‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गाउँपालिकाले बालगृह खोल्ने

बागलुङ।  तमानखोला गाउँपालिकाले एमबिबिएस पढ्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नयाँ जनप्रतिनिधि आएपछि सोमबार बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो । 

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिमा प्राथमिकता दिइने उल्लेख गर्नुभयो । एमबिबिएस अध्ययन पूरा गरेपछि पाँच वर्ष गाउँपालिकाकै स्वास्थ्य संस्थामा सेवा गर्ने गरी वर्षमा एक जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको उहाँको भनाइ छ । त्यसबाट चिकित्सा शिक्षामा गाउँका विद्यार्थीको पहुँच र योग्य स्वास्थ्य जनशक्ति उत्पादनमा सघाउ पुग्ने गाउँपालिकाले विश्वास छ ।

यस्तै तमानखोलाले अभिभावकविहीन र असहाय बालबालिकालाई लक्ष्य गरी तत्कालै बालगृह सञ्चालनमा ल्याउने भएको छ । त्यस्ता बालबालिकालाई सुरक्षित आवास, पालनपोषणसँगै कक्षा १२ सम्म निःशुल्क पढाउने गरी बालगृह सञ्चालन गर्न लागिएको अध्यक्ष बुढाको भनाइ छ । 

“बुबाआमा गुमाएका र अति गरिब, विपन्न परिवारका बालबालिका जो पढाइबाट वञ्चित छन्, उनीहरुको पहिचान गरी बालगृहमा राखेर उचित हेरचाह, लालनपालनसहित कक्षा १२ सम्म निःशुल्क पढ्ने व्यवस्था गाउँपालिकाले मिलाउँछ”, उहाँले भन्नुभयो ।

यही शैक्षिक सत्रदेखि अभिभावकविहीन बालबालिकाको खोजी र पहिचान गरी बालगृहमा राखिने गाउँपालिकाले जनाएको छ । आफ्नै संरचना नबनुञ्जेल भाडाको भवनबाट बालगृह सञ्चालन गरिने अध्यक्ष बुढाले बताउनुभयो । युवाहरुलाई उद्यम र आयआर्जनतिर जोड्न गाउँपालिकाले युवालक्षित व्यावसायिक प्रोत्साहन कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।

 उद्यम, व्यवसायमा लाग्ने युवाहरुलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपलब्ध गराउन पहल गर्ने र उक्त कर्जाको ऋण गाउँपालिकाले तिरिदिने निर्णय गरिएको हो । युवाहरुलाई गाउँमै स्वरोजगार बनाउने उद्देश्यसहित गाउँपालिकाले सो योजना अघि सारेको हो । उद्यमको योजना, कर्जाको सीमा र मापदण्डलगायतका विषय कार्यविधि बनाएर तोकिने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले आफ्नो चिनारी झल्काउने पालिका गान पनि तयार गर्ने निर्णय गरेको छ । स्थानीय सर्जक बिमला पुन घर्तीको रचनालाई सङ्गीत र स्वरबद्ध गरी पालिका गानका रुपमा प्रयोगमा ल्याउने निर्णय कार्यपालिका बैठकले गरेको हो । पालिका गानका रचयिता घर्तीलाई रु १५ हजारसहित सम्मानसमेत गरिने भएको छ । 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ३ : ३८ बजे