आन्तरिक हवाई उडानमा अत्यधिक चाप

ताराको जहाज मुस्ताङको लार्जुङ खोचमा

काठमाडौं  । तारा एयरको जहाज  मुस्ताङको थासाङ गाउँपालिकाको लार्जुङ वा नौराकोट भन्ने ठाउँमा दुर्घटनामा परेको सूचना प्राप्त भएको छ । 

वायुसेवा संञ्चालक संघले हराइरहेको तारा एयरको जहाज मुस्ताङको लार्जुङ क्षेत्रमा भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको जनाएको छ । 

संघका प्रवक्ता योगराज शर्मा कँडेलले तारा एयरको ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा जान मात्रै नसकेको बताउनुभएको हो । 

स्थानीयहरुले पनि विमान थासाङको नाउरिकोटमा दुर्घटनामा परेको हुनसक्ने बताएका छन् । दुर्घटनापछि आएको आवाजलाई मध्यनजर गर्दै उनीहरुले यस अघि मुस्ताङमा हिमपहिरो गएको क्षेत्र नजिकै नाउरिकोटमा विमान दुर्घटनामा परेको अनुमान गरिएको बताए । लार्जुङ र नाउरिकोट नजिकैका क्षेत्रहरु हुन् ।  

त्यहाँका एकजना शिक्षक वीरेन्द्र लामिछानेका अनुसार लार्जुङमा एसेम्ब्ली गर्ने बेला आवाज आएको थियो ।

‘हामी एसेम्ब्ली गर्दै थियौं । स्कुलमाथि तिर जहाजको आवाज आइरहेको थियो । केही साथीहरूले डोल्पा हिड्न लागेको भनेर ठट्टा गर्नुभयो । एकजनाले यो अब हराउने भयाे भनेर पनि चर्चा गर्नुभयो,’ उनले भने, केहीबेरमा आवाज आयो । जहाज सम्पर्कविहीन भएको समाचार पनि सुन्यौं ।’

उनका अनुसार अहिले त्यस क्षेत्रमा हेलिकोप्टर घुमिरहेको छ । ‘हेलिकोप्टर घुमिरहेको छ । लार्जुङको खोंच हामी यहाँबाट जान सजिलो छैन । कहाँनिर खस्यो भन्ने थाहा छैन । यहिँ निर खसेको भन्ने आशंका छ,’ उनले भने, ‘म बसेको ठाउँबाट आर्मीहरु धेरै गइरहेका छन् ।’ यो थासाङ गाउँपालिकाको वडा नम्बर २ कोवाङ नजिक पर्छ ।

तारा एयरको आज बिहान ९ः ५५ मा पोखराबाट उडेको उक्त जहाज उडेको १२ मिनेटमै सम्पर्कविहीन भएको थियो । यो जहाजमा चालक दलका ३ सदस्यसहित १९ यात्रु छन् ।

बिहान ९: ५५ बजे जोमसोमको लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको तारा एयरको विमान अन्तिम पटक जोमसोम टावरसँग १०:०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपछि उक्त विमान सम्पर्कबिहीन भएको थियो । 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १ : ३४ बजे