बाङ्ग्लादेशको एक डिपोमा विस्फोट हुँदा १६ जनाको मृत्यु , कैयौँ घाइते

काठमाडौँ । बाङ्ग्लादेशको एक डिपोमा भएको विस्फोटमा परी कम्तीमा  १६ जनाको मृत्यु भएको छ । विस्फोटमा परी कैयौँ व्यक्ति घाइते भएको बिबिसीले जनाएको छ । 

दक्षिणी सहर सिताकुण्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको थियो।

घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० देखि ८० प्रतिशत भाग जलेको घाइतेहरूको उपचार भइरहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । आगलागीको कारण हालसम्म खुलिसकेको छैन।

स्थानीय सञ्चार माध्यमले भण्डारणमा प्रयोग भएका केही कन्टेनरहरूमा रासायनिक पदार्थ राखिएको हुनसक्ने विवरणहरू प्रकाशित गरेका छन्।

विस्फोटका कारण आसपासका धेरै घरहरूमा झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको स्थानीय सञ्चारमाध्यम पोर्टहोमालोल उल्लेख गर्दै बिबिसीले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी छन्।

घटना भएको सहर देशको दोस्रो ठूलो सहर चटगाउँबाट ४० किलोमिटरको दूरीमा पर्छ। सहरको एउटा अस्पताल घाइतेहरूले भरिएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  १० : १२ बजे