‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काङ्ग्रेसको चङ्गुल र वामपन्थी महाभूल

स्थानीय तहको निर्वाचन सकिँदा नसकिँदै आगामी मङ्सिरमा हुने आमनिर्वाचनको चर्चा सुरु भएको छ । ०७४ सालमा भएको आमनिर्वाचनमा देशको प्रमुख कम्युनिष्ट शक्ति नेपाल कम्युनिष्ट पार्टी(एमाले) र अर्को वामपन्थी शक्ति नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को बीचमा गठबन्धन भएको थियो । उक्त गठबन्धनका कारण नेपाली कम्युनिष्टहरूले सत्ता सञ्चालन गर्ने सफलता प्राप्त गरेका थिए । फलस्वरूप नेकपा(एमाले)का अध्यक्ष के पी शर्मा ओलीको नेतृत्वमा नेपालको आमूल रूपान्तरणको कार्यारम्भ भएको थियो । छोटो समयमा देशको आर्थिक समृद्धि र विकासको क्षेत्रमा तुमुलकारी परिवर्तन भएको थियो । तर नेपाली वाम आन्दोलनका केही शिखण्डी चरित्रका नेताको कारण एकचालीस महिनामै कम्युनिष्ट सरकार ढल्न पुग्यो । 

संविधानसभाले जारी गरेको नेपालको संविधान–२०७२ पछिको दोस्रो आमनिर्वाचन आउन अब धेरै बाँकी छैन । सामान्य अवस्थामा आगामी मङ्सिरभित्र सङ्घीय प्रतिनिधि सभा र सातै प्रदेश सभाको निर्वाचन भइसक्नु पर्नेछ । 

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेविरुद्ध राष्ट्रव्यापी तालमेल गरेर चुनावमा गएको सत्तारूढ गठबन्धन आगामी आमनिर्वाचनमा समेत स्थानीय तहको निर्वाचनमा जस्तै तालमेल गरेर चुनावी मैदानमा उत्रने बताइरहेको छ । तालमेल गरेर पनि आफ्नो प्रभाव खासै देखाउन नसकेका गठबन्धनका साना दल नेपाली काङ्ग्रेसले आफ्नो भोट लिएको तर उसको भोट आफ्नो बाकसमा नहालिदिएको कारण धोका भएको झिनो गुनासो गरिरहेका छन् भने नेपाली काङ्ग्रेस आगामी आमनिर्वाचनमा त्यस्तो धोका नहुने बताइरहेको छ ।

कम्युनिष्टहरू समाजका सबभन्दा सचेत मानिस हुन् भनिन्छ । मार्क्सवादी वैज्ञानिक शिक्षा पाएका, लेनिनवादी सङ्गठनात्मक सिद्धान्त आत्मसात् गरेका मानिसहरू स्वाभाविक रूपमा सबभन्दा सचेत हुने नै भए । तर, यसको सही उपयोगमा ध्यान दिन भने आवश्यक छ । 

​​​​​​​

अहिलेको निर्वाचनका सन्दर्भले एउटा कथा सम्झना गराएको छ । एकपटक एक जना मानिस इनारमा खसेका रहेछन् । उनलाई इनारबाट बाहिर निकाल्न गाउँका युवा जम्मा भए । उनीहरूले ती मानिसलाई हात दिन भने । तर ती मानिसले कसै गर्दा पनि हात दिएनन् । पछि उनको स्वभाव थाहा पाएका व्यक्ति आएर भने– यिनले जीवनमा कसैलाई केही दिएका छैनन्, यिनी लिन मात्र जान्दछन्, दिन जान्दैनन् । पहिले तिमीहरू हात देऊ, अनि मात्र उनले हात देलान् । पहिले युवाहरूले हात दिए र उनलाई इनारबाहिर निकाले । नेपाली काङ्ग्रेसको चरित्र ती मानिसकै जस्तो छ । स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले गठबन्धनका सबै दलबाट आफूले मनग्य भोट लियो, तर आफूले दिएन । 

नेपाली काङ्ग्रेस अरूबाट फाइदा लिन माहिर छ, अरूलाई हतपत्ति फाइदा दिँदैन । ‘माले, मसाले र मण्डले उस्तै हुन्’ भन्ने गिरिजाप्रसाद कोइरालाकै पद चिन्हमा हिँड्ने नेपाली काङ्ग्रेस नेपाली कम्युनिष्टहरूलाई फुटाउन र कमजोर पारेर सत्ता कब्जा गर्ने दाउमा रहन्छ । यो उसको आम चरित्र हो । 

देशमा सामन्ती राजतन्त्रको शासन निर्मूल पार्न वाम–लोकतान्त्रिक सहकार्य गरिएको थियो । यथास्थितिवादी सामन्ती शक्तिभन्दा नेपाली काङ्ग्रेस प्रगतिशील मानिएको थियो । यो जायज थियो । तर, अहिले नेपाली काङ्ग्रेस आफै यथास्थितिवादी शक्तिमा रूपान्तरित भएको छ ।

आश्चर्य त के छ भने आफूलाई मुर्धन्य वामपन्थी ठान्ने केही नेतालाई यथास्थितिवादी काङ्ग्रेसकै नेतृत्वमा देशमा आमूल परिवर्तन हुन्छ भन्ने लागेको छ । समाजवादतिर मुलुकलाई लैजान सकिन्छ भन्ने लागेको छ । विद्रुप पुँजीवादको पक्षपाती, विश्व साम्राज्यवादी शक्तिको हिमायती शक्तिको चङ्गुलमा परेर अग्रगमन र सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको गफ दिने वाम नेताहरूलाई के भन्ने ? नेपालको कम्युनिष्ट आन्दोलनलाई धोका दिएर काङ्ग्रेसको पुलस्त्याइँ गर्ने वाम नेतालाई के उपमा दिने ?

विश्व कम्युनिष्ट आन्दोलनको एउटा निचोड छ– उग्र वामपन्थ कुनै पनि बेला उग्र दक्षिणपन्थमा परिणत हुन्छ । प्रचण्डलगायतका केही माओवादी पृष्ट भूमिका नेताको हकमा यो निष्कर्ष सही साबित भएको छ । कुनै बेला साम्राज्यवादको चर्को विरोध गर्नेहरू नै आज आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थको लागि उनीहरूकै काखमा लुटुपुटु गरेको नेपाली जनताले देखिसकेका छन् । वामपन्थको आवरणमा उनीहरूले गरिरहेको महाभूलको राम्ररी लेखाजोखा गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचनले सबैले सुन्ने गरी एउटा बिगुल बजाएको छ । त्यो हो– जनताको भावना विपरीत गरिएका गठबन्धन वा तय गरिएका उम्मेदवारलाई सचेत मतदाताले धुलो चटाउन सक्छन् । नेपाली जनता आफ्नो सार्वभौम अधिकार अब सचेतनापूर्वक प्रयोग गर्न सक्छन् । कुनै गठबन्धन वा पार्टीको उचित निर्णयलाई मात्र अनुमोदन गर्छन् । 

कम्युनिष्टहरू समाजका सबभन्दा सचेत मानिस हुन् भनिन्छ । मार्क्सवादी वैज्ञानिक शिक्षा पाएका, लेनिनवादी सङ्गठनात्मक सिद्धान्त आत्मसात् गरेका मानिसहरू स्वाभाविक रूपमा सबभन्दा सचेत हुने नै भए । तर, यसको सही उपयोगमा ध्यान दिन भने आवश्यक छ । 

संस्कृतमा एउटा भनाइ छ– पयोपानं भुजङ्गानाम् केवलम् विष वर्धनम् । अर्थात् सर्पलाई दूध पिलाउनु विष बढाउनु मात्र हो । एमाले वा एमाले अध्यक्ष के पी शर्मा ओलीको रिसले काङ्ग्रेसको पक्षपोषण गर्नु भनेको यस्तै कुरा हो भन्ने वाम सचेत मतदाताले कसो नबुझ्लान् र ? अवश्य बुझ्नेछन् । 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ८ : १२ बजे