काठमाडौँ । अखिल नेपाल महिला संघ, सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिको आयोजनामा महिला हिंसा अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन तथा परिमार्जन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलको सभाहलमा सम्पन्न कार्यक्रमको अध्यक्षता सम्मेलन आयोजक समितिका संयोजक थममाया थापा र सञ्चालन आयोजक समितिका सचिव सुजिता शाक्यले गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य डा.विन्दा पाण्डेको मुख्य प्रस्तुति रहेको थियो । कार्यक्रममा नेकपा एमाले मोर्चा संगठनका इन्चार्ज भानुभक्त ढकाल प्रमुख अतिथि हुनुहुन्थ्यो ।
सल्लाहकार परिषद्का उपाध्यक्ष गोमा देवकोटा, पार्टी र अखिल नेपाल महिला संघका नेताहरूले विषयकेन्द्रित विचार राख्नुभएको थियो ।
प्रस्तुति र अन्तर्क्रियामा हिंसाको परिभाषा, मुलुकी अपराध संहिता २०७४ का प्रावधान, हिंसाका घटना, परिपूरण सम्बन्धी कामहरू आदि विषय रहेको थियो । संशोधन प्रस्तावमा मिलापत्र गर्न नहुने, गराएमा सजाय हुने, जरिवानाको रकम पीडितलाई दिनुपर्ने आदि संशोधन प्रस्ताव अघि सारिएको छ । हदम्याद सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासको अवस्थाबारे पनि चर्चा गरिएको थियो । हदम्यादबारे पुनरावलोकनको माग गरिएको छ । जसमा उमेर अनुसार फरक व्यवस्था हुनुपर्ने, हाडनाता करणीका सन्दर्भमा हदम्याद हटाउनुपर्ने प्रस्ताव गरिएको छ ।
प्रस्तुतिका क्रममा अपराधको प्रकृति हेरी पीडकलाई निम्नानुसार सजायको व्यवस्था हुनुपर्ने प्रस्ताव अघिसारिएको छ :
१.रासायनिक वन्ध्याकरण
२.श्रमशिविर सहितको कारावास
सर्वस्व सहित कारावास
३.आजीवन कारावासको व्यवस्था गर्नुपर्ने माग रहेको छ ।
महिला हिंसा रोकथामका लागि पालिकाको पहलमा सामाजिक संघसंस्था, विद्यालय, क्याम्पस आदिलाई समेटेर कानुनी सचेतना अभियान सञ्चालन गर्नपर्ने सुझाव रहेको छ ।
सचेतना विस्तार, कडा कानुनी प्रावधान र प्रभावकारी कार्यान्वयनसमेतको माध्यमबाट संरचनागत सुधार गरी पीडितमैत्री राज्य संरचना निर्माण गर्नुपर्छ ।
प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार २ : ३३ बजे
प्रतिक्रिया