‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गणतान्त्रिक पुस्ताका लागि नयाँ शिक्षा 

गणतान्त्रिक पुस्ताका लागि नयाँ शिक्षा किन ? भन्ने प्रश्नमा केन्द्रित रहेर शिक्षा व्यवस्थाका बारेमा चिन्तन मनन अर्थात् विवेचना गर्न थाल्यौँ भने शैक्षिक क्रान्तिको अनिवार्यतालाई बुझ्न र बुझाउन सकिन्छ । आजको शिक्षाले हामीलाई प्रश्न गर्नबाट वञ्चित गरेको र बनिबनाउ उत्तरको चक्रव्यूहमा फसाएको छ । अनि हामी हिजोभन्दा आज बढी व्यक्तिवादी, असहिष्णु, हिंस्रक र विवेकहीन बन्दैछौ अनि समाजलाई निरन्तर पछाडि पार्दैछौ । यति मात्र होइन, लोकतान्त्रिक प्रक्रिया प्रयोग गरेर दक्षिणपन्थी यथास्थितिवादीहरूको स्वार्थमा लोकतन्त्रमाथि प्रश्न उठाउने वातावरण तयार गर्न खोज्दैछौ ।

आज जुन खालको शिक्षा नीति र व्यवस्था कायम छ, त्यो सान्दर्भिक छैन, वैज्ञानिक छैन, पर्याप्त छैन, अपुरो छ र कर्मकाण्डी पाराको छ । यसले मान्छेलाई केवल शिक्षित (अक्षर मात्र चिन्ने) बनाएको छ, तर साक्षर (जीवन र जगत बुझ्ने) भने बनाउन सकेको छैन । मानिसमा जागिरे मनोविज्ञान अर्थात् दास मनोवृत्ति विकास गरेको छ, त्यो पनि सीप र क्षमताविहीन अर्थात् शिक्षालय सीपविहीन शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना मात्र भएको छ, अर्थात् वर्तमान शिक्षाले मान्छेलाई निरन्तर कमजोर र परनिर्भरतामा बाँच्न बाध्य बनाउँदै छ ।

आजको शिक्षाले कमसल र औसत प्रकृतिको नागरिक तयार गरिरहेको छ । यसले मान्छेलाई कुनै जीवन दर्शन सिकाउँदैन । मान्छेलाई घातक बनाउँदै छ, किनभने यसले खुसी हुन, सहयोगी बन्न, व्यावहारिक र आशावादी हुन सिकाउने परिकल्पना नै गरेको छैन । त्यसैले त मान्छे अस्वस्थ प्रतिस्पर्धामा रमाउँदै छ । त्यतिमात्र हैन, मान्छेलाई संवेदनहीन पनि बनाएको छ । मानौँ, रोबोट तयार गरिरहेको छ । जसमा न बन्धुत्वको प्रेम भाव छ न त सहअस्तित्वको भावना नै । अरूभन्दा आफू श्रेष्ठ र विशिष्ट हुने प्रतिस्पर्धा गराएर खराब महत्त्वाकाङ्क्षा विकास गर्न मद्दत गरिरहेको छ । कतिसम्म भने मान्छेलाई आफूसँग आफैँ सङ्घर्ष गर्न बाध्य बनाइएको छ । मान्छेलाई साँघुरो घेरामा बाँच्न सिकाएको छ । फलतः मान्छेमा दानवीय स्वभाव र प्रवृत्तिको विकास भइरहेको छ । जुन द्वन्द्व र हिंसाको मूल कारण हो ।

अब प्रश्न उठ्छ, कस्तो शिक्षा ? उत्तर खोज्न हामीले निम्न पक्षहरूमा स्पष्ट हुनै पर्छ:
​​​​​​​१. शिक्षाको दार्शनिक, सांस्कृतिक, ऐतिहासिक, वैज्ञानिक र सामाजिक पक्ष
२. शिक्षाको राष्ट्रिय लक्ष्य, उद्देश्य र परिकल्पना
३. शिक्षा नीति, कानुन, योजना र व्यवस्था
४. पाठ्यक्रम र सन्दर्भ शैक्षिक सामाग्रीहरू
५. शैक्षिक जनशक्तिको विकास र तालिम
६. विद्यार्थीको शैक्षिक उपलब्धि र शिक्षकको दक्षता मूल्याङ्कन प्रणाली

वर्तमान शिक्षा व्यवस्थाले दीर्घकालीन राष्ट्रिय दृष्टिकोण, आवश्यकता र मान्यता, विद्यार्थीहरूको परिवेश, इच्छा र क्षमता अनि सन्दर्भहरूलाई बेवास्ता गरेको छ । पाठ्यक्रम र शैक्षिक सामाग्रीहरू सान्दर्भिक र व्यावहारिक छैनन् । अधिकांश शैक्षिक जनशक्ति नयाँ पुस्तालाई प्रशिक्षित गर्ने क्षमता राख्दैनन् र इच्छा पनि देखाउँदैनन् । शिक्षक तालिमको मोडल पनि पुरानो [out dated] छ । शिक्षकको दक्षता र विद्यार्थीको शैक्षिक उपलब्धि मापन गर्ने प्रणाली अव्यवहारिक छ । जबसम्म हामी यथास्थितिमै सुधारको परिकल्पना गरेर शिक्षामा लगानी गरिरहन्छौँ, तबसम्म समय, नयाँ सन्दर्भ र आवश्यकताहरूलाई सम्बोधन गर्ने परिस्थिति बन्दैन । अनि नागरिकको मनस्थिति र देशको परिस्थिति पनि सकारात्मक र रचनात्मक बन्दैन । अर्को कुरा, शिक्षाले हामीलाई नेपाल चिनाउन नै सकेको छैन । तसर्थ नयाँ पुस्ताका लागि नयाँ शिक्षा किन ? भन्ने प्रश्न उठाउने, नयाँ शिक्षा व्यवस्थाका पक्षमा पैरवी गर्ने, अनुभव, अभ्यास र विकासका आधारमा नीति, कानुन र व्यवस्थापनमा परिमार्जन गर्ने अनि सो बमोजिम लगानी सुनिश्चित गर्नै पर्ने भएको छ । शिक्षाको कुरा गरिरहँदा यसको दार्शनिक पक्ष, शिक्षाको राष्ट्रिय उद्देश्यका बारेमा पनि चर्चा आवश्यक छ । अनि मात्र प्रणाली पाठ्यक्रम व्यवस्थापनका बारेमा चिन्तन गर्न सजिलो हुन्छ ।

आज हाम्रो नयाँ पुस्ता यो शिक्षाले हामीलाई बरबाद पार्दैछ भनेर बहिष्कार गर्ने अवसर खोज्दैछ । अवसर भेटेको दिन नयाँ पुस्ताले शिक्षाको बहिष्कार मात्र गर्ने छैन, राज्य प्रणालीमाथि नै प्रश्न उठाएर विद्रोहमा होमिन सक्छ । क्रान्तिको आवरणमा फेरि पनि युवाहरू प्रयोग हुन सक्छन् । देशले एक पटक एक दशक ध्वंस र विद्रोह बेहोरी सकेको छ । अब फेरि देशलाई त्यस्तो ध्वंसात्मक विद्रोहमा जान नदिन नयाँ शिक्षा व्यवस्थाको विकास गर्नै पर्ने भएको छ । यसका साथै २०६२÷६३ को राजनीतिक परिवर्तनले बढाएको जनअपेक्षाको सम्बोधन गर्ने गरी आर्थिक, प्रशासनिक, न्यायिक र सामाजिक व्यवस्थामा पनि आमूल परिवर्तन अनिवार्य भएको छ, अर्को कुनै बाटो वा उपाय छैन । आज हामीलाई कोभिड—१९ ले बढाएको जोखिम र त्राससँगै सम्बन्धित क्षेत्रमा परिवर्तन गर्ने अवसर पनि जुटाइदिएको छ । भारतसँगको सीमा विवादले त झन् नेपाल चिनाउने र बुझाउने शिक्षाको अनिवार्य आवश्यकतालाई बोध गराएको छ ।

नेपालको शिक्षा व्यवस्थामा जति जति मात्रामा पूर्वीय दर्शनको प्रभाव कमजोर भयो, त्यति त्यति यो विवादित र निस्प्रभावी बन्दै आयो । जसले गर्दा हाम्रो ऐतिहासिक, भाषिक तथा सांस्कृतिक विविधता र सामाजिक अवस्थाका बारेमा विद्यार्थीहरूले जान्ने र प्रयोग गर्ने अवसर नै पाएनन् । शिक्षामा व्यावहारिक र वैज्ञानिक पक्षले प्राथमिकता नै पाएन । सान्दर्भिकताको त ख्याल नै गरिएन । वास्तवमा शिक्षा खराब नीति र दर्शनबाट निर्देशित भइरह्यो । विगतलाई बिर्सन, वर्तमानलाई भद्रगोल र भविष्यलाई अनिश्चित बनाउन शिक्षा सहयोगी बन्यो । यति मात्र कहाँ हो र, हाम्रो शिक्षाले नागरिकलाई देश चिनाउन र बुझाउन नै सकेन । नागरिक निर्यात गरेर वस्तु आयात गर्ने नीतिबाट शिक्षा व्यवस्था र राज्य निर्देशित भयो । फेरि भोलिका लागि आज त्याग गर्नुपर्छ, स्वाभाविक नै हो । तर वर्तमानको मूल्यमा भविष्य बनाउन सिकाउने शिक्षाले समस्या बढायो । वास्तवमा वर्तमान र आफ्नोपनबाट सिकाउँदै, हुर्काउँदै भविष्य बुझाउने र नयाँ कुरा सिकाउने पद्धतिको विकास र प्रयोग सहज बनाउनु पर्थ्यो  ।

देश कस्तो बनाउने भन्ने कुराको निर्धारण हामीले कस्तो खालको शिक्षा दीक्षा दिइरहेका वा पाइरहेका छौँ भन्ने दर्शनमा भर पर्छ । तर हाम्रा शिक्षालयहरूको उत्पादन देशका लागि भन्दा परदेशको आवश्यकतालाई परिपूर्ति गर्ने दृष्टिकोणबाट निर्देशित देखिन्छन् । तर पनि हामी विप्रेषणमुखी आर्थिक र नागरिक निर्यातमुखी शैक्षिक नीतिले हिजोभन्दा आज देश कमजोर भइरहेको तथ्यलाई ख्यालै नगरी द्रुत दिगो विकासको कुरा गरिरहेका छौँ । यो खालको खोटपूर्ण दर्शन, नीति र व्यवहार फेर्नै पर्छ । अनि शिक्षा व्यवस्थामा आमूल परिवर्तन अनिवार्य भएको छ भनेर नेतृत्वलाई बुझाउन सक्ने प्राज्ञिक वर्ग पनि भेटिएन । ऊ त क्षमता र प्रभाव प्रयोग गरेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न क्रियाशील भइरह्यो । जसले गर्दा राज्य र अभिभावकले यथास्थितिमा सुधारलाई परिवर्तन भन्दै र मान्दै समय, साधन र स्रोतहरू खेर फालिरहन बाध्य भए । यो हाम्रा लागि चिन्ताको विषय हुनुपर्थ्यो, तर आजसम्म चिन्ताको विषय बनेको छैन । 

जे हुनु भइसक्यो, हामी विगतका प्रश्न तथा समस्याहरूमा अल्झिएर वर्तमानलाई अरू समस्याग्रस्त बनाएर कार्यशील भइरहन सक्दैनौँ । बरु विगतबाट सिकेर सुझबुझका साथ वर्तमानलाई परिष्कृत गर्दै भविष्यलाई सुरक्षित बनाउन सक्छौँ । त्यसैले आशावादी भएर विगतबाट सिक्दै अघि बढ्नु बाहेक अर्को विकल्प हामीसँग छैन । लोकतान्त्रिक गणतन्त्रमा यस खालको चुनौती र अवसरलाई ठिक ढङ्गले बुझेर विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षामा आमूल परिवर्तन गर्न शिक्षा मन्त्रालयले सक्रिय पूर्ण नेतृत्व लिन सक्नै पर्छ । शैक्षिक माफियाहरूबाट अभिभावक लुटिने र विद्यार्थीहरू पीडित भइरहने क्रमलाई अन्त्य गर्नै पर्छ । 

फेरि संवैधानिक व्यवस्थाले शिक्षामा निशुल्कीकरणको जुन प्रबन्ध गरेको छ, त्यो सान्दर्भिक छैन र न्यायोचित पनि छैन भनेर नेतृत्वलाई बुझाउनुपर्छ । नो लञ्च फ्री भन्ने यथार्थलाई स्विकारेर शिक्षामा अभिभावकहरूको समानुपातिक योगदान तथा लगानी सुनिश्चित पनि गर्नुपर्ने भएको छ । त्यसैले “शिक्षाको चरित्र बदलौँ, नागरिक र नेतृत्वको प्रवृत्ति र दृष्टिकोण पनि बदलिन्छ, अनि स्वतः देशको चित्र पनि बदलिन थाल्नेछ।” भन्ने वास्तविकतालाई मन, वचन र कर्मले स्विकारौँ । शिक्षाको माध्यमबाट लोकतान्त्रिक गणतन्त्र जनमुखी र समृद्ध नेपाल, सुखी नेपाली बनाउने बलियो आधार तयार गर्दै बाह्य हस्तक्षेपलाई सहज बनाउन खोज्ने पात्र, प्रवृत्ति र प्रभावहरूबाट देश जोगाऔँ। 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ९ : १२ बजे