आज वर्षाको सम्भावना

पञ्चायतमा पनि नभएको सत्ताको दुरुपयोग यसपालि भयो : ओली

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमनत्री केपी शर्मा ओलीले गठबन्धन सरकारले सत्ताको दुरुपयोग गरी निर्वाचनमा धाँधली गरेको आरोप लगाउनुभएको छ ।

बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँनुहुँदै अध्यक्ष ओलीले स्थानीय निर्वाचन स्वच्छ, निष्पक्ष  र धाँधलीरहित हुन नसकेको बताउनुभयो । 

लोकत्नत्रको नाउँमा निर्वाचन भएपनि निर्वाचन निर्वाचन जस्तो हुन नसकेको ओलीले बताउनुभयो । सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरेर निर्वाचनको नाममा लोकतन्त्रको धज्जी उडाएको उहाँले बताउनुभयो । ‘स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भनियो तर १४ दिनमा पनि किन परिणाम आउन सकेन ?, ‘‘यस्तो नाङ्गो ढंगले पञ्चायतमा पनि राज्यसत्ताको दुरुपयोग गरेर निर्वाचन भएको थिएन तर यसपटक भयो,’ ओलीको भनाई थियो । 

उहाँले गठबन्धनले बुथ कब्जा गरेर, आफ्ना उम्मेदवारलाई थुनेर सत्ताको दुरुपयोग गरेको बताउनुभयो । उहाँले प्रहरीले समेत वुथ कब्जा गर्नेलाई नियन्त्रणमा नलिई उल्टै आफ्ना कार्यकर्ताहरुलाई दुःख दिएको बताउनुभयो । ‘बुथ कब्जा नगर भन्दा प्रतिपक्षका कार्यकर्ता गिरफ्तार गरिएको छ। उम्मेदवारका घरमा बम पड्काइएको छ। अनि के यो शान्तिपूर्ण भयो सबै ?’ ओलीको भनाई थियो । 

ओलीले चुनावमा सत्ता गठबन्‍धनले पैसा बाँढेको समेत बताउनुभयो । ‘पैसा,प्रलोभन बाँडियो’ ओलीले भन्न्ुभयो । ‘रुखमा भोट नहाल्नेलाई पैसा पठाइँदैनसम्म भने । ‘अमरगढी जितेको छ कि छैन । देउवाको वडामा अब बजेट नजाने भो । अमरगढी नगरपालिकामा पैसा नजाने भो । लोकतन्त्रको योभन्दा हरिविजोग अरु के हुन्छ ? ओलीले भन्नुभयो  ।

ओलीले स्थानीय तह निर्वाचनमा प्रतिपक्षलाई सिद्‌याउँछु भन्‍ने हक कहाँबाट आयो भन्‍दै प्रश्‍न गर्नुभयो । ‘प्रतिपक्षलाई सिद्‌याउँछु भन्‍ने हक कहाँबाट आयो ? ओलीले प्रश्‍न गर्नुभयो‘ चुनावमा जित्छौँ भन्न पाइन्छ तर गायब पार्छौँ, पत्तासाफ पार्छौँ, धुलो चटाउँछौँ भन्‍ने ?’ अध्यक्ष ओलीले गठबन्धनलाई जनताले भोट नहाले देश दुर्घटनामा जान्छ भनेर धम्काएको बताउनुभयो । ‘चुनावमा यदि जनताले भोट नहाले देश दुर्घटनामा जान्छ भनेर धम्काए,त्यहाँका मान्छेले द्वन्द्वकाल सम्झिए, त्यही चितवनमा बोरामा हालेर मान्छे फालेको सम्झिए । अनि विदेश गएको सम्झिएर जनताले थरथर काँपेर भोट हाले ।’ अध्यक्ष ओलीको भनाई थियो । 
 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ४ : १५ बजे