आज वर्षाको सम्भावना

मूल्यवृद्धि कम गर्न सरकारलाई भीम रावलका चार सुझाव

काठमाडौं – नेकपा एमालेका नेता एवं सांसद भीम रावलले दैलेखमा पेट्रोलियम पदार्थको उत्पादनको काम तीव्र पार्नुपर्ने बताउनु भएको छ ।

मूल्यवृद्धिका विषयमा नेकपा एमालेका सांसदहरूले आज प्रतिनिधिसभामा पेस गरेको संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रावलले यस्तो बताउनु भएको हो ।

मूल्यवृद्धिको समस्या समाधान गर्न सरकारले चाल्नुपर्ने विभिन्न चार उपायका विषयमा धारणा राख्दै उहाँले पहिलोमा दैलेखमा पेट्रोलियम पदार्थ उत्पादनको काम सरकारले तीव्र रुपमा अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

यस्तै उहाँले पञ्चायतकालमा पनि खुला बजारबाट कच्चा तेल ल्याएर भारतमा प्रशोधन गरेर नेपालले सह-उत्पादनको काम समेत गर्ने गरिएको बताउँदै अहिले पनि सरकारले त्यसै गर्नुपर्ने बताउनु भयो । ‘तत्कालै खुला बजारबाट कहाँ सस्तो पाइन्छ त्यहाँबाट ल्याउन सरकारले तत्काल प्रयास थालोस्’, उहाँले भन्नुभयो ।  त्यसले एउटा देशमाथि निर्भरता हट्ने उहाँले बताउनु भयो ।

यस्तै खुला सिमानालाई अन्तर्राष्ट्रिय कानुनबमोजिम नियमन गर्नुपर्ने अर्को उपाय रहेको सांसद रावलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘जसले गर्दा हामीले अनावश्यक बाह्य मूल्यका चापहरूलाई झेल्नुपर्ने स्थिति नहोस् । त्यसका लागि सरकारले तुरुन्तै ध्यान देओस् ।’

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  २ : २९ बजे