राजमार्गमा दृष्य एक, पीडा अनेक

उदयपुरमा ट्रक दुर्घटना, चार जनाको  घटनास्थलमै मृत्यु

उदयपुर । सिद्धिचरण लोक मार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरे स्थित चनौटमा आज बिहान ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सोमबार बिहान २ः३० बजे दुर्घटना हुँदा ट्रकमा सवार चालकसहित चार जनाको मृत्यु भएको हो ।

मकवानपुरको हेटौँडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना.८ख८२९७ नम्बरको लोबेड ट्रक बिहान २ः३० बजे भदौरे चनौट खोला नजिक दुर्घटना जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिनुभयो ।

दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान तामाङ, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कच्ची सडकमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

प्रहरीले स्थानीयवासीको सहयोगमा सब बाहिर निकाल्ने प्रयास जारी राखेको छ । शव यत्रतत्र छरिएकाले सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । 

घटनास्थल कटारी बजारबाट करिब ४० किलोमिटरको दुरीमा रहेकाले कटारीबाट इलाका प्रहरी कार्यालयको टोली भर्खर पुगेको बताइएको छ ।  ट्रकमा कति जना सवार थिए भने यकिन भई नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ९ : ५८ बजे