सडक यातायात क्रमशः सहजतातर्फ

 जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएको खण्डमा उडानको अनुमति नदिने 

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएको खण्डमा उडानको अनुमति नदिने नियम बुधवारदेखि लागू गरेको छ । 

जहाज प्रस्थान गर्ने विमानस्थल तथा पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’ को मौसम सफा नभएसम्म जहाजलाई उडान अनुमति नदिइने नियम बुधवारदेखि लागू गरिएको क्यानका महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिनुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मौसम सफा नभएका खण्डमा जहाजलाई उडानको अनुमति नदिने नियम बनाउन क्यानलाई सोमबार निर्देशन दिनुभएको थियो । 

प्रतिकूल मौसमका कारण देशमा पटक पटक हवाई दुर्घटना हुँदै आएको निष्कर्ष निकाल्दै क्यानले मौसम सफा नभएका खण्डमा जहाजलाई उडानको अनुमति नदिने निर्णय गरेको हो । 

महानिर्देशक ई अधिकारीका अनुसार यस्तो निर्णय आँखाले अगाडि हेरेरै गर्नुपर्ने उडान प्रणाली (भीएफआर) रहेको रुट र जहाजको हकमा लागू हुने भएको छ । उक्त निर्णयपछि अब जहाज उड्ने रुटको मौसम समेत सफा रहेको निश्चित भएपछि मात्र उडान अनुमति दिइने र यसको कडाइका साथ पालना गरिने क्यानले जनाएको छ । 

क्यानका अनुसार इनरुटको मौसम कस्तो छ भन्ने विवरण भने जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई आधार मानिनेछ । 

प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा तारा एयरको जहाज दुर्घटनामा परेको क्यानको प्रारम्भिक अनुमान रहेको छ । उक्त जहाज दुर्घटनामा परी चालक दलका सदस्य तीन जना, १३ नेपाली, चार भारतीय तथा दुई जर्मन नागरिकसहित २२ जनाको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ८ : २१ बजे