स्थानीय चुनावको परिणाम आँकलन गरिए जस्तो नभएर केही फरक खालको आएको छ । अघिल्लो स्थानीय चुनावले राम्रो नतिजा दिएर सबैभन्दा शक्तिशाली बनेको नेकपा एमालेले यो स्थानीय चुनावमा आफ्नो पुरानो वर्चस्व कायम राख्न सकेन । उसले यो चुनावको पालिका सङ्ख्यामा काँग्रेससँग फराकिलो अन्तरसहित दोस्रो स्थानमा नै चित्त बुझाउनु पर्ने भएको छ ।
एमाले विरुद्ध उसैबाट फुटेर बनेको नेकपा एस, माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सत्तादेखि चुनावसम्म गठबन्धन गरेका थिए । यस गठबन्धनलाई आगामी लामो समयसम्म कायम राख्ने त्यसका नेताहरूले बताउँदै आएका थिए । गठबन्धनको उद्देश्य एमालेलाई चौथो स्थानभन्दा माथि रहन नदिने देखिन्थ्यो । एमालेलाई निस्तेज पार्ने यो रणनीतिका बाबजुद एमाले दोस्रो स्थानमा रहनुले उक्त रणनीति उद्देश्य अनुरूप सफल नभएको देखिन्छ । एमाले पनि गठबन्धनलाई परास्त गर्न सकिने र पहिलो स्थान सुरक्षित गर्नेमा विश्वस्त जस्तै देखिन्थ्यो तर मत परिणामले उसलाई दोस्रोमा पुर्याइदिएको छ ।
गठबन्धनबाट सबैभन्दा धेरै फाइदा नेपाली काँग्रेसलाई भएको छ तर पनि यो परिणामले अन्ततः काँग्रेसलाई फाइदा नगर्ने विश्लेषण गर्नेहरू पनि छन् । उसले आफ्नो पक्षमा रहेको भरपर्दो जनमतलाई उपयोग गर्नेभन्दा अरूको मतमा पालिका सङ्ख्या बढाउनमा केन्द्रित रहेको र यसले काँग्रेसलाई फाइदा नहुने विश्लेषकहरूको ठहर छ । उसो त वामपन्थीहरू आपसी विग्रहले छिन्नभिन्न भएको बेला काँग्रेसका लागि मैदान खाली रहेको विश्लेषण काँग्रेसभित्रै पनि गरिँदै थियो, तर एमालेसँग काँग्रेसभन्दा बढी चिढिएका अन्य वामपन्थीहरूको एमालेलाई धराशायी बनाउने चाहना र काँग्रेसको नेतृत्वको एमालेलाई हराउन गाह्रो हुने निष्कर्षले गठबन्धनले चुनावसम्म आउने मार्ग प्रशस्त गर्यो । काँग्रेसको नेतृत्वले एमाले विरोधी ती वाम शक्तिले गठबन्धन नभए एमालेसँग मिलेर चुनावमा जाने मोलमोलाइ गरेकोले पनि विगत चुनावबाट शिक्षा लिएर गठबन्धनलाई टिकाउने रणनीति लिएको थियो र त्यो तत्कालका लागि सफल पनि भयो ।
कमजोर सांगठानिक अवस्थाका कारण विगतका चुनावमा अर्काको साथ लिएर चुनाव लड्ने गरेको मानिएको माओवादी केन्द्रलाई यस पटक पनि गठबन्धन फापेको छ । यसबाहेक यस चुनावमा केही नयाँ र रोचक प्रवृत्तिहरू पनि देखा परेका छन् । काठमाडौँमा मधेसी मूलका बालेन साह, धनगढीमा गोपाल हमाल र धरानका हर्क साम्पाङहरूले पारम्परिक दलहरूलाई झस्काउँदै स्वतन्त्र उम्मेदवारी दिएर लोकप्रिय मतका साथ चुनाव जिते । यो जित पार्टीहरूको अराजक प्रवृत्ति विरुद्ध लक्षित हो भनेर बुझ्न गाह्रो देखिन्न । यी तीन स्वतन्त्र उम्मेदवारहरू मध्ये धरानका हर्क साम्पाङ विगत लामो समयदेखि धरानमा सामाजिक कार्यकर्ताका रुपमा निरन्तर लागिरहेका थिए । यस पटकको चुनावमा धराने जनताले प्रमुखमा उनैलाई विजयी गराए । सामाजिक सञ्जालहरूमा चर्चाको चुलीमा देखिएका यी उम्मेदवारहरूको जितलाई दलहरू विरुद्ध उठेको लहरका रूपमा व्याख्या गरिएको भए पनि आगामी दिनमा उनीहरूले गर्ने कामहरूको लेखाजोखाबाट धेरै कुरा स्पष्ट हुनेछ । जे भए पनि पार्टी सञ्जाल र खर्चिलो प्रचार—प्रसार विनाको यो सफलताबाट दलहरूले सिक्न जरुरी देखिन्छ । लोकप्रिय देखिने प्रवृत्तिले स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या भविष्यमा बढ्ने देखिन्छ । यो चुनावमा दलहरूले विगतमा आफ्नो किल्ला घोषित गरेका ठाउँहरू पनि ढले । यसरी मतदाताहरूमा नयाँ लक्षण देखियो । यसले पनि आउँदा दिनहरूमा दलहरूले नयाँ ढङ्गबाट सोच्न जरुरी देखिन्छ ।
मत परिणामले नेकपा एमालेका मतदाताहरूमा आश्चर्य लाग्दो विचलन आएको देखाएको छ । उदाहरण स्वरूप काठमाडौँ, पोखरा र बुटवलमा एमालेका उपप्रमुखका उम्मेदवारले राम्रो मत पाएर विजय प्राप्त गर्दा प्रमुखका उम्मेदवारले भने हार बेहोर्नु परेको छ । यस्तो अन्य स्थानमा पनि भएको छ । यस्तो अवस्था एमालेमा भएको विभाजनको असरले उत्पन्न भएको हो । सानो शक्ति विभाजित हुँदा पनि त्यसले असर पार्ने रहेछ भन्ने यसले देखाउँछ । एमालेमा रहेका मतदाताहरूमा दल विभाजनको अन्योल कायमै रहेकोले पनि परिणाम प्रभावित भएको देखिन्छ । गोप्य मतदान गर्ने आममतदातारूलाई अन्तर्घात गरेको भन्न मिल्दैन, तर कार्यकर्ता तहमा नै अन्तर्घात भएकोले परिणाम अनुकूल नभएको ठहर एमालेले गरेको छ । यसले एमालेले सङ्गठन सुधार गर्न आवश्यक देखिन्छ । पार्टीभित्रको एउटा खेमाले चुनावमा खासै सकारात्मक सक्रियता नदेखाएकोले पनि यो अवस्था आएको भन्ने विश्लेषण गर्नेहरू पनि छन् ।
यो चुनावमा व्यवस्था विरोधीहरू, राज्यको संरचना विरोधीहरूको उपस्थितिमा पनि वृद्धि भएको देखिएको छ । यो निश्चय पनि सङ्घीयता र गणतन्त्रवादको पक्षमा राजनीति गर्नेहरूले गम्भीरतापूर्वक सोच्नुपर्ने विषय हो, तर यस दिशामा दलहरूको ध्यान गएको देखिँदैन । आगामी संसदीय चुनावमा त्यस्तो शक्तिले आफ्नो अवस्थामा सुधार गर्ने लक्षण देखिँदै छ । गणतान्त्रिक लोकतन्त्रको विकल्प राजतन्त्रमा देख्ने प्रवृत्तिको विकास हुनु दलहरूका अवाञ्छित क्रियाकलापबाट उत्पन्न निराशाको अभिव्यक्ति हो भन्दा अन्यथा हुने छैन । अहिलेको राज्य प्रणाली र संरचनामा धेरै त्रुटिहरू रहेका छन् । राजनीतिक दलहरूमा पनि सत्ता स्वार्थ र आचरणगत समस्याहरूलाई सम्बन्धित दलहरूले समयमा नै सुधार नगर्ने हो भने भोलिका दिनहरू सुखद हुने देखिँदैन ।
प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार १० : ३९ बजे
प्रतिक्रिया