मनाङमा पहिलो पटक आँखा शिविर : ६४ जनाको आँखाको शल्यक्रिया

लमजुङ । हिमाली जिल्ला मनाङमा पहिलो पटक आँखा शिविर सञ्चालन गरिएको छ । 

मनाङको चामेमा सञ्चालन गरिएको आँखा शिविरमा ६४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । मनाङको सदरमुकाम चामेस्थित सामुदायिक आँखा केन्द्रमा सञ्चालित शिविरमा मङ्गलवार र बुधवार गरी ६४ जनाको आँखाको शल्यक्रिया गरिएको हो । 

६३ जनाको मोतियाबिन्दुको अत्याधुनिक तरिकाबाट शल्यक्रिया गरिएको छ । एक जनाको आँखामा मासु पलाएकाले शल्यक्रिया गरिएको छ ।

शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका कार्यकारी निर्देशक वरिष्ठ आँखा रोग विशेषज्ञ डा। सन्दुक रुइतको नेतृत्वमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँका ११ जना प्राविधिक र अन्य स्वास्थ्यकर्मी शिविरमा खटिएका थिए ।

डा.रुइतले ६४ जना वृद्ध वृद्धाका आँखाको शल्यक्रिया गरेका थिए । आँखा शिविरमा चारै गाउँपालिकाका नागरिक आएका थिए । तिलगङ्गा आँखा प्रतिष्ठान, तेज कोहली एण्ड रुइत फाउन्डेशन र सामुदायिक आँखा केन्द्र मनाङको आयोजनामा सञ्चालित शिविरमा करिब नौ सय जनाको आँखा परीक्षण गरिएको थियो । 

एक सातासम्म गाउँ गाउँ पुगेर आँखा जाँच गरिएको थियो । आँखा परीक्षणपछि शल्यक्रिया गर्नुपर्ने आँखाका बिरामीको चामेमा शिविर सञ्चालन गरेर आँखाको शल्यक्रिया गरिएको छ । 

तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाका अनुसार शल्यक्रियाका लागि लमजुङ र गोरखाबाट बिरामी आएका थिए । चामे गाउँपालिकासँगै नासो गाउँपालिका मनाङ ङिस्याङ गाउँपालिकाका नागरिक पनि लाभान्वित भएका छन् । 

विकट नार्पाभूमि गाउँपालिकाको नारगाउँबाट दुई दिन हिँडेर सेवा लिन आएका थिए । आँखासम्बन्धी सेवा कहिल्यै नपाएका नागरिक पनि आएका थिए । 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ९ : ३५ बजे