सुनको मूल्यमा नयाँ कीर्तिमान

ठूलो संख्यामा चिकित्सा क्षेत्रका परीक्षार्थीहरु अनुत्तीर्ण

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्स परीक्षामा दुई तिहाई भन्दा बढी अनुत्तीर्ण भएका छन् ।

काउन्सिलले जेठ १२ देखि तीन दिनसम्म लिएको परीक्षामा सहभागीमध्ये ६८.४८ प्रतिशत अनुत्तीर्ण भएका हुन् । मुलुक बाहिरबाट समेत पढेर आएका ११ सय ५५ जना एमबीबीएस डाक्टरमध्ये ३ सय ६५ जना मात्र पास भएका छन् ।

दन्त चिकित्सा बीडीएस गरेकाहरूको लाइसेन्स परीक्षामा पनि ६६ प्रतिशत अनुत्तीर्ण भएका छन् । परीक्षामा सहभागी ३ सय ३९ मध्ये १ सय १३ जना उत्तीर्ण भएका छन् । काउन्सिलले दुई दशकदेखि एमबीबीएस र बीडीएस गरेकाहरूका लागि लाइसेन्स परीक्षा लिँदै आएको छ । सर्वोच्च अदालतले २०५८ फागुन २५ पछि एमबीबीएस पढेर आउने सबैलाई लाइसेन्स परीक्षा अनिवार्य हुने आदेश दिएपछि चिकित्सा अभ्यासका लागि लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ ।

चिकित्सा क्षेत्रका जानकारहरू ठूलो संख्यामा परीक्षार्थी अनुत्तीर्ण हुँदा समग्र मेडिकल शिक्षा गुणस्तरमै प्रश्न उठ्ने बताउँछन् ।

केही वर्षयता एमबीबीएस र बीडीएस अध्ययन पूरा गरेर चिकित्सकीय अभ्यासका लागि काउन्सिलको लाइसेन्स परीक्षामा सहभागीमध्ये करिब आधा परीक्षार्थी मात्र उत्तीर्ण हुने गरेका छन् । सन् २०१९ मा त एमबीबीएस पूरा गरेकामध्ये ७५ प्रतिशत अनुत्तीर्ण भएका थिए । काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार काउन्सिलमा १७ हजार ५२ जना एमबीबीएस र ४ हजार ८१ जना बीडीएस गरेका दन्त चिकित्सक गरी ३० हजार १ सय ३३ जना डाक्टर दर्ता छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ९ : ५४ बजे