आन्तरिक हवाई उडानमा अत्यधिक चाप

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रामकृष्ण खाँण विजयी हुनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार मोहन चापागाईँलाई झिनो मतले पराजित गर्दै खाँण विजयी हुनुभएको हो । उहाँले २४ हजार ३९६ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका चापागाईँले २३ हजार ६३१ मत गर्नुभएको छ  । खाँण ७६५ मतको अन्तरले विजयी हुनुभएका हो ।                 

त्यस्तै, उपप्रमुखमा नेकपा एमालेका जगेश्वरदेवी चौधरी विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका हेमन्त पाण्डेलाई ११ हजार मतान्तरले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो । 

काँग्रेसका रुपन्देही जिल्ला सभापति समेत रहनुभएका गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ रामकृष्ण खाँण २०७४ सालको निर्वाचनमा एमालेका वासुदेव घिमिरेसँग दुई हजार सात सय मतान्तरले पराजित हुनुभएको थियो । 

८५ हजार मतदाता रहेको तिलोत्तमामा कुल ६४ हजार ७०७ मत खसेको थियो । तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृह नगर हो भने एमाले उपाध्यक्ष विष्णु पौडेलको पनि निर्वाचन क्षेत्र पनि पर्दछ । 

गृहमन्त्री बालकृष्ण खाँणको गृह नगर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्र समेत हो । तिलोत्तमामा २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुखसहित १३ वडा अध्यक्ष जितेको थियो ।

यस पटक भने काँग्रेसले नौ र एमालेले सात वटा वडा अध्यक्ष जितेको छ । वडा नं १, ४, ७, १०, ११, १२ र १५ मा नेकपा एमालेले विजय हासिल गरेको छ भने वडा नं २, ३, ५, ६, ९, १३, १४, १६ र १७ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । 

तिलोत्तमामा काँग्रेस र माओवादीको गठबन्धन भएको थियो ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ७ : २० बजे