सुनको मूल्यमा नयाँ कीर्तिमान

भारतमा फेरि कोभिड बिरामी बढे, तीन महिनामा पहिलो पटक ठुलो सङ्ख्यामा सङ्क्रमित थपिए

नयाँ दिल्ली । भारतमा फेरि कोभिड सङ्क्रमित बढेका छन् । तीन महिनामा पहिलो पटक ठुलो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् । 

शुक्रवार एकै दिन ४ हजार ४१ जना नयाँ सङ्क्रमित भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो  ११ मार्च पछिकै सबैभन्दा धेरै सङ्ख्या हो । 

महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोभिडबाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ । तर, कोभिडबाट मृत्यु हुनेको सङ्ख्या सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा बढी भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । 

यसअघि कोभिडको हटस्पट बनेको महाराष्ट्रमा धेरै सङ्क्रमित देखिएका छन् । बढ्दो सङ्क्रमण नियन्त्रण गर्न केन्द्रीय स्वास्थ्य मन्त्रालयले महाराष्ट्र, केरला, तेलंगना, कर्नाटक र तमिल नाडु राज्य सरकारलाई पत्राचार गरेको छ । 

भारतमा हालसम्म ८५ करोड १७ लाखभन्दा बढीको कोभिड परीक्षण गरिएको छ । कोभिड सङ्क्रमितको सङ्ख्या बढेपछि सरकारले सन् २०२१ को जनवरीदेखि खोप अभियान सुरु गरेको थियो । 

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ८ : ३५ बजे