हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

सम्राटलाई आरुको रुखमै झम्टेर लगेको थियो चितुवाले

अर्घाखाँची । सन्धिखर्क ४ अमलडाँडामा रहेको मावली घर बसेर पढ्दै गर्नुभएका सम्राट नेपाली बिहीबार स्कुलबाट घर आउनासाथ आरू टिप्न बारीतर्फ लाग्नुभयो। आरू टिपेर प्लास्टिक भर्नुभयो । घर लगेर आरू खाने तयारीका साथ फर्कने सुर गर्नुभएका उहाँ आरुको रुखमै चितुवाको सिकार बन्न पुग्नुभयो । आरुको रुखबाटै चितुवाले झम्टिएर लगेका नेपालीको शव सोही राति करिब ८ बजे क्षतविक्षत अवस्थामा फेला परेको छ ।

नेपालीले आरूले भरेर राखेको प्लाष्टिक अझै पनि बोटमा झुन्डिएको छ । आरू  प्लास्टिकमा झुन्डिएको  दृश्यले जोकोहीको पनि आँखा रसाउँछन् । गुल्मी रेसुंगा नगरपालिका  घर भएका सम्राट दुई वर्षदेखि आमा र दिदीसँग मावली घर बस्दै आइरहनभएको थियो । आठ वर्षीय बालक स्थानीय भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत हुनुहुन्थ्यो । 

तीन महिनाअघि बालक नेपालीका बुवाको जीवन नेपालीको भिरबाट लडेर ज्यान गएको थियो । बुवालाई गुमाएको तीन महिनामै आठ वर्षको छोरालाई गुमाउनुपर्दा नेपाली परिवार यतिवेला विक्षिप्त बनेको छ । दिउँसै बालक चितुवाको सिकार बनेपछि यस क्षेत्रका बालबालिकामा मनोवैज्ञानिक त्राससमेत बढेको छ । विद्यार्थीहरू विद्यालय जानसमेत डराउन थालेका छन् । 

अर्घाखाँचीमा चितुवाले बालबालिका खाएको यो नौलो घटना भने होइन । विगतका वर्षहरूमा अर्घाखाँची जिल्लाको सन्धिखर्क, किमडाँडा, ढिकुरालगायतका स्थानमा चितुवाको आक्रमणबाट दर्जनौं बालबालिकाको ज्यान गइसकेको छ । चितुवा बुढो भएपछि वनमा सिकार खेल्न नसक्ने भएकाले सजिलो बाटोमा लागेको विज्ञहरू बताउँछन् । चितुवाको आक्रमणबाट बच्नका लागि घर नजिकका झाडी बुट्यान सफा गर्न र साँझ परेपछि बालबालिकालाई एक्लै नछाड्न विज्ञहरूको सुझाव छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १२ : ०९ बजे