनाउनु अपरिहार्य छ । 

३. दक्षिणपन्थी प्रहार र घेराउ तोड्ने सामर्थ्यको निर्माण र राष्ट्रियताको जगेर्ना
नेकपा एमालेलाई अहिले चौतर्फी घेराउ र आक्रमण भइरहेको छ । यसका पछाडि मुलुकको वाम आन्दोलनलाई कमजोर तुल्याई राष्ट्रियतालाई पनि कमजोर बनाउने मनसाय लुकेको छ । पार्टीले राष्ट्रियता सम्बन्धी लिएको अडान सही भएकाले बाह्य शक्तिहरू एमाले कमजोर बनाउन चाहन्छन् । फलस्वरुपः उनीहरूको रणनीतिक स्वार्थ पूरा गर्नु सजिलो हुन्छ । 

त्यसैले उनीहरूले आफू अनुकूल हुने घरेलु शक्तिलाई उपयोग गर्न चाहन्छन् । अहिलेको पाँच दलीय गठबन्धनलाई तिनै शक्तिहरूले संरक्षण गरिरहेका छन् । जति समयसम्म यो गठबन्धन रहन्छ मुलुकको वामपन्थी आन्दोलन पनि कमजोर हुने भएकाले यसका विरुद्ध सशक्त शक्ति निर्माण गर्दे यो गठबन्धनलाई तोड्नुपर्छ । 

४. दलाल पुँजीवाद विरुद्धको सङ्घर्ष 
देश अहिले जताततै दलालहरूको बिगबिगीले आक्रान्त छ । भू—माफिया, नाफाखोर ठेकेदारहरूबाट राज्य सत्ताका हरेक अङ्गहरूमा कब्जा जमाएका छन् । उत्पादनका साधनहरू उनीको नियन्त्रणमा छन् ।  अहिलेको दक्षिणपन्थी सरकारले तिनीहरूको संरक्षण गरिरहेको छ । हरेक पार्टीमा दलालहरूको प्रवेशले गर्दा निर्वाचन प्रणालीलाई महँगो बनाई योग्य, शिक्षित र इमानदार मान्छेहरू दिनप्रतिदिन किनारा लाग्नु पर्ने अवस्था सिर्जना भएको छ ।  महँगी र भ्रष्टाचार व्याप्त छ । जनताहरू सर्वसुलभ रूपमा सेवा पाउनबाट वञ्चित हुनु परेको छ । अतः दलाल पुँजीवादी राज्य व्यवस्था समाजवाद स्थापनाका लागि बाधक भएकाले यसका विरुद्ध सङ्घर्ष गर्नु आवश्यक छ ।  

५. शिष्ट र सभ्य संस्कृतिको निर्माण
अहिले राजनीतिक दलका नेताहरूमा गालीगलौज र अशिष्ट अभिव्यक्ति बढ्दो छ । छुद्रता, अहङ्कार सभ्य समाजमा सुहाउँदैन । कम्युनिष्ट आन्दोलन सभ्य समाज निर्माणका लागि भएकाले यो खालको गतिविधि एमाले भित्र नियन्त्रित हुनुपर्छ । अझ नेतृत्वमा रहेकाहरूले मिडियामा वा सार्वजनिक समारोहमा बोल्दा बढी जिम्मेवार र सजग हुनुपर्छ । पछिल्लो समयमा अभिव्यक्त भएका शब्द तथा वाणीहरू सभ्य संस्कृति निर्माणमा टेवा नदिने खालका छन् । त्यसैले यसप्रति गम्भीर सजगता अपनाउनुपर्छ । 

६. बृहत् साङ्गठनिक सुदृढीकरण र जनपरिचालन
विगतमा नेकपा एमालले जसरी मेचीकाली अभियान चलाएको थियो, अहिले पनि यसको सान्दर्भिकता छ । जनतासँग टुटेको सम्बन्धलाई जोड्ने र कार्यकर्तालाई सक्रिय बनाउन वृहत् अभियान चलाउनु अति आवश्यक छ । 

निकट भविष्यमा प्रदेश र सङ्घको निर्वाचन हुने भएकाले त्यसको लागि सघन तयारीको आवश्यकता छ । यो अभियान अन्तर्गत निस्वार्थ रूपले क्रियाशील भएका कार्यकर्तालाई उचित जिम्मेवारी दिने र अवसरवादी तथा स्वार्थी तत्त्वहरूलाई पहिचान गरी तदनुरूपको व्यवहार गरिनुपर्छ । पार्टीले अहिले भोग्नुपरेको क्षतिको समीक्षा गर्दै त्यसको पूर्तिका लागि सङ्गठन मजबुत बनाउनु पर्ने हुन्छ । अतः यसतर्फ नेकपा एमालेका जिम्मेवार सबैको ध्यान जाओस् । अस्तु । 

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ११ : ३९ बजे