आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मतगणना नसकिँदै काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाहको जित सुनिश्चित 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले जित सुनिश्चित भएको छ  गन्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धी उम्मेदवारसँग उहाँको मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो । 

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार शाहले ५५ हजार ७४७ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गर्नुभएको छ । 

बालेन र निकटतम प्रतिस्पर्धी सिर्जनाबीचको मतान्तर २० हजार ३७६ रहेको छ । काठमाडौँ महानगरमा अब गणना गर्न बाँकी रहेको मत मात्र १९ हजार ३२३ रहेको छ । 

मतगणना गर्न बाँकी रहेको मतमध्ये एक मत पनि बालेन्द्रको पक्षमा नआए पनि उहाँले जित्ने निश्चित भएको छ ।

हालसम्मको मतगणना अनुसार काठमाडौँ महानगरको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत प्राप्त गर्नुभएको छ । स्थापितको भन्दा बालेनले २१ हजार १२१ बढी मत पाउनुभएको छ । 

काठमाडौँ महानगरको प्रमुखमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायामीले १० हजार ३२२ मत प्राप्त गर्नुभएको छ  । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १ लाख ९१ हजार १२५ मत खसेको थियो । पछिल्लो अपडेट अनुसार १ लाख ७१ हजार ८०२ मतगणना भइसकेको छ । अब १९ हजार ३२३ मत गन्न बाँकी रहेको छ । 

हालसम्म गणना भएकोमध्ये बालेनले ३२ प्रतिशत, सिर्जनाले २१ प्रतिशत, स्थापितले २० प्रतिशत, सुमनले ६ प्रतिशत र बाँकी अन्य उम्मेदवारहरूले प्राप्त गर्नुभएको छ ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ११ : ३६ बजे