‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गठबन्धनको चारो, स्थापितको थुतुनो र लौरो विजयको चुरो कुरा

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित हुनुभएको छ । अप्रत्याशित रूपमा लौरो चुनाव लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएका साहको विजयसँगै पाँच दलीय गठबन्धन र मुलुककै ठुलो दल नेकपा एमालेका बारेमा विभिन्न टिक्का टिप्पणी सुरु भएका छन् । 

ठुलो र बलियो मानिएको पाँच दलीय गठबन्धन र बलियो सङ्गठन भएको एमालेका उम्मेदवारको पराजय हुनु र दल विहीन उम्मेदवारको जित हुनुमा पक्कै पनि धेरै कारणहरू थिए । आखिर के कस्ता कारण थिए त स्वतन्त्र उम्मेदवार बालेन र उनको लौरो विजय हुनुको प्रमुख कारणहरूबारे केही मुख्य कारण यस्ता थिए:

काँग्रेस भित्रको अन्तर्विरोध :

स्वतन्त्र उम्मेदवार बालेन साहको उदय हुनुमा सत्तासीन दल नेपाली काँग्रेस भित्रको अन्तर्विरोध प्रमुख कारण बन्यो  । काँग्रेसको १४ औँ महाधिवेशनमा काँग्रेसभित्र देखिएको अन्तर्विरोधको असर स्थानीय तहको निर्वाचनसम्म स्पष्ट प्रकट भयो । गठबन्धनको विरोधमा रहेको काँग्रेसको शेखर कोइराला परिवार र उनका शुभेच्छुकहरूको कुनै कुरा नसुन्नु र विजयको धङधङीमा अगाडि बढिरहेको देउवा समूहको टकराब यो निर्वाचनमा प्रकट हुन पुग्यो । 

महानगरका ३२ वटा वडामध्ये १९ वटाको वडा अध्यक्ष जितेर काठमाडौँमा ठुलो दल बनेको नेपाली काँग्रेसले प्रमुख पदमा भने अपेक्षाकृत मत नपाउनु भनेको काँग्रेसी कार्यकर्ताहरूले सबैभन्दा बढी मत बालेनलाई दिएको स्पष्ट हुन्छ । 

काँग्रेसभित्रको अन्तर्विरोध मुख्यतया कोइराला भर्सेज देउवाको हो । महाधिवेशनका अन्तिम समयमा एकाएक प्रकाशमान सिंहले आफ्नो स्वार्थका लागि देउवा गुटमा आफूलाई उभ्याएदेखि नै  काँग्रेसको शेखर कोइराला समूह रुष्ट थियो । अवसरका लागि अन्तिम समयमा देउवा गुटमा पुगेर महाधिवेशनकै नतिजा बदल्न भूमिका खेलेका  प्रकाशमानलाई बदला लिन कोइराला समूहका कतिपय कार्यकर्ताहरूले उपयुक्त समय कुरेर बस्नु स्वाभाविक नै थियो । एमालेलाई कुनै पनि हालतमा मत दिन नसक्ने अवस्थामा रहेको कोइराला समूहलाई गणेशमान सिंहकी  श्रीमती चुनावी मैदानमा आउनु पक्कै प्रिय लाग्ने निर्णय थिएन । यही असन्तुष्टिले एमालेलाई कुनै पनि हालतमा मतदान गर्न नसक्ने काँग्रेसको ठुलो समूहलाई लौरो चिन्हमा मतदान गर्नुपर्ने वाध्यात्मक मनोविज्ञान बन्यो । परिणामतः बालेनलाई नेपाली काँग्रेस भित्रैको अन्तर्विरोध बालेनको बाहुल्यको प्रमुख कारण बन्यो । 

एमाले भित्रको अन्तर्विरोध :

स्वतन्त्र उम्मेदवार बालेनको उदयमा नेकपा एमाले भित्रको अन्तर्विरोधले पनि ठुलै मलजल गर्ने काम गरेको देखिन्छ । मुख्यतया एमालेभित्र उम्मेदवार चयनमा देखिएको अन्तर्विरोधलाई ठिक ढङ्गले समाधान गर्न नसक्दा र एमालेबाटै उठेका उम्मेदवार केशव स्थापितले हिजो एमालेले गरेका राम्रो कामको जस र प्रचार गर्न देखाएको अरुचि पनि बालेनका लागि बलियो जितको आधार बन्यो । 

केशव स्थापितको थुतुनो :

काठमाडौँ महानगरपालिकाको मेयर पदका बलियो उम्मेदवार मानिएका एमाले उम्मेदवार केशव स्थापितको बोल्ने शैली पनि बालेन साहको जितको लागि मुख्य कारण बन्यो । उम्मेदवारी लगत्तै केशव स्थापितलाई उत्तेजित पार्नका लागि जबरजस्त चलाइएको ‘मिटु’ अभियान र त्यसलाई सही ढङ्गले चिरफार गर्नुको साटो उल्टै थप विवादित बनाउने काम स्थापितले नै गरे । स्थापितले आफू निर्दोष भएको र चुनावी फन्डाका लागि दोषारोपण गरी हल्ला चलाइएको कुरालाई शान्त ढङ्गले चिर्नुको साटो ‘यु आर नाइस लेडी, तर थुतुनो भएन’ भन्दै दिएको अभिव्यक्ति उनकै लागि घातक बन्यो ।

मतदाताले पनि स्थापितलाई ‘यु आर नाइस पर्सन, तर थुतुनो भएन’ भन्नु पर्ने मनोविज्ञान तयार गर्न केशव स्थापितले पटक पटक दिएका अभिव्यक्तिले काम गर्‍यो । स्थापितले  अघिल्लो पटक काठमाडौँमा जितेका मेयर विद्या सुन्दरको बचाउ त गरेनन् गरेनन्, आफ्ना विकासका एजेण्डा समेत नदिएर अधिकांश समय आफूले जित्ने र विजय उत्सव लामो नबनाउने मात्र कुरा गरिराखे । आफ्ना विकासका एजेण्डालाई स्थापित गर्न नसक्नु र उम्मेदवारी दिँदैमा विजय भइसकेको कोरा कुरा गरेर पनि स्थापितले मतदाता एरिटेड गर्ने काम गरे । हिजोका मेयरका हरेक काम जे भयो त्यसमा कोरोना महामारी, उपमेयरको असहयोग लगायतका कारणलाई देखाउनु र बचाउ गर्नुको साटो सबै विद्यासुन्दर कै र काठमाडौँ परिवर्तन गर्न सक्ने आफू मात्र एक्लो वीर भएको अपत्यारिलो कुरा पनि स्थापितलाई विस्थापित गर्न कारण बन्यो  ।

त्यति मात्र हैन, अन्तरवार्ता लिने पत्रकारलाई तिम्रो भुँडी लागेछ भन्दै दिएको भद्दा अभिव्यक्तिले पनि स्थापितलाई विस्थापित गर्न बल पुग्यो । अर्कातर्फ स्थापितले बालेन साहलाई मधेसी मूलका मान्छे र आफू मात्र काठमाडौँको आदिवासी  भएको भन्दै दिएको अभिव्यक्तिले पनि आम मतदाता र शुभेच्छुकलाई थप रुष्ट बनायो । काठमाडौँ महानगरपालिका हिजोको जस्तो नेवारी बस्ती मात्र नभई सिङ्गो मुलुकभरिका जनता बस्ने, काम गर्ने थलो हो भन्ने कुरा स्थापितले भुल्नु उनको मत बालेनलाई जान ठुलो सहयोगी बन्यो । गणतन्त्रको यो उन्नत व्यवस्थामा पनि स्थापितले गरेको जातीय क्षेत्रीय नारा आम मतदातालाई रुचिकर नलाग्नु स्वाभाविक थियो । 

दलहरूप्रतिको वितृष्णा:

स्वतन्त्र उम्मेदवार बालेन साहले जित्नुको अर्को प्रमुख कारण भनेको पछिल्लो समय आम नागरिकहरूप्रति देखिएको दलहरू प्रतिको अविश्वास र वितृष्णा पनि हो । पटक पटक दललाई भोट पाएका दलहरू उनीहरूको सत्ता स्वार्थ र झिनाझम्टीप्रति वाक्क बन्दै गएका दिए । विकास निर्माण र नागरिकहरूको समस्यामा केन्द्रित हुनु पर्ने दलहरू जहिल्यै पनि अनावश्यक खिचातानीमा लाग्नु र नागरिकहरूका समस्याप्रति संवेदनशील नहुँदा अघिल्लो चुनावमै वैकल्पिक शक्तिको खोजीमा रहेका काठमाडौँका मतदाताको नजरमा बालेन साह पर्न सफल भए । उनीहरूले आफ्नो वैकल्पिक शक्तिमा नयाँ उदाउँदै गरेको विवेकशील जस्तो पार्टीबाट पनि समाधान हुने नदेखेसँगै बालेन साहलाई मत मिल्ने वातावरण बन्यो । 

परिवारवाद प्रतिको विद्रोह :

नेपाली काँग्रेसबाट टिकट पाएकी गठबन्धनकी उम्मेदवार नेपाली काँग्रेसका सम्मानित नेता गणेशमानकी बुहारी र प्रकाशमानकी श्रीमती हुन् सिर्जना सिंह । पारिवारिक राजनीतिक विरासतको आधारमा दक्ष र योग्य उम्मेदवारलाई पाखा लगाउनु र देउवाको एकल दम्भमा चर्चा र सक्रिय राजनीतिमै नरहेकी सिंहले टिकट पाउनुको विद्रोह पनि स्वतन्त्र उम्मेदवार बालेन साहलाई जिताउनका लागि कारक बन्यो । 

स्थापितको साम्प्रदायिक नारा :

काठमाडौँको निर्वाचनमा निर्णायक भूमिका खेल्ने यहाँको नेवारी समुदायको मत यसपालि विभाजित हुन पुग्यो । गठबन्धन तर्फबाट उठेकी काँग्रेसकी सिंह र एमालेका स्थापितले यहाँको मत खोसाखोस गरिरहेकै समयमा निर्वाचनमा उम्मेदवार बनेका सुमन सायमीबाट पनि यहाँको मत विभाजित गराउने काम भयो । सायमीले यहाँका गुठीहरूमा आबद्ध समुदायको मन जित्न सफल भइरहेका थिए भने उनले त्यो मत आफूतिर तानिदिँदा बालेनले लिएको अग्रतालाई उछिन्ने अवस्था नै बनेन । गुठी विधेयकका सम्बन्धमा देखिएको भ्रमलाई उपयुक्त तरिकाले चिर्न नसक्नु नेकपा एमालेको कमजोरी रह्यो भने गुठीको पक्षमा अभियान चलाएका स्वतन्त्र उम्मेदवार सायमीले उक्त समुदायको मतदातालाई आफूतिर आकर्षित गरिदिनु बालेनको जितको लागि थप निर्णायक बन्यो ।

निष्पक्ष निर्वाचनको बुख्याचा 

सुन्दा अप्रिया लागेपनि निर्वाचन निष्पक्षताको प्रचारका लागि कतिपय बुख्याचाहरू उभ्याइने गरिन्छ यसो भन्दा कतिपयलाई अप्रिय लाग्न सक्छ, । कतै पाँच दलीय गठबन्धनले पनि देशभर गरेको सत्ताको दुरुप्रयोग र धाँधलीबाट चोखिन र निर्वाचनलाई स्वतन्त्र देखाउन देशको राजधानीमा कमजोर उम्मेदवारलाई  जित्ने आधार त तयार गरिदिएन ? भन्ने आशङ्का चर्चाको विषय हो । राजधानी जस्तो क्षेत्रमा स्वतन्त्र र कमजोर उम्मेदवारको  विजयले  देशभरको निर्वाचनको निष्पक्षता र परिणामलाई छायामा पार्ने अवश्य हुन्थ्यो ।  आम मानिसहरूको ध्यान काठमाडौँमा देखाएर कतै गठबन्धन दलहरूको ध्यान अन्यत्र नै सिकार त थिएन ? 

चितवन, पोखरा, रुपन्देही, अधिकांश महानगर, उपमहानगरमा जनताले देखाएको चासो र ध्यानलाई मोड्न उनीहरू आफैले काठमाडौँलाई स्वतन्त्र त छोडेनन् ?  चितवनमा भोट नहाले देश दुर्घटनामा जाने अभिव्यक्ति दिने गठबनधनका नेताहरुले धेरै ठाउँमा गठबन्धनका उम्मेदवारहरुलार्इ भोट नहाले कारवाही गर्ने चेतावनी दिए  तर उनीहरु केही एकाध ठाउँमा भने निर्वाचन निश्पक्ष देखाएर आफ्नो उद्देश्य त परिपुर्ती गराउन चाहादैनथ्ये ? 

देशभरिबाट एमालेलाई हराउनका लागि गरिएको मोर्चाबन्दीमा सिङ्गो शक्ति परिचालित गरेर मुलुककै राजधानीमा स्वतन्त्र उम्मेदवारले जित्नु निर्वाचनको निष्पक्षतामाथि कुनै प्रश्न उठाउन नसक्ने वस्तु निष्ठ प्रमाण हो । सत्ता घटक दलले अन्यत्र निर्वाचनमा देखाएको बल र ध्यान काठमाडौँ महानगरमा नदेखाउनु भनेको उनीहरू कतै यो निर्वाचनलाई त्यस्ैअनुकुल प्रयोग त गरिरहेका छैनन शंका गर्ने प्रयाप्त ठाउँहरु छन् ।  स्वाभाविक रूपमा पाँच दलीय गठबन्धनले महानगरमा चुनावी प्रचारमा देखाएको अरूचीकै कारण एमालेले उपमेयरमा ल्याएको मत परिणाम भारी अन्तर देखियो ।  अधिकांश वडामा काँग्रेसले जित्ने तर गठबन्धनबाटै उठेका नेकपा एसको उपप्रमुखको उम्मेदवारले प्रयाप्त मत नपायनु भनेको राजधानीको निर्वाचनप्रति गठबन्धनदलले अन्देखा गरिरहेकै त थिएनन भन्ने देखाउछ । 
एमाले र तटस्थ मतदाताको ध्यान काठमाडौँको निार्वचनमा केन्द्रित गराएर उनीहरू कतै अन्यत्र तिरको निर्वाचन परिणामका लागि फोहोरी खेलमा त लागेनन् ?  निर्वाचनको निष्पक्षताको तथ्यलाई  स्वतन्त्र उम्मेदवारको विजय राम्रो पटकथा हुने हुँदा बालेनको विजयको यात्रालाई आफूहरू पनि रोक्ने मुडमा उनीहरु थिएनन् कि ? यो शङ्कालाई समग्र निर्वाचनको परिणाम ले पुष्टि गदैन र ?

सत्ता घटक दलले अन्यत्र निर्वाचनमा देखाएको बल र ध्यान काठमाडौँ महानगरमा नदेखाउनुले कतै उनीहरू निर्वाचनप्रति नै रुचि नराखिरहेका त छैनन् भन्ने भान हुन्थ्यो । केही निर्वाचन क्षेत्रमा स्वाभाविक रूपमा आम आँकलनभन्दा फरक नतिजा ल्याउन र त्यसैको आधारमा निर्वाचनको निष्पक्षतामा प्रश्नै उठाउन नदिनु उनीहरूको ध्येय थियो । आफ्नो सिङ्गो शक्ति अन्त लगाएर राजधानीलाई छोडिदिनु भनेकै गठबन्धनको चुनावी चारो थियो । 

स्वतन्त्र उम्मेदवार बालेन शाहले विजय हासिल गरिसक्नुभएको छ । जनमतको सम्मान गर्नु हामी सबैको कर्तव्य हो । कारण जेसुकै होस्, दलीय व्यवस्थामा सम्भावना नै छैन कि भन्ने नयाँ पुस्तालाई बालेनको लौरोको उदय जबरजस्त आशा बनेर उदाएको छ । बालेन प्रतिको यो आकर्षण नयाँ पुस्ताको नेतृत्वको खोजी त हुँदै हो, दलीय झण्डा बोकेर आम जनचासोका विषयलाई नजरअन्दाज गर्नुको परिणाम पनि पक्कै हो । अस्वाभाविक ठानिएको, तर स्वाभाविक निक्लिएको बालेनको जित दलीय धङधङीमा रुमल्लिइरहेको राजधानीलाई दलीय स्वार्थबाट मुक्त गर्दै पुनर्जागरण गर्ने अवसर चाहिँ पक्कै हो । 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १० : ५४ बजे