‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अर्थमन्त्रीको बजेट भाषण : मेलम्चीवासीलाई आलो घाउमा छर्किएको नुन 

काठमाडौँ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी ७९/८० को बजेट प्रस्तुत गरे । झन्डै ३ घण्टा लगाएर संसद्मा प्रस्तुत गरेको बजेट भाषणमा बाढीले थङथिलो भएको मेलम्चीवासीको पक्षमा एक शब्द पनि आएन । २०७८ असार १ र त्यसपछि आएको बाढीले भग्नावशेष अवस्थामा परिणत भएको मेलम्ची हेलम्बु क्षेत्र बाढी आएको ११ महिना बितिसक्दा पनि ज्युँ का त्युँ छ । नेताहरूको मेलम्ची उठाउँछौ भन्ने खोक्रो आश्वासनै आश्वासनले थिच्चिरहेका बाढी पीडितहरू सरकारको आर्थिक वर्षको बजेटले गिज्जिरहेका छन् । आगामी आर्थिक वर्षको बजेटमा पीडितहरूका नाउँमा केही सम्बोधन हुन्छ कि भन्ने आशा थियो । तर,पीडितको त्यो आशा पनि बाढीको भेलमै परिणत भयो । 

सिन्धुपाल्चोकका नेताले नदेखाएको तदारुकता 

यसो त सिन्धुपाल्चोकमा नेताको कमी भएको भने होइन । सभामुखदेखि प्रदेश केन्द्रसम्म विभिन्न मन्त्रालयमा मन्त्री भएर काम गरेका नेताहरू सिन्धुपाल्चोकमा प्रशस्तै छन् । हालका सभामुख अग्नि प्रसाद सापकोटा पनि यहीँ क्षेत्रका हुन् । पूर्व कानु नमन्त्री,पूर्व स्वास्थ्य मन्त्री,हालका नेकपा एमालेका बहालवाला नेता शेरबहादुर तामाङ पनि यहीँ क्षेत्रका हुन् । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा,राज्यमन्त्री इन्द्रमाया गुरुंङ बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल पनि यहीँ क्षेत्रबाट लडेर सांसद बने । तर,बाढी पीडितका लागि भने मन्त्री र नेताले काम गर्न सकेनन् । हालका प्रधानमन्त्री शेरबहादुर देउवा अर्थमन्त्री जनार्दन शर्मासँग जिल्लाका नेताले फोटो खिचाएर फेसबुकमा पोस्ट गर्न नभ्याएका पनि होइनन् । तर,मेलम्चीवासीका नाउँमा भने १ रुपैयाँ बजेट भित्र्याउन सकेनन् । 

नेताको फेसबुके र देखावटी प्रचार 

सांसद,नेता मन्त्रीले बहालवाला मन्त्री प्रधानमन्त्री अर्थमन्त्रीलाई न भेटेको भने होइनन् । बाढी पीडितका लागि गर्‍यौ भनेर जालीमा ढुङ्गा भरे झैँ गर्ने नेताको कमी छैन यहाँ । काम गरेको जस्तो गर्ने र आसेपासेले फोटो खिचेर फेसबुकमा वाह वाह बटुल्नेदेखि दिक्क छन् पीडितहरू । 

न बने घर न बने पुल 

मेलम्ची बाढीले हेलम्बु र मेलम्चीमा झन्डै ३० अर्बभन्दा माथिको क्षति गर्‍यो । हेलम्बु नदी किनारामा रहेका घर र मेलम्ची बजारका अधिकांश घर खण्डहर र भग्नावशेष अवस्थामा परिणत भए । मेलम्चीमा बाढी आएपछि नेता मन्त्री तत्कालीन बहालवाला प्रधानमन्त्री नगएका भने होइनन् । बाढी पीडितका लागि जनही ५ लाख सरकारले दिने भनेको पैसा सत्ता परिवर्तनसँगै पीडितहरूले पाउन सकेका छैनन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा उथलपुथल पारिदिने चुनावी आश्वासनमा पीडितहरूले केही हदसम्म विश्वास गरेका थिए । तर,अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमा मेलम्चीवासीको नाम लिन नचाहे पछि भने पीडितहरू दिक्क बनेका छन् । बाढीले बगाएको ३ वटा पुल मध्ये चनौटेमा बेलिबृज बाहेक अरूमा ढ्वाङ्ग मात्र हालेर सवारी साधन आवत जावत गराइरहेको छ । मेलम्ची र इन्द्रावतीको सिमाना जोड्ने पुल नै नबन्दा पीडितहरू थप चिन्तित छन् । ढ्वाङ्ग मात्र हालेर सवारी साधन आवत जावत गराइरहेको इन्द्रावतीको सिमानाको रूपमा रहेको पुल नबन्दा नागरिक चिन्तित बनेका हुन् ।  योसँगै बर्खा याममा मेलम्ची र इन्द्रावतीको सम्पर्क टुट्ने प्रस्ट छ । तर,न स्थानीय तहले कुनै तदारुकता देखायो न केन्द्रीय सरकारले नै । पटक पटक सडक विभागलाई भन्दा पनि नगरेको जनप्रतिनिधिको गुनासो छ । 

यसो त सरकारले मेलम्ची खानेपानी विकास समिति समेत खारेज गरेको छ । काकाकुल बनेका राजधानीवासीलाई मेलम्चीकै पानी लैजाँदा पनि सरकारको बजेटमा पीडितहरू समेटिन नसक्नु लज्जास्पद विषय बनेको छ । सिन्धुपाल्चोकमा त्यतिका नेता सांसद हुँदा समेत पीडितका नाउँमा बजेट पार्न नसक्नु नेताहरूकै लागि पनि लाजको विषय बनेको छ । 

 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ४ : २२ बजे