आज वर्षाको सम्भावना

कांग्रेसकाे दम्भ चुलिन लाग्याे ठेगान लगाउन नपरोस् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई ठेगान लगाइदिने चेतावनी दिनुभएको छ ।

आज काठमाडौंको पुतलीसडकको कुमारी हलमा आयोजित प्रशिक्षण भेलामा आयोजित माओवादीबाट जितेका जनप्रतिनीधिहरुलाई प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय तको निर्वाचन लगत्तै नेपाली कांग्रेसमा दम्भ आउन लागेको बताउनुभयो । ‘हामी सबैलाई तह लगाउन शक्ति हौं कांग्रेसलाई पनि ठेगान लगाइन्छ ।’ 

प्रचण्डले आफूले गठबन्धन कायम राखेरै जान चाहे पनि कांग्रेसमा एमालेको जस्तै अहंकारको संकेत देखिएको बताउनुभयो ।

देउवालाई निक्कै ठुलो मेहनत गरेर प्रधानमन्त्री बनाइएको भन्दै प्रचण्डले दम्भ देखाए नछोडिने बताउनुभयो । ‘ हामीले निक्कै मेहनत गरेर प्रधानन्त्री बनायौं । अझै पनि  देउवा नै प्रधानमन्त्री भइराख्नुस् भन्ने छ । तर हामी चिन्तित छौं । कांग्रेसमा पनि  दम्भ चुलिएर माओवादी केही होइन भन्ने धेरै ठाउँमा देखिदैछ  ।’प्रचण्डले थप्नुभयो, ‘दम्भ चुलिँदै गए भोलि हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउनु नपरोस् ।’

प्रचण्डले पछिल्लो समय माओवादीको पहिचान मेटिदै गएको बताउनुभयो । ‘हाम्रो पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ’ प्रचण्डले भन्नुभयो, ‘हुनत हामीले हाम्रा दस्तावेजमा, व्याख्या विश्लेषण गर्दा हामी क्रान्तिकारी हौं भन्छौं, तर अरु संसदवादी पार्टी र माओवादीबीचको पहिचान क्रमश मेटिएको हो कि ? कतिपय स्थितिमा माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको छ ।’

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  २ : ४९ बजे