जननेता मदन भण्डारीले विकास गर्नुभएको नेपाली समाजको क्रान्तिकारी रूपान्तरण गर्ने सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले अहिलेसम्म प्रयोगमा आएका महत्वपूर्ण लोकतान्त्रिक दृष्टिकोणहरू, सभ्य समाजद्वारा सिर्जित सामाजिक मूल्य एवं मानव अधिकारका विश्वव्यापी दृष्टिकोणहरूलाई सहर्ष स्वीकार गर्दै शोषण र विभेदरहित देश निर्माण गर्ने अवधारणा प्रस्तुत गरेको छ । लेनिनको नेतृत्वमा सन् १९१७ मा माक्र्सवादको पहिलो व्यावहारिक प्रयोग भएको सोभियत समाजवादी क्रान्तिको सफलतापछि विकसित विश्व समाजवादी प्रणालीलाई समेत थप विस्तारित गर्न र बलियो बनाउन भूमिका निर्वाह गरिसकेको माक्र्सवादको सिर्जनात्मक रूप जबज नेपालमा सामाजिक–आर्थिक कायापलट गर्नसक्ने वैज्ञानिक सिद्धान्तको रूपमा स्थापित भइसकेको छ ।
देश र जनताको भलो गरिरहेको र मुलुकलाई थप उन्नतिको सिँढि चढाउन सक्ने यस परिवर्तनकारी सिद्धान्तको सिर्जनात्मक प्रयोग गर्दै मुलुक अहिले समृद्धिको यात्रामा अग्रसर बनिरहेको छ । जबज निर्देशित आर्थिक विकासको प्रवाहलाई यथास्थितिवादी र उग्रपन्थी तत्वहरूले रोक्ने प्रयास नगरेका होइनन् तर त्यसलाई नेपाली जनताले निस्तेज तुल्याउँदै आएको छ । जबजको वैचारिक शक्तिको प्रभावका कारणले नै यसो हुन संभव भएको हो ।
सामन्तवाद–साम्राज्यवादद्वारा लादिएका शोषण–उत्पीडन तथा विकृति तथा विसंगतिलाई समाप्त पार्ने नीति अनुशरण गरेको आधुनिक विश्व सुहाउँने सिद्धान्त जबजका थप १४ वटा मुख्य विशेषताहरू भनेका लोकतान्त्रिक विधि एवं पद्धतिअन्तर्गत संघर्षका विविध रूपहरूको प्रयोग गर्दै सुन्दर, सभ्य र समृद्ध समाज निर्माण गर्न बाटो देखाउने दृष्टिकोणहरू हुन् । सन् १९९० को दशकमा विश्व कम्युनिष्ट आन्दोलनले झड्का व्यहोर्न बाध्य हुनुपरेका विफलताका पीडाहरू र सफलताका अनुकरणीय परिवेशका कथाहरू तथा देशकै कम्युनिष्ट आन्दोलनको वस्तुनिष्ट सिंहावलोकन गर्दै सिर्जना गरिएको जबजका महत्वपूर्ण विशेषताहरू मौलिक र विशिष्ट प्रकारका छन् । ती विशेषताहरू—संविधानको सर्वाेच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानूनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पूँजी र प्रविधि, क्षतिपूर्ति, विदेश नीति, नेतृत्व र अधिनायकत्व तथा जनताको बहुदलीय जनवाद हुन् । यस आलेखमा जबजका थप मौलिक विशेषताहरू मध्ये ‘विदेश नीति’ को मूलभूत अवधारणा बारे संक्षेपमा चर्चा गर्ने कोशिस गरिएको छ ।
सन् १६४८ मा वेष्टफालियामा भएको शान्ति तथा मैत्री सम्झौता तथा प्रथम र दोस्रो विश्वयुद्धको समाप्तिपछि विश्वमा राष्ट्र राज्यको अवधारणा आयो र नयाँ राज्यहरू उदय हुने क्रम तीब्र बन्यो । अर्थात् आधुनिक राज्य प्रणालीको स्थापनामा यस सम्झौताले ऐतिहासिक भूमिका निर्वाह गर्न सफलता हासिल ग¥यो । अनि क्रमशः दुई वा दुईभन्दा बढि राज्यहरूको अन्तरक्रिया र अन्तरसम्बन्ध विकासको प्रक्रिया सुरु भयो । संयुक्त राष्ट्रसंघको स्थापना भएपछि र कुनैपनि मुलुकलाई औपनिवेशीकरण गर्ने प्रक्रिया कमजोर बनेपछि देशहरू मुक्त हुन थाले र स्वतन्त्र सार्वभौम राष्ट्रमा परिणत भए । यसपछि झनै देशहरूबीचमा अन्तरसम्बन्धको आवश्यकता पर्न थाल्यो । यसबाट सबै देशहरूलाई आफ्नो ‘विदेश नीति’ तर्जूमा गर्नुपर्ने परिस्थितिमा पु¥यायो । विज्ञान तथा प्रविधिको उच्च विकास तथा सूचना प्रविधिमा आएको अभूतपूर्व प्रगतिले भूमण्डलीकरण प्रक्रिया तीब्र बनेपछि त झनै विदेश नीतिका प्रभावकारी रणनीति निर्माण गर्नुपर्ने जरुरत भयो ।
‘विदेश नीति’लाई कम्युनिष्ट आन्दोलनमार्फत न्यायप्रेमी जनताको हितमा परिचालन गर्नुपर्ने सन्दर्भमा जननेताले स्पष्ट दृष्टिकोण अगाडि सार्नुभएको छ । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको परिवेशको विश्लेषण गर्दै “आज विश्वमा एकीकृत विश्व कम्युनिष्ट आन्दोलन छैन । तर, विश्वका लगभग सबैजसो देशमा माक्र्सवादी सिद्धान्तको मार्गदर्शनमा आफ्नो देशको ठोस स्थितिअनुरूप क्रान्ति वा निर्माणको निम्ति कम्युनिष्ट आन्दोलन जारी छ । समाजवादी आन्दोलन पनि हरेक देशका आफ्ना विशिष्टताको आधारमा चलिरहेको छ, त्यसमा पनि एकरूपता छैन । संसारभरका सबै कम्युनिष्टहरू साम्राज्यवादका विरुद्ध छन् । तर ठोस रूपमा कहीँ कुनै देशको साम्राज्यवादी उत्पीडनविरुद्ध तीखो संघर्ष छ भने अर्को साम्राज्यवादी देशसँग त्यसको सम्बन्ध आमरूपमा सामान्य नै छ” भन्ने कुरा जननेताले औँल्याउनु भएको थियो । यसको अर्थ भनेको कुनै खास कम्युनिष्ट पार्टीको वा समाजवादी मुलुकलाई धुरी मानेर विदेश नीति तर्जूमा गर्ने होइन बरु आफ्नो देशको विशिष्ट र मौलिक अवस्थालाई मध्यनजर राख्दै विदेश नीति तर्जूमा गर्नुपर्दछ भन्ने निष्कर्षमा जननेता पुग्नु भएको देखिन्छ ।
अहिले पनि कुनै न कुनै तरिकाबाट विश्वस्तरमै साम्राज्यवादी शोषण उत्पीडन भइरहेको छ । कुनै मुलुक यसको चपेटामा अलिक कम परेको र कुनै मुलुक अलिक बढि परेकोमा भने दुईमत हुन सक्दैन । साथै साम्राज्यवादी पूँजीवादी नवउपनिवेशवादी प्रताडनाका विरुद्धमा सबै पीडित मुलुकहरू सशक्त संयन्त्रमार्फत एकजुट हुन सक्ने अवस्था पनि बनिरहेको छैन । यस्तो विशिष्ट परिवेशमा बदलिएको परिस्थिति अनुकूल हुनेगरी कम्युनिष्ट पार्टीले आफूलाई सिर्जनात्मक तुल्याउँदै साम्राज्यवादका विरुद्धमा अभियान सञ्चालन गर्नुपर्दछ भन्ने कुरामा जननेता स्पष्ट हुनुहुन्थ्यो । उहाँले “साम्राज्यवाद विरोधी संघर्षमा पनि एकरूपता छैन । भिन्नाभिन्नै देश, भिन्नाभिन्नै रूप र भिन्नाभिन्नै कोणबाट तर सबै देशका कम्युनिष्टहरू साम्राज्यवादका विरुद्ध संघर्षरत छन् । यो नै अहिले एकताको पक्ष हो । यसलाई अहिले नै एकरूपतामा पु¥याउने कुनै संभावना छैन । यस्तो स्थितिमा समाजवादी देशहरू र शासक कम्युनिष्ट पार्टीहरूले पुरानोढंगले सामाजिक मुक्ति तथा राष्ट्रिय स्वाधीनताका आन्दोलनहरूलाई प्रत्यक्ष र खुल्ला सहयोग गर्न छोडेका छन् । हरेक देशका सर्वहारा श्रमजीवि वर्गका राजनीतिक पार्टीहरूले पनि सर्वहारा अन्तर्राष्ट्रियतावादको पुरानो सहयोग प्रणालीमा भिन्नता ल्याएका छन्” भन्नु हुँदै साम्राज्यवाद विरोधी अभियानलाई नयाँ ढंगले अगाडि बढाउनु पर्ने दृष्टिकोण प्रस्तुत गर्नुभयो ।
‘विदेश नीति’ को परिभाषा दिने सन्दर्भमा विद्वानहरूका बेग्ला बेग्लै दृष्टिकोणहरू छन् । तर पनि यसको मूल भावनाको कुरा गर्ने हो भने एउटा देशले अर्को देशलाई कसरी व्यवहार गर्ने भन्ने दृष्टिकोण नै वास्तवमा विदेश नीति हो भनेर बुझ्न सकिन्छ । विदेश नीतिको एउटा महत्वपूर्ण पक्ष भनेको आफ्नो देशले अरुलाई हस्तक्षेप नहुने गरी राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर लिनुपर्ने नीति हो भन्ने बुझ्नु पर्दछ । विदेश नीति एउटा यस्तो निर्णय र कार्य हो जसले आफ्नो देशको स्वार्थलाई ध्यानमा राखेर अरु देशसँगको सम्बन्धलाई सुमधुर र स्थायी तुल्याउँछ । विदेश नीति घरेलु र अन्तर्राष्ट्रिय राजनीतिको योजकको रूपमा पनि लिने गरिन्छ । त्यसैले अन्तर्राष्ट्रिय वातावरण तथा राष्ट्रिय राजनीतिक परिवेशले विदेश नीति निर्धारणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । यस भावनालाई जबजको ‘विदेश नीति’ सम्बन्धी विशेषताले गहिरोसँग आत्मसात गरेको छ ।
अन्तर्राष्ट्रिय कानून यस्तो एउटा मूल्य मान्यता र आचारको मार्गदर्शन हो जसले दुई देशहरूबीचको सम्बन्धलाई निर्धारण गरिरहेको हुन्छ । यी मूल्य मान्यता अन्तर्गत रहन स्वयं मुलुकहरूले नै इच्छा प्रकट गरिरहेका हुन्छन् र त्यसो गरेपछि उनीहरूले पनि त्यसको पालना गर्नुपर्ने हुन्छ । यसबाट उनीहरूको स्वतन्त्रता खुम्चिएको जस्तो देखिन्छ । तर यथार्थमा त्यस्तो भएको भने होइन । यसबाट यो कुरा पनि प्रष्ट हुन्छ कि अन्तर्राष्ट्रिय कानूनले विदेश नीति निर्धारणमा समेत भूमिका निर्वाह गरिरहेको हुन्छ । अन्तर्राष्ट्रिय कानूनको एउटा महत्वपूर्ण अङ्गको रूपमा रहेको मानव अधिकारको अवधारणालाई आत्मसात गर्दै यसका आधारभूत मान्यताहरूलाई कार्यान्वयन गर्न सधैँ कटिबद्ध जबजले विदेश नीति निर्धारणमा कति संवेदनशीलता अपनाएको छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ ।
अहिले विश्वमा पचासौँ हजार बढि अन्तर्राष्ट्रिय संघ संस्थाहरू क्रियाशील छन् । यी संरचनाहरूले पनि अन्तर्राष्ट्रिय प्रणाली निर्माणमा महत्वपूर्ण प्रभाव पारिरहेका छन् । संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क, विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन जस्ता संस्थाहरू छन् जसले अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा विदेश नीति निर्धारणमा बहुआयामिक प्रभावहरू पारिरहेका हुन्छन् । यसैगरी विभिन्न स्वार्थ समुह, सैनिक सम्बन्ध, भूगोल, जनसंख्या तथा संस्कृति र इतिहासले पनि विदेश नीति तर्जूमाका लागि भूमिका निर्वाह गरिरहेका हुन्छन् । साथै देशका राजनीतिक संस्थाहरू तथा प्रणालीले पनि प्रभाव पारिरहेका हुन्छन् । मुलुकमा निरंकुशता छ कि लोकतन्त्र छ त्यसले पनि विदेश नीति निर्धारण ठूलो योगदान गरिरहेको हुन्छ । यी सबै विषवस्तुहरूमा ध्यान पु¥याउँदै जननेताले जबजको प्रस्थापना सिर्जना गर्ने क्रममा विदेश नीतिबारे समेत महत्व दिनु भएको थियो ।
वर्तमान विश्वमा सबै मुलुकहरू कुनै न कुनै रूपमा अन्तरनिर्भर रहेकै छन् । जतिसुकै सम्पन्न र शक्तिशाली मुलुकहरू पनि केही न केहीमा परनिर्भर बन्नै पर्ने अवस्था सिर्जना भएको छ । विश्वका सबै मुलुकहरूलाई भौगोलिक, भावनात्मक, साँस्कृतिक आदि कुनै न कुनै हिसाबले नजिक तुल्याएको वा जोडेको भएपनि हरेक मुलुक विशिष्ट रुपमा स्ततन्त्र र सार्वभौम हुन्छन् भन्नेमा दुईमत छैन । यस कुरालाई आत्मसात गर्दै नै साम्राज्यवादी पूँजीवादी शोषण उत्पीडनको जुवाबाट आफ्नो देशलाई मुक्त तुल्याउन कम्युनिष्ट पार्टीले बुद्धिमत्तापूर्णढंगबाट अगाडि बढ्नु पर्दछ । आफ्नो स्तन्त्र पहलकदमीको शक्तिमा विश्वास गरेर विदेश नीति सञ्चालन गर्नुपर्दछ । यस बारेमा जननेताको यो भनाई कामयावी हुनसक्दछ । जननेता भन्नुहुन्छ– अहिले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा कुनै उल्लेखनीय समूह छैन । एकातिर प्रत्येक देशको क्रान्ति वा निर्माणको आन्दोलन अन्तर्राष्ट्रिय सहयोग समर्थनबिना विकसित र विजयी हुन सक्दैन भने अर्कोतिर सहयोगको पुरानो रूप प्रणाली कायम छैन र तत्काल हुन पनि सक्दैन । यस्तो स्थितिमा हरेक देशमा क्रान्तिकारीहरूले आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउनु पर्छ । त्यसकारण हामीहरू सामान्य सैद्धान्तिक अवधारणाको आधारमा सैद्धान्तिकढंगले आमखालको विरोध वा समर्थनबाहेक ठोसरूपमा आफ्नो देशको क्रान्ति र निर्माणको प्रत्यक्ष लाभहानीको हिसाबबाट मात्र विदेश सम्बन्ध सञ्चालन गर्नसक्छौँ ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनलाई सफलतामा पु¥याउन महत्वपूर्ण योगदान गर्नुभएका जननेताले त्यसबेला जारी हुने संविधानमा ‘विदेश नीति’ प्रभावकारीरूपमा देशको हितमा सञ्चालन गर्नुपर्दछ भन्ने मान्यतालाई समावेश गर्नुपर्दछ भन्ने कुरामा जोडदिनु भएको थियो । जबजको प्रकाशमा विदेश नीतिलाई अगाडि बढाउने सन्दर्भमा जननेताले “हाम्रा निकट छिमेकीहरू दक्षिण एशियाली देशहरू, हाम्रो क्रान्ति र निर्माणलाई प्रत्यक्ष सहयोग समर्थन गर्ने देशहरू र अरु मित्र देशहरूको आधारमा क्रमिक महत्व दिएर पञ्चशीलको सिद्धान्तका आधारमा व्यावहारिकढंगले सम्बन्ध स्थापना र विकास गर्ने दृष्टिकोण हामीले अघि सारेका छौँ । क्रान्ति र निर्माणका ठोस व्यावहारिक विषयलाई बेवास्ता गरेर केबल सैद्धान्तिक आग्रहका रूपमा मात्र हामी अघि बढ्न सक्दैनौँ” भन्नु भएको प्रसंगलाई यहाँ उल्लेख गर्न सकिन्छ । यसरी सन्तुलित विदेश नीतिको पक्षमा जबज रहेको छ । आवेश र उत्तेजनाको प्रभावबाट मुक्त भएर विदेश नीति तर्जूमा गर्नुपर्दछ भन्नेमा जबजको दृष्टिकोण हो । यसै वर्ष नेपाल सरकारले नयाँ विदेश नीति समेत जारी गरेको छ ।
जबजको मार्गगर्दशन प्राप्त गर्दै आएको नेकपा (एमाले) सधैँ जननेताको पदचिन्हमा सिर्जनात्मकढंगले अग्रसर हुँदै आएको छ । यसै पृष्ठभूमिा २०६२÷६३ को शान्तिपूर्ण जनआन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेको उक्त दलको पहलकदमीमा निर्वाचित संविधान सभाले २०७२ सालमा नयाँ संविधान जारी गरेको थियो । यस ऐतिहासिक संविधान अन्तर्गत ‘राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व’ मा अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति समाविष्ट छ । यसमा नेपालको सावभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहँदै संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने एवं विगतमा भएका सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितका आधारमा सन्धि सम्झौताहरू गर्ने नीति अवलम्बन गरिएको छ । यस प्रावधानले नेपालको विदेश नीति सञ्चालनमा नयाँ क्षितिज उघार्दै नेपाललाई विश्वसामू एक सबल र स्वावलम्बी राष्ट्रको रूपमा उभ्याउने बाटो देखाएको छ । यसको कार्यान्वयन हुनु परिपक्व विदेश नीति तर्जूमा मार्फत समुन्नत राष्ट्र बनाउने जननेताको सपना साकार पार्ने अभियानको एउटा हिस्सा नै हो ।
क्रमशः
प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार ९ : ५९ बजे
प्रतिक्रिया