कांग्रेसले बुद्धि बिगार्‍यो, माओवादीले ढाँट्योः डाः भट्टराई

गोरखा । जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा कांग्रेसले बुद्धि बिगारेको र  माओवादीले ढाँटेको बताउनुभएको छ ।  गृह जिल्लामा अपेक्षा अनुसार नतिजा आउन नसकेको भन्दै देउवाले गठबन्धन भित्र इमान्दारिता नदेखिएको बताउनुभयो ।  

चुनावी समिक्षा कार्यक्रममा सहभागी हुन शनिबार गोरखा आएका भट्टराइले माओवादी र कांग्रेस दुवैले जसपासँगको गठबन्धनमा इमान्दारिता नदेखाएको बताउनुभयो । ‘५,४,२ पालिका बाँड्ने विषयमा कांग्रेसले बुद्धि बिगार्‍यो, अन्य पालिकामा माओवादी केन्द्रसँग गठबन्धन गर्ने भनियो, उनीहरुले त ढाँटछल मात्र गरे’ भट्टराईको भनाई थियो ।  जसपाको मतले माओवादी केन्द्रले जितेको तर जसपालाई सघाउने भनिएको ठाउँमा कहीँ पनि मत नदिएको भट्टराइले बताउनुभयो । 

नेपालको निर्वाचन प्रणाली अनुसार चुनावी तालमेल र गठबन्धन आवस्यक पर्ने बताउँदै उहाँले विचार, स्वभाव नमिल्ने दलहरु बिचको गठबन्धन भने ठिक नहुने बताउनुभयो । ‘पटक्कै विचार नै नमिल्ने, विपरीत दिशामा हिड्ने शक्तिहरु एक ठाउँमा आउँदा गतिहीनता र अस्त व्यस्तता आएको छ यो पुनः विचार गर्नुपर्छ’ भट्टराइको भनाई थियो । 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ५ : ३९ बजे