आन्तरिक हवाई उडानमा अत्यधिक चाप

उदयपुरको रौतामाईको कार्यपालिकामा एमालेको बहुमत

उदयपुर ।  उदयपुरको रौतामाई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद गुमाएको नेकपा एमालेले कार्यपालिकामा बहुमत पुर्‍याएको छ । 

मङ्गलवार सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा मनोनयन दर्ता गराएका एमालेका सबै सदस्य निर्वाचित भएका हुन् । 

निर्वाचित महिला सदस्य भित्रबाट ४ र बाहिर सीमान्तकृत, अल्पसङ्ख्यक समुदायबाट २ जना गरी ६ जना थप हुने कार्यपालिकामा सबै जना एमालेबाट निर्वाचित भएका हुन् ।

निर्वाचित हुनेहरूमा महिलातर्फ गौरीमाया मगर, ज्ञानकुमारी मगर, देविमाया दाहाल, वर्तहिरा राई, दलितबाट दुर्गबहादुर सार्की र अल्पसङ्ख्यक तर्फ वसन्तकुमार चाम्लिङ राई रहेको निर्वाचन अधिकृत सुवास भट्टराईले जानकारी दिनुभयो । गठबन्धन उम्मेदवारलाई पछि पार्दै एमाले उम्मेदवार निर्वाचित भएका हुन् ।

रौतामाईमा १६ जनाको कार्यपालिका बोर्ड गठन भएको छ । त्यसमध्ये एमालेका ११ जना, नेपाली काँग्रेसका उपाध्यक्षसहित ३ जना र नेकपा माओवादी केन्द्रबाट अध्यक्षसहित २ जना रहेका छन् । 

पालिका अध्यक्ष र उपाध्यक्ष नजिते पनि निर्णायक भूमिकामा भने एमाले नै देखिएको छ ।  सर्वसम्मत नभएका प्रस्ताव माथि छलफल गर्दा बहुमत र अल्पमतको अंकगणितिय खेलमा एमालेको धारणा नै अन्तिम हुने देखिएको छ । ८ वटा वडा र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी ४२ जना निर्वाचित जनप्रतिनिधि रहेको रौतामाईमा एमालेले एक्लैले २३ जना र बाँकी गठबन्धनबाट विजयी भएका हुन् । 

एमालेले वडा नं १,२,३,५,७ गरी ५ वडा, काँग्रेसले पालिका उपाध्यक्ष सहित वडा नं ४ र ८, माओवादीले पालिका अध्यक्ष सहित वडा नं ६ मा वडाध्यक्ष जीतेका थिए । पालिका अध्यक्षदेखि वडा तहसम्म गठबन्धन गरेका माओवादी र काँग्रेसलाई एमालेले सहजैपछि पार्दै जितेको हो । गठबन्धनकै कारण एमालेले वडाको सङ्ख्या बढाउन नसकेको एमालेका रौतामाई गाउँपालिका कमिटी अध्यक्ष केशव राईले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७४ को निर्वाचनमा पनि हामीले ५ सिट नै जितेका हौँ, त्यसमा वडा नं ६ र ८ बाट दुई जना सदस्य थप गर्न सफल भयौँ ।” निर्वाचित वडा फेरबदल भए पनि सङ्ख्यात्मक हिसाबले एमाले पुरानै अवस्थामा रहेको उहाँले बताउनुभयो । 

यता गठबन्धन गरेका  माओवादीले भने अघिल्लो दुई सिटलाई खुम्च्याएर एकमा सीमित भएको हो । काँग्रेसले भने अघिल्लो आकारमा एक वडा थप गरेको छ । अघिल्लो पटक एमालेका उम्मेदवार गजेन्द्रबहादुर खड्कासँग पराजित भएका हालका अध्यक्ष बिरेन्द्रकुमार मगर यस पटक भने गठबन्धन गरेर भए पनि बाजी मार्न सफल भए । अघिल्लो निर्वाचनमा नै अध्यक्षमा तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उम्मेदवार भूपेन्द्रबहादुर थापा भने यस पटक गठबन्धनबाट उपाध्यक्षमा जीत निकाल्न सफल भए ।  

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ७ : ०५ बजे