सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुकुम(पूर्व) । रुकुम(पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्र्याक्टरमा सवार दुई जनाको शुक्रवार साँझ दादीङ रोडमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सिस्ने–४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुई जना घाइते भएका छन् । घाइतेको रुकुम(पूर्व) अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो । 

चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक खत्रीले भन्नुभयो, “ट्र्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । सडकदेखि तल पनि खसेको छैन तर दुई दुई जनाको ज्यान गएको छ । 

ट्र्याक्टरको पछाडिको भागमा बसेका उनीहरू आत्तिएर हाम फालेको नि हुनसक्छ, झर्ने बेलामा आत्तिएको नि हुनसक्छ ।” घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ७ : १३ बजे