हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

‘अशक्ततालाई नै शक्तिको रुपमा रूपान्तरण गरेँ’

भक्तपुर । ‘त्यतिबेलाको समाज अहिलेको जस्तो थिएन, पहिले कुनै आँखा नदेख्ने व्यक्तिलाई पूर्व जन्मको पाप वा परिवारले गरेको पापका कारण आँखा नदेखेको भन्ने सामाजिक धारणा थियो’, भक्तपुरका ५८ वर्षीय दृष्टिविहीन सुरज राजभण्डारीले भन्नुभयो । कानूनमा स्नातक तहसम्म अध्ययनरत उहाँले समाजको त्यही वितृष्णलाई नै शक्तिको रुपमा बदल्नुभयो  ।

२०२१ सालमा जन्मिनुभएका राजभण्डारी सुरुका दिनमा आँखा देख्न सक्ने भएपनि दुई वर्षको उमेरमा भएको टाइफाइडका कारण दुवै आँखा देख्न नसक्ने हुनुभयो ।  पहिले अहिलेको जस्तो उपचार गर्ने कुनै अस्पताल थिएन । उपचार गर्नै परे अन्य देशमा जानुपथ्र्याे । त्यतिबेला उहाँको परिवारको आर्थिक अवस्था पनि नाजुक नै थियो । जसका कारण उहाँको उपचार सम्भव भएन । उहाँ  जन्मँदा उहाँको परिवार काठमाडौँमा डेरा गरेर बस्थ्यो । पछि उहाँको परिवार आफ्नै घर भक्तपुर फर्कियो । 

डेरामा रहँदा सुरजको हेरचाहमा समस्या हुने गरेकोमा आफ्नै घरमा फर्किएपछि भने उहाँको परिवारलाई केही भएपनि राहत मिल्यो । कुरा २०२७ सालतिरको हो । उहाँलाई उहाँको परिवारले भजन मण्डलीमा सहभागी गराउनुभयो  । भजन मण्डलीमा सहभागी हुँदा उहाँले विभिन्न मानिसहरूबाट बुवाआमाको निधनपछि यसको भाइहरूले हेर्लान् कि नहेर्लान् ? यसको अवस्था के हुने होला ? लगायतका कुराहरू गर्ने गर्दथे । त्यस्तो कुराले उहाँलाई धेरै नै पीडा हुने गर्दथ्यो । 

उहाँको परिवार बाहिर जाँदा उहाँलाई कहिल्यै सँगै लगिन्नथ्यो । बाहिर जाँदा उहाँको परिवारले उहाँलाई कुनै नातेदारसँग छाडेर जाने गर्दथे । उहाँको औपचारिक शिक्षाको आरम्भ भने २०३१ साल असार ११ गतेबाट कृत्तिपुरको ल्याबर्टी स्कुलबाट भएको थियो । शिक्षाको आरम्भ गरेसँगै उहाँले दृष्टिविहीनले पढ्ने ‘ब्रेन लिपी’ सजिलै सिक्नुभयो । ब्रेन लिपि सिकेसँगै उहाँले कक्षा २ बाट अध्ययन प्रारम्भ गर्नुभएको थियो । उहाँ अध्ययनमा निकै अब्बल हुनुहुन्थ्यो  । जसका कारण उहाँले २०३९ सालमा एसएसी पहिलो श्रेणीमा नै उत्तीर्ण गर्नुभयो । 

२०३१ सालतिर उहाँ रेडियो धेरै नै सुन्ने गर्नुहुन्थ्यो । रेडियो सुनेर उहाँ रेडियो वाचकको नाम सम्झने गर्नुहुन्थ्यो । रेडियो सुनेकै आधारमा उहाँले विद्यालयमा पनि आफैँ कार्यक्रम प्रस्तोताको भूमिका निभाउने गर्नुहुन्थ्यो । विद्यालयमा हुने निबन्ध प्रतियोगिता, कविता वाचन, वादविवाद प्रतियोगिता आदिमा पनि उहाँले उलेख्य सहभागिता जनाउने गर्नुहुन्थ्यो  । त्यतिबेला उहाँले धेरै ठाउँमा जितेर पुरस्कृत समेत पाउनुभयो । 

चार जना दिदीबहिनी र एकजना भाइको पनि उहाँलाई राम्रै सहयोग थियो । दृष्टिविहीन भइसकेपछि विवाह हुँदैन भन्ने सामाजिक धारणा भने त्यतिबेला नभएको होइन । विवाहका लागि उहाँले धेरै समय नै कुर्नुपर्याे । उहाँको विवाह २०५६ सालमा भक्तपुरकै प्रतिभा मास्केसँग भयो । उहाँ पनि शारीरिक अशक्त नै हुनुहुन्थ्यो । विवाहपछि एक छोरी र एक छोरा भए । विवाहको केही वर्षपछि नै उहाँको श्रीमतीलाई क्यान्सर देखियो । जसका कारण विवाहको १० वर्षपछि उहाँको मृत्यु भयो । 

आफू दृष्टिविहीन भइसकेपछि अन्य कुराले भन्दा अरूले आफ्नो बारेमा गर्ने कुराले नै पीडा हुने उहाँ बताउनुहुन्छ । सानो छँदा आफूलाई वरिपरिका मानिसले धक्का दिने, पानी छ्याप्ने, गोबर छ्याप्ने लगायतका दुर्व्यवहार गर्ने गरेको उहाँ  सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘हामी दृष्टिविहीनलाई समाजले हेर्ने धारणा परिवर्तन नभएसम्म हाम्रो विकास हुनै सक्दैन ।’ 

२०४४ सालमा आइएल उत्तीर्ण गर्नुभएका उहाँले सोही वर्ष नै नेपाल ल क्याम्पसमा स्नातक तहका लागि कानून विषयमा भर्ना हुनुभयो । विभिन्न कारणले गर्दा आफूले २०५६ सालमा मात्र स्नातक पुरा गरेको उहाँ बताउनुहुन्छ । 

हाल उहाँसँग अधिवक्ताको लाइसेन्स समेत छ । उहाँले जापानमा गएर समेत चार वर्ष अकुपन्चर र अकुप्रेसर मसाज र जापनीज सोसल सर्भिसको अध्ययन गर्नुभएको थियो । उहाँ जापानी भाषामा समेत पोख्त हुनुहुन्छ ।  

जापानको अध्ययन पुरा गरिसकेपछि उहाँले नेपाललाई नै आफ्नो कर्मथलो बनाउने निर्णय गर्नुभयो  । सोही अनुरूप उहाँले प्राथमिक विद्यालयबाट कामको थालनी गर्नुभएको थियो । सुरुवातमा उहाँले श्री पद्म प्राथमिक विद्यालयबाट अध्यापन सुरु गर्नुभयो ।  त्यसपछि धुलिखेलको सञ्जीवनी माध्यमिक विद्यालय र कपिलवस्तुको नेपाल आदर्श विद्यालयमा अध्यापन गराउनुभयो । उहाँले धुलिखेलमा दुई÷तीन महिना मात्र अध्यापन गराउनुभएको थियो भने श्री पद्ममा दुई वर्ष र नेपाल आदर्शमा पाँच वर्ष अध्यापन गराउनुभएको थियो । उहाँले दुई ठाउँमा गरेर छ वर्ष अध्यापन गराउनुभयो  । 

उहाँले र्यान्बो क्लब लाइब्रेरीमा समेत काम गर्नुभएको थियो । त्यहाँ उहाँले ब्रेन लाइब्रेरी र पत्रिकाका काम पनि गर्नुभयो  । त्यस्तै उहाँले राष्ट्रिय अपाङ्ग महासङ्घमा चार वर्ष काउन्सिलरको रुपमा समेत काम गर्नुभयो  । उहाँ २०४३ सालदेखि नेत्रहीन समूहमा पनि आबद्ध हुनुभयो ।  । त्यस्तै उहाँले भक्तपुर सिबिआर, भक्तपुर जेसिस, रेयुकाइ नेपाल लगायतका संस्थामा समेत आबद्ध भई काम गर्नुभयो । 

उहाँलाई आठ वर्षभन्दा कम उमेरका कुराहरू खासै याद छैनन् । जब उहाँ आठ वर्ष पुग्नुभयो, उहाँले भक्तपुरमै आफूजस्तै केही आँखा नदेख्ने मानिसहरूलाई भेट्नुभयो  । त्यसपछि भने आफू मात्र आँखा नदेख्ने मान्छे नभएको उहाँले थाहा पाउनुभयो  । त्यतिबेला उहाँहरू आफूभन्दा बढी उमेरका हुनुहुन्थ्यो । विद्यालयमा भर्ना भइसकेपछि भने उहाँसँगै अरू धेरै आँखा नदेख्ने साथीहरू थिए । त्यतिबेला भन्दा अहिले समाज निकै परिवर्तन भइसकेको उहाँ बताउनुहुन्छ । आँखा नदेख्नु कुनै ठूलो समस्या नभएको उहाँको बुझाइ छ । उहाँको बुझाइमा आँखा नदेख्नु र हात खुट्टा नचल्नु उस्तै उस्तै समस्या हुन् । सबै खाले अशक्तता भएका मानिसहरू अवसर पाए जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने उहाँ बताउनुहुन्छ । 

आफूले नबुझुन्जेल उहाँले परिवारले खासै हौसला पाउनुभएन । पहिले आफ्नो बारेमा कसैले केही भन्दा परिवार चुप लागेर बस्ने, आफूलाई पनि केही प्रतिक्रिया नदिन सुझाव दिन्थे । परिवारमा पनि नदेख्ने मान्छेले केही गर्न सक्छन् भन्ने सम्झाउने चलन थिएन । परिवारमा पनि नदेख्ने भनेको गाह्रै हो, दुःखै हो भन्ने धारणा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार उहाँको परिवारमा यसलाई माया गर्नुपर्छ भन्ने सोच थियो । आफूले पढेपछि मात्र परिवारले केही गर्न सक्छ भन्ने बुझेको उनले स्मरण गरे । अहिले उहाँको परिवारमा उहाँको भाइको परिवार र उनको परिवार गरी पाँच जना सदस्य छन् । बुवा आमाको भने मृत्यु भइसक्यो । पहिलेदेखि नै आफूमा अरूलाई सिकाएरै काम गर्न सक्छु भन्ने आत्मविश्वास रहेको उहाँको भनाइ छ । 

आफू सानो छँदा दृष्टिविहीनले काठको काम गर्ने गरेको उहाँले सुन्नुभएको थियो । सिक्यो भने जुन काम पनि गर्न सकिन्छ होला भन्ने आत्मविश्वास उहाँमा थियो । आफू सामाजिक संस्थामा लागेपछि आफ्नो इज्जत पनि बढेको उहाँले बताउनुभयो । आफू विभिन्न संस्थामा रहेर काम गर्दा चिठी पत्र लेख्ने कुरामा अब्बल रहेको उहाँको जिकिर छ । 

शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई माया भन्दा काम गर्ने अवसर मिलाइदिनुपर्नेमा उहाँको जोड छ । उहाँ भन्नुहुन्छ, ‘आँखा नदेख्दैमा वा शारीरिक अपाङ्गता हुँदैमा उसलाई कसैको सहारा मात्र नभई हौसला पनि आवश्यक पर्छ । साथै यस्ता व्यक्तिहरू बिचराको पात्र हुँदैनन् ।’

सरकारले पनि यस्ता व्यक्तिहरूका लागि विभिन्न अवसरहरू जुटाई दिनुपर्नेमा उहाँको जोड छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  २ : १७ बजे