एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

दलीय व्यवस्था र जनताको स्वतन्त्रता

निर्वाचन लोकतन्त्रको सुन्दरता मात्र होइन; यो आधार स्तम्भ हो, मेरुदण्ड हो । निर्वाचन लोकतन्त्रमा मात्र सम्भव हुन्छ । हुन त पञ्चायती व्यवस्थामा पनि निर्वाचन हुन्थ्यो, जनप्रतिनिधि चुनिन्थे । तर, त्यहाँ त्यसरी चुनिन पञ्च नै हुनुपर्दथ्यो । फरक राजनीतिक सिद्धान्त, मान्यता, विचार, योजना र दृष्टिकोण हुँदैन थियो । त्यति बेलाको निर्वाचन निर्दलीय निर्वाचन हुन्थ्यो । दलहरू थिएनन् वा प्रतिबन्धित थिए । पञ्च पञ्चका बीचमा मात्र निर्वाचन हुन्थ्यो, हार्ने र जित्ने दुवै पञ्च हुन्थे । 

अहिले मुलुकमा बहुदलीयता छ अर्थात् दल धेरै छन्, दल धेरै हुन पाउँछन् । विचारका आधारमा दल निर्माण वा गठन गर्न नागरिकहरू स्वतन्त्र छन् । अहिलेको व्यवस्था कहीँ कुनै संस्थाबाट नियन्त्रित छैन, संविधानको सर्वोपरितामा आधारित छ अर्थात् सबैभन्दा माथि संविधान छ । संविधानका दृष्टिमा सबै जनता समान छौँ । त्यसैले यस व्यवस्थालाई लोकतान्त्रिक परिपाटी—प्रणाली भएको गणतान्त्रिक व्यवस्था भनिएको छ । 

यो व्यवस्था ल्याउन पारिवारिक तन्त्र अर्थात् जहानियाँ तन्त्र, जसमा एउटा कुलीन परिवारले सबै जनतामाथि शासन गर्दथ्यो, जसलाई पछिल्लो समय राजसंस्था भन्ने गरिएको छ । फरक राजनीतिक विचार राख्ने, विचारका आधारमा जनमत निर्माण गर्ने, विचारमा सहमत भएका मानिसहरूलाई सङ्गठित गर्ने, शासकहरूको विरोध गर्ने अधिकारमाथि बन्देज थियो । यसो गर्नेलाई राजद्रोह लाग्दथ्यो । जेल, नेल, काल कोठरीको बास हुन्थ्यो । अत्यन्त कठोर सङ्घर्ष गरेर, ज्यानको बाजी थापेर, ज्यान हत्केलामा राखेर गरिएको सङ्घर्षबाट दलका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा कुनै दलमा नलागेका स्वतन्त्र रहेका सबै नेपाली नागरिकहरू आज देशको बारेमा बोल्न, विचार बनाउन, विचारको प्रचार गर्न, शासन सत्तामा रहेकाहरूको विरोध गर्न, आन्दोलन गर्न पाएका छौँ । यो सबै देशमा दशकौँ अघिदेखि भएका राजनीतिक आन्दोलनको बलमा प्राप्त भएको परिणामस्वरूप पाइएको हो । काठमाडौँका बालेन शाह, धरानका हर्क साम्पाङ र धनगढीका गोपाल हमालहरू स्वतन्त्र उम्मेदवार बन्न पाउनुभएको पनि त्यही राजनीतिक सङ्घर्ष र त्यसको सफलताकै बलमा हो । 

जनता महान् छन्, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । दलभित्र खराबी हुन सक्दैन, खराबी छैन भन्न त सकिँदैन, बहुदलीय लोकतन्त्रमा दलहरूको ठुलो र निर्णायक महत्त्व हुन्छ, त्यस अनुसारको भूमिका हुन्छ । दलहरूको शक्ति भनेका पनि जनता नै हुन् । त्यसैले जनता र राजनीतिक दलका बीचमा अनबन हुनु, दलहरूप्रति जनताको वितृष्णा बढ्नु, विश्वास घट्नुका मुख्य जिम्मेवार दलहरू नै हुन् । चुनावका सन्दर्भमा संविधानले कल्पना नै नगरेको गठबन्धन गर्नु दलहरूले आफ्नो दलप्रति आफैले विश्वास नगरेकै हो । जब दलहरूले आफ्नो सिद्धान्त, विचार, दृष्टिकोण, सङ्गठनमाथि विश्वास नगरेर यी सबैलाई छासमिस पारेर गठबन्धन गर्दछन्, जनताले कुन दलको प्रतिबद्धतालाई अनुमोदन गर्ने ? वास्तवमा गठबन्धनका उम्मेदवारहरूले पनि स्वतन्त्र उम्मेदवारकै समूहको चुनाव चिन्हमा लड्नुपर्ने प्रावधान हुनुपर्ने हो । दलप्रतिको अविश्वासले गठबन्धन गरिन्छ भने दलको चुनाव चिन्हमा चुनाव लड्नुको सैद्धान्तिक आधार र औचित्य रहन्छ र ? तर, यस्तो प्रयोग भयो, पाँच दलको गठबन्धन गरेर एउटा दलको चिन्हमा चुनाव लड्ने गैर दलीय अभ्यास भयो । यसको असर र प्रभाव पनि स्वतन्त्र उम्मेदवारका लागि बलियो आधार बन्यो । 

राजनीतिक दलहरू दलीय व्यवस्था र जनताको स्वतन्त्रता बीचको पुल बन्न सकेनन् । यसले दलीय मान्यता र पद्धतिलाई कमजोर बनाउनु स्वाभाविक हो । यसका लागि दलहरू दोषी छन् । दलहरूको दोषका कारण गैर दलीय संस्कृति मौलाउने र चुनावमा दलको विकल्पमा दल नभई दलको विकल्पमा स्वतन्त्र रोजाइले दलीय व्यवस्थालाई कमजोर बनाउँछ । 

दलहरूका दाबीलाई दाल दलेझैँ दल्दै स्वतन्त्र उम्मेदवारहरूले प्राप्त गरेको विजयबाट दलहरूले गम्भीर शिक्षा लिनु जरुरी छ । दलहरूले बेलैमा नीति, नेतृत्व र नेताप्रति विश्वास बढाउने काम गरून्, आफैले सङ्घर्ष गरेर प्राप्त गरेको बहुदलीय लोकतन्त्रलाई सबल, विश्वसनीय र जनमुखी बनाउन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनमा जनमत प्राप्त गरेर जनप्रतिनिधि बन्ने अवसर प्राप्त गर्नुभएका सबैलाई हार्दिक बधाई । अहिले प्राप्त गरेको विश्वासमा आफूलाई जोगाइराख्न सक्नुहोस्, स्वतन्त्र उम्मेदवार भई प्राप्त गरेको आफ्नो सफलतालाई दलीय व्यवस्थाको विकल्प नठान्नुहोस्, हार्दिक शुभकामना !!

 

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ८ : ०९ बजे