आज वर्षाको सम्भावना

विराटनगर कार्यपालिकामा  बहुमत भएर पनि हार्यो काँग्रेस–जसपा गठबन्धन

विराटनगर  । काँग्रेस नेता शेखर कोइरालाको गृहनगर  विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । 

यो गठबन्धनलाई हराउँदै एमाले र स्वतन्त्र उमेद्वारहरु कार्यपालिकामा निर्वाचित भएका हुन् । 

विराटनगरमा जसपासँग गठबन्धन गर्दा नगर परिषदमा बहुमतमा रहेको काँग्रेस निर्वाचनमा पराजित भएको हो । यसअघि कोइरालाकै क्षेत्रमा रहेको बुढीगंगा गाउँपालिकामा बहुमत हुँदाहुँदै काँग्रेस उमेद्वारहरु पराजित भएका थिए । 

महानगरको नगरपरिषदमा एमालेसँग उपमेयरसहित ४३ जना जनप्रतिनिधि हुँदा काँग्रेससँग मेयरसहित ४० जना थिए । जसपाका १० जना जनप्रतिनिधि हुँदा स्वतन्त्र  ३ र राप्रपाका १ जना थिए ।  शनिबार भएको कार्यपालिका चुनावमा काँग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्र र राप्रपासँग गठबन्धन गर्दा पनि ४७ मत मात्रै थियो । तर, जसपा र काँग्रेसका केही जनप्रतिनिधिले एमाले उम्मेदवारलाई मत दिँदा काँग्रेस र जसपा कार्यपालिकामा निर्वाचित हुन विफल भए पनि एमाले र स्वतनत्र उम्मेदवारहरु विजयी बने । 

मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा  अल्पसंख्यकमा एमालेका दिपककुमार  कर्ण ५२ ,स्वतन्त्र ओमप्रकासकुमार  साह  ५५ र स्वतन्त्र सन्जिव साह ५२ मत ल्याएर विजयी भएका छन् ।   अल्पसंख्यकमा काँग्रेसका प्रेम  राठी ४०, जसपाका  ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत मात्रै पाए ।  

महिलातर्फ सबै एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका  सुन्तलीदेवी विश्वास ५५, कमला श्रेष्ठ ५५,  ताराकुमारी राय ५३, सरिता घिमिरे नेपाल ५३, खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भए ।  काँग्रेसका पराजित  उमेद्वारहरु अन्जु दाहाल गौतमले  ४०, गायत्री थापा ३९  रुपा देउजा ४०, विनितासिंह ठकुरी  ४० र सुर्यादेवी साहले  ४० मत मात्रै पाए । 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ३ : ३१ बजे