सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

झापामा १७ प्रतिशत मत बदर

झापा।  स्थानीय तहको निर्वाचनमा झापा जिल्लामा १७ दशमलव १८ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा मतदाता शिक्षाको कमी र चुनावी गठबन्धन दलका चुनाव चिह्नमा  मतदाता झुक्किँदा मत बदर बढी हुनगएको कार्यालयले जनाएको छ । 

विसं २०७४ को तुलनामा यस निर्वाचनको मत बदर सङ्ख्या दोब्बर हुन पुगेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा ९ दशमलव ६५ प्रतिशत मात्र मत बदर भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार जिल्लामा सबैभन्दा बढी मत बदर उपप्रमुख, सदस्य र दलित महिला सदस्य पदका उम्मेद्वारको भएको छ । पन्ध्र पालिका रहेको जिल्लामा खसेको कूल मत सङ्ख्या चार लाख ५५ हजार २६८ मध्ये यी तीनै पदको उम्मेदवारको मत बदर सङ्ख्या २० प्रतिशतको दरले रहेको उहाँको भनाइ छ । 

उहाँले प्रमुख पदमा ५७ हजार ९४५, उपप्रमुखमा ९४ हजार ८५६, वडाध्यक्षमा ५२ हजार ४६३, महिला सदस्यमा ७९ हजार १८८, दलित महिला सदस्यमा ९१ हजार १८४ र खुल्ला सदस्यमा एक लाख ८७ हजार ३६१ मत बदर भएको बताउनुभयो । 

कार्यालयका सूचना अधिकारी न्यौपानेका अनुसार कूल खसेको मतको १७ दशमलव १८ प्रतिशतम बदर भएको थियो । जिल्लामा छ लाख ४६ हजार २३४ मतदाता सङ्ख्या रहेकामा ७० दशमलव ४८ प्रतिशत अर्थात चार लाख ५५ हजार ४७६ जनाले मात्र मतदान गरेका थिए । 

 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १२ : ५८ बजे