गणतान्त्रिक कालमा बिपी र पुष्पलाल पक्षधर भएर एक अर्कालाई खुइल्याएर मजा मान्ने समय होइन । यो सामान्य लोकाचारी लोकतान्त्रिक गणतन्त्र होइन । संविधान अनुसार सबै खालको आग्रह र दुराग्रह भन्दा माथि उठेर जस कसैका सकारलाई सकार्ने र नकारलाई नकार्ने उन्नत तथा उदात्त लोकतान्त्रिक गणतन्त्र हो तर प्रसिद्ध मानव अधिकारवादी पहिचान बहन गरेका तपाईँ कृष्ण पहाडीले उही पुरानै तरिकाले लेख्ने र बोल्ने गरेको देखिन्छ । माओले भनेझैँ बदलिएको परिस्थिति अनुसार आफूलाई बदल्न सकिएन भने प्राप्त उपलब्धिप्रति नकारात्मक धारणा भुईँ तहमा फैलिने खतरा हुन्छ । कृपया उच्च तहको व्यक्ति र व्यक्तित्वले समय र काल अनुसार सन्तुलित बोली नबोलेर समाजलाई भड्काऊ किमार्थ सुहाउँदैन ।
राष्ट्रपति कुन जात,भात,नाक,नस्ल,धर्म,लिङ्ग र भूगोलको भन्ने पछौटे मानसिकता लिएर तिललाई पहाड बनाउने हतारो गर्नु हुन्न । उच्च स्तरको कूटनैतिक अभ्यास नभएका अवस्थामा केही केही ससाना कमजोरीलाई उछालेर गणतन्त्रको खिल्ली उडाउने हिसाबले हामी जस्ता विज्ञ भनिएकाहरूले बारबार प्याच्च बोल्न सुहाउला र ? अझ प्रधानमन्त्रीकै बारेमा बोल्दा पनि दुनियाँ हाँस्ने खालको बोली बचन कति जाती हुन्छ । केही दिन अघि संसद्मा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष के.पी. शर्मा ओलीले गरेको बजेट विषयगत मन्तव्यका बारेमा अशोभनीय टिप्पणी विभिन्न मिडियामा पहाडी जीले व्यक्त गर्नु भयो । उहाँले बजेटको नीति विषयको वक्तव्य आवश्यकता भन्दा बढी समय लिएको भन्नु भएको थियो । ओलीले सदनमा सरकारले स्थानीय निर्वाचनमा एमाले पक्षधरलाई हत्या हिंसा र अपमान सहित चरम धाँधली भएको यथार्थ कुरा गर्नु भयो । एमाले लोकतन्त्रप्रति सबै पार्टी भन्दा प्रतिवद्ध भएको वास्तविकता ओलीले बताउनु भयो । हुन पनि जननेता मदन भण्डारीले जनताको मन जितेर मात्र नेतृत्व हासिल गर्नु पर्छ भन्नु भएझैँ एमाले पार्टी नेपाली कांग्रेस जस्तो जसरी पनि निर्वाचनमा जित्नुपर्छ भन्ने पार्टी नै होइन । यही कुरा ओलीले सदनमा सविस्तार व्यक्त गर्नु नजाती हो ?
पहाडी जीलाई यो कालमा पनि सत्तापक्षले चरम धाँधली गरेर चुनाव जितेको हेर्न चाहनु भएको होइन भने ओली मन्तव्यको अनावश्यक विरोध किन ? मोदी लुम्बिनी आउँदा के के सम्झौता भए भनेर सोध्नु नजाती हो ? बजेट नीति वक्तव्यको भाषिक व्याकरणिक र पदसंगतिगत कमजोरी औँल्याउँदा पहाडी किन क्रुद्ध बन्नु हुन्छ ? राष्ट्रिय स्तरको बाल सम्मेलनमा बाल प्रतिनिधिले ओलीको बहु विषयक ज्ञान सुनेर र बुझेर अचम्म माने तर पहाडी किन गुणी जनको गुणलाई उचित आदर कदर गर्नु हुन्न । ओलीले प्रतिपक्षीलाई सिद्ध्याउने भन्ने अनि राष्ट्रिय सहमतिको पनि कुरा गर्ने दोहोरो र दोधारे नीतिगत वक्तव्य प्रति व्यङ्ग्य प्रहार गर्नु भयो । समग्रमा आपसमा आफैँ गुजुल्टिएको नीतिगत बजेट वक्तव्यले जसरी नेपालमा अस्थिरतालाई नै मलजल गर्ने स्पष्ट मार्ग चित्र देखाएको उल्लेख गर्दै आगामी बजेट वक्तव्य पनि नेपाल र नेपालीको हितमा नहुने हुँदा यस विषयमा बेलैमा सोच्न सरकार पक्षलाई ओलीले आग्रह गर्नु भयो । एउटा डाक्टरले रोग र रोगीको समग्र रोग पत्ता लगाउँछ र उपचार विधि अपनाउँछ । एउटा किसानले एउटा पनि खेतबारीमा राँटो नराखी खनजोत गर्छ । ओलीले बजेटको नीतिका बारेमा देखावा भाषण गर्नु भएको होइन । वास्तवमा राम्रै शल्यक्रिया गर्नु पर्ने भएकाले समय लिएर बोल्नु भएको हो । ओलीको बहु विषयक ज्ञान सुनेर र देखेर पहाडी जी नै पनि अनौपचारिक गोप्य भेटवार्तामा ट्वाल्ल परेको यस लेखकलाई थाहा छ । इतिहासविद् प्रा.दिनेशराज पन्त नै पनि ओलीको बहु विषयक ज्ञानको तारिफ नै गर्नु हुन्छ तर केही गैर गणतान्त्रिक चेतका मानिसहरू ओली इर्ष्या र डाहले जलेको देखिन्छ । राष्ट्र हित,स्वस्थ लोकतान्त्रिक अभ्यास, मानव अधिकार र मौलिक अधिकारको सुनिश्चितता गर्ने यस मुलुकको आजसम्मको एउटै पार्टी एमाले अतुलनीय पार्टी हो । नौ महिने उदाहरणीय सरकार र विगत सरकारका सापेक्षतामा ओली नेतृत्वको सरकारले गरेका देश ,जनता र जनराहतका कामहरू यस पार्टीका हुने बिरुवाका चिल्ला पाते लक्षण हुन् तर नेकाले अहिले सम्म मात्र होइन भोलिका दिनमा नेकाले उपर्युक्त खाले कुनै लक्षण देखाएको र देखाउने देखिन्न । एमाले पार्टीलाई जबज अनुसार अझ सबल र सक्षम र सशक्त बनाउन पुरै ध्यान दिनु पर्ने अवस्था छ । यस पार्टीमा मुस्कान सेवा भन्दा ठस्कान सेवा गर्ने ब्यहोरा माकुने कालदेखि विकसित हुँदा अहिले समस्या उत्पन्न भएको छ । सुनसरी लगायत केही जिल्लामा नेतृत्वका गलत कार्यशैलीका कारण स्थानीय निर्वाचनमा हार व्यहोर्नु परेको हो । इटहरी नगरपालिकामा पहिलो गाँसको ढुङ्गा बल्झिएर टाउको काटिएको हो । जबज अनुसार समग्र पार्टी र नेता तथा नेतृत्वलाई राम्ररी अर्जाप्न अध्यक्षले विशेष ध्यान दिनु अपरिहार्य हुन्छ । पार्टीमा महासचिव तथा प्रभावशाली नेता शङ्कर पोखरेल र अर्का प्रभावशाली नेता तथा उपमहासचिव प्रदीप ज्ञवाली जस्ता नेताले चाहिँ जबजको बिँडो थाम्न सक्ने देखिन्छ । प्रतिभा र क्षमताको आहारिसले चाहिँ समयक्रमा सबै पछि परिन्छ ।
प्रबुद्ध वर्गले न्यून गणतान्त्रिक, अर्ध गणतान्त्रिक मात्र भएर हुँदैन । पूर्ण गणतान्त्रिक हुने दिशातिर उन्मुख हुन प्रयत्न नगर्ने हो भने भुईँ तहमा सकारात्मक सन्देश प्रवाह हुँदैन ।
यस दिशातिर आफूलाई प्रबुद्ध र प्राज्ञिक तथा पत्रकारिता जगत्को भन्नेहरूले विशेष ध्यान दिनु अपरिहार्य देखिन्छ । उपर्युक्त शक्ति र व्यक्तिहरू समाजलाई सकारात्मक दिशातिर उन्मुख गराउन सामर्थ्य भएको पुँजी हो । थोरैले धेरैलाई प्रभावित र प्रेरित गर्ने यो शक्ति आर्फैँमा कुनै पनि खाले आग्रहभन्दा माथि हुनु वाञ्छनीय हुन्छ ।
गणतन्त्र कालमा तथ्य र सत्य विपरीत कसैको आलोचना गर्नु पछौटे चिन्तन हो । मोहन विक्रम सिंह ज्येष्ठ कम्युनिस्ट भए कम्युनिस्ट चिन्तनका दृष्टिले ती दायाँ र बायाँ अतिवाद ग्रस्त तथा चरम आग्रही छन् र ती पत्नीलाई मन्त्री बनाएको भोलिपल्ट कांग्रेस हुन तयार होलान् जस्तो लाग्छ । गणतन्त्र आए पनि यस सम्बन्धी चिन्तन र चरित्रको अभावका कारण अहिले पनि कतिपय बौद्धिक प्राज्ञिक तथा पत्रकारिता जगत्का व्यक्ति र व्यक्तित्वहरू सामन्तवादका भद्दा अवशेष लाग्छन् । यस्तो कुरा तिनका बोली र लोली लवज र हाउभाउबाट अवगत हुन्छ । एमाले वा ओलीका सकारात्मक पक्षहरूलाई पुरै नकारात्मक कोणबाट व्यक्त गर्दा तिनले निकृष्ट नखरा र नङ्ग्रा प्रदर्शन गर्छन् । प्रसिद्ध मानव अधिकारवादी कृष्ण पहाडी मात्र होइन विविध विषय र विधामा नामले प्रसिद्ध भनिएका श्याम श्रेष्ठ,गिरिराजमणि पोखरेल,डा. भीमार्जुन आचार्य र टीकाराम यात्री जस्ता पत्रकार र पार्टी प्रवक्ता छुट्टाउन हम्मे हम्मे पर्ने पात्रहरू गैर गणतान्त्रिक देखिन्छन् । ती गणतान्त्रिक आवरणका गैर गणतान्त्रिक चिन्तन र चरित्र हुन् ।
सरकारले राष्ट्रपति नामको चालू विकास निर्माणको विकासे योजना पूर्वाग्रहका कारण हटायो । यस खालका घटिया चरित्र र चिन्तनले गणतान्त्रिक उच्च आदर्श कसरी कायम गर्न सकिन्छ र ?
गणतन्त्रको भजन गाएर गणतान्त्रिक उच्च चेत र चिन्तन प्राप्त हुँदैन । झन्डा मात्र बोकेर र गणतन्त्रको भाष्य लेखेर मात्र गणतन्त्रवादी भइन्न । यो त आचरण,संस्कार संस्कृति पो हो त ? बोक्रे ,पलाँसे चिन्तन भन्दा चुरो चिन्तन मात्र गणतन्त्र सुहाउँदो र समाजोपयोगी हुन्छ । गणतन्त्रको सिउर पहिरेर जो कोही गणतन्त्रवादी हुँदैन । यो त उच्च र उदात्त मानवीय संस्कार र संस्कृति हो । ने.क.पा. चौमले सुरु गरेको बर्दिबास स्थित आधारशिला माना सामूहिक श्रम तथा उपभोग साम्यवादी शिविरमा राजा महाराजाले झैँ आफ्ना महावाणी सजाउने नारायणकाजी र गिरिराजमणि पोखरेल कम्युनिस्ट हुन् कि काजी हुन् ? चुच्चे नक्सा हामीले पारित गरेको हौँ भनेर खपिन सक्नु गर्जन तर्जन गर्ने पोखरेलहरू देउवाले भारतमा गएर बुच्चे पार्दा किन मुख सिएर बसेका होलान् ? यस्ता दुई मुखे बेहोराले ओलीले पाठ्यपुस्तकमा चुच्चे नक्सा राख्न दिनु भएर भनेर जाली कुरा गर्नु कुनै ठुलो कुरा होइन । नारायणका अन्धभक्तहरूलाई यस लेखकले राम्ररी चिनेको छ ।
पहाडी जी ओलीले गरेको संसद्मा विषयगत सम्बोधनलाई तोडमरोड गरेर बोल्दै हुनुहुन्थ्यो । ओलीले आफूउपर लगाएका लाञ्छनाको तथ्य र सत्य परक खण्डन गर्नु भयो । गठबन्धन सरकारको असन्तुलित विदेश नीति औँल्याउनु नजाती हो । ओलीले देशको नक्सामा समावेश गरिएको लिम्पियाधुरा ,कालापानी र लिपुलेक नेपालको हो भन्न नसक्ने ठगबन्धन सरकारका कमजोरी उल्लेख गर्दा पहाडी जीलाई किन रिस उठेको हो ?
पहाडी जीलाई औपचारिक मन्तव्यमा उ गरेर उ ग¥यो भन्ने र बोलेको पटक्कै नबुझिने नेता वा प्रधानमन्त्रीको मन्तव्य सुन्दा सुन्दा बानी परेर होला ओलीको बोली सुन्दै रिसको पारो छ्टतो रहेछ । नत्र ओलीले अनावश्यक कुरा के बोल्नु भयो र ?
चार लेन सडक, सुरुङ मार्ग र स्वास्थ्य लगायत विगत सरकारका कामहरूको चर्को विरोध गर्नेहरू विगतका तिनै योजनाहरूलाई घुमाइ फिराइ फिराद गरिरहेको पनि ओलीले बताउनु भयो ।
अन्तर्वार्ता र आलेखका क्रममा पहाडी फेरि दुई पटक संसद् विघटनको कुरा उठाउनु हुँदै थियो तर दुनियाँको संसदीय अभ्यासमा कहीँ नभएको जात्रा नेपालमा सर्वोच्च अदालतले गर्दा पहाडी खुसी नै हुनु भएको हो ? अझ न्यायालयले निश्चित समयावधि किटान गरेर प्रधानमन्त्रीको शपथ लिने कुरा गरेको चाहिँ संसदीय राजनीतिको भद्दा मजाक होइन ? सार्वभौम संसद्को महत्त्व र भूमिकालाई खण्डित गर्दा र एमालेले कार्यवाही गरेका १४ सभासद्लाई सभामुखले संरक्षण गर्दा पहाडी खुसी हुनु भएको हो ? एउटै संसद्मा एक थरीलाई ह्विप लाग्ने र कसैलाई नलाग्ने भन्ने पनि हुन्छ ? यस्ता गैर वैधानिक र गैर गणतान्त्रिक गतिविधिलाई पहाडी जीको समर्थन हो ?
ओली र एमाले विरुद्ध नानाओली विचार बखान गरिरहने पहाडी जी जस्ता विज्ञहरूलाई संविधानले कर्तव्य बारे पनि बताएको छ । संविधान अनुसार हरेक नागरिकले राष्ट्र हित,उत्थान,समृद्धि र समुन्नति लगायत विषयमा आफैले मनन गरेर कर्तव्य निर्वाह गर्नु पर्ने किटानी व्यवस्था गरे पछि त्यस अनुसार लाग्नु परेन ? यस अनुसार महाकाली नदीमा बगाएर मारिएका जयसिंह धामीका बारेमा महाकाली पक्की तटबन्ध बनाएर नेपालतिर बाढी हुल्ने भारतीय हेपाहा प्रवृत्ति,चुच्चे नक्सा बुच्चे पार्ने विषय लगायत अनेक राष्ट्र घात जनघात आदि कृत्यहरू बारे चुइँक्क नबोल्ने पहाडी ओली विरुद्ध लगातार लागि रहनुको उद्देश्य बुझ्न सकिन्छ ।
प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार ८ : ५२ बजे
प्रतिक्रिया