आन्तरिक हवाई उडानमा अत्यधिक चाप

लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहन्छौँ : अध्यक्ष ओली 

​​​​​​​काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिनमा मुलुकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आधारित राजतन्त्रात्मक शासकीय व्यवस्थाबाट जनताको सर्वोच्चताको प्रणालीमा रूपान्तरण गरेको बताउनुभएको छ । 

​​​​​​​गणतन्त्र दिवस २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुहुँदै अध्यक्ष ओलीले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ताको स्रोत नेपाली जनतामा निहित रहने ऐतिहासिक उपलब्धि आजकै दिन हामीले हासिल गरेको बताउनुभयो । 

उहाँले ऐतिहासिक परिवर्तनपछि मुलुकले सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासकीय व्यवस्थाको अभ्यास गरिरहेको बताउनुभयो । 

उहाँले गत आम निर्वाचनबाट बनेको नेकपा (एमाले)को सरकारले नयाँ संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको बताउनुभयो । 

आपसमा निराशा बाँडेर बस्ने हाम्रो सामाजिक प्रवृत्तिलाई हामीले सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएका भन्नुहुँदै अध्यक्ष ओलीले नेकपा (एमाले)को सरकारका ऐतिहासिक प्रयासले राष्ट्रिय हितको संवर्द्धन, राष्ट्रिय स्वाभिमानको रक्षा र प्रवर्द्धन भएको बताउनुभयो ।

उहाँले राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरूमा संविधानप्रतिको स्वीकार्यता बढाउन सफलता प्राप्त गरेका भन्नुहुँदै संविधानमा निहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संरचनात्मक अभ्यासमा अनुवाद गरी मुलुकमा नवविनिर्माणको नयाँ युगको थालनी गरिरहेको बताउनुभयो । 

उहाँले जनादेशद्वारा स्थापित हाम्रो नेतृत्वमा भएका यस्ता युगान्तकारी कामहरूले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

सिङ्गो राष्ट्रलाई समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यतर्फ अघि बढाएका बताउँदै अध्यक्ष ओलीले जनताको बलिदानी पूर्ण सङ्घर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अङ्गहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या /अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको बताउनुभयो । उहाँले मुलुकको दूरगामी यात्रालाई अलमल्याउँदै संविधान र संवैधानिक संस्थाहरूप्रतिको जनताको आस्थामाथि समेत चोट पुर्‍याएको बताउनुभयो । “आज मुलुकको विकासका सम्पूर्ण कामहरूमा अल्पविराम लागेका छन् र केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ता शक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्य स्रोतको दोहनले लिएको छ।”, उहाँले भन्नुभयो ।

नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्प बोकेको पार्टी हो भन्नुहुँदै अध्यक्ष ओलीले हामी राष्ट्रको यस आकाङ्क्षालाई पूरा गरेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहन्छौँ भन्नुभयो । 

उहाँले जनविरोधी शक्तिहरूका अनुचित दुष्प्रयासहरूले अवरोध पुर्‍याएर  थाती रहन पुगेका राष्ट्रिय समृद्धिका पाइलाहरूलाई उचाइमा पुर्‍याउने नेकपा (एमाले)को यस अभियानमा सम्पूर्ण पेसा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइहरूको साथ रहनेछ भन्ने मैले अपेक्षा समेत गर्नुभएको 

उहाँले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा पुनः शुभकामना व्यक्त गर्नुहुँदै यस अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दै लोकतान्त्रिक आन्दोलनका क्रममा घाइते हुनुभएका योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्नुभएको छ ।

​​​​​​​

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ८ : ०५ बजे