दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

मानव बेचबिखनका आरोपी उम्काउन प्रहरीकै संलग्नता, सीमा सिल हुँदा बेचिनबाट बचिन किशोरी

लमजुङ । लमजुङमा एक १६ वर्षीया किशोरी बेचिनबाट जोगिनुभएको छ । स्थानीय तह निर्वाचनको बेलामा तीन दिनसम्म गरिएको भारतीय सीमानाका शीलका कारणले उहाँ बेचिनबाट बच्नुभएको हो । तर, यो घटनामा पीडकलाई उन्मुक्ति दिन प्रहरीले भूमिका खेलेको पीडितको गुनासो छ । 

विगत १३ वर्षदेखि लमजुङमा ढुंगा, बालुवा, गिट्टीको काम गरी बसेका परिवारहरूकी सदस्य हुनुहुन्छ, पीडित किशोरी । उहाँ धादिङको तत्कालीन लापा गाविस– २ का स्थायी बासिन्दा हुनुहुन्छ ।

उहाँहरू बेसीसहर नगरपालिका– १ को ठूलो धिमिरे गाउँमा काम गर्दै आइरहनुभएको थियो । सोही गाउँकी विष्णुमाया लोहनीले ती किशारीलाई ललाईफकाई गरी माइक्रोबसको सहचालकलाई जिम्मा लगाई गत २७ वैशाखको बिहान ७ बजे काठमाडौं पठाउनुभएको रहेछ । 

‘राम्रो केटा छ, उसँग विवाह गर । तिम्रो इच्छाअनुसारका सुनका गरगहना लगाउन, राम्राराम्रा कपडा लगाउन पाइन्छ । सुख पाउँछ्यौ, काम केही गर्नु पर्दैन भन्यो र म गएकी हुँ,’ पीडित किशोरीले भन्नुभयो । 

उहाँ ६ वर्षकी हुँदा उहाँका बाबुले सौतेनी आमा ल्याएको र आफ्नी आमा पनि दोस्रो विवाह गरी हिँडेपछि उनलाई फुपु सेतीमाया तामाङले लमजुङ ल्याएर हुर्काउनुभएको थियो । 

 ३ कक्षासम्म पढेपछि उहाँ पढाइ छाडेर फुपुसँगै गिट्टी बालुवाको काम गर्न थाल्नुभयो । यसैक्रममा उहाँ विष्णुमायाको सम्पर्कमा पुग्नुभयो ।  पीडित लमजुङ फर्किएपछि उहाँकी फुपूले मानव बेचबिखनको आरोपसहित विष्णुमायालाई कारबाहीका लागि निवेदन दिन जाँदा प्रहरीले उल्टै हप्काउँदै उमेर पुगेको मान्छे आफू खुसी जहाँ जान पनि सक्छ भन्दै गाली गरेको पीडितको आरोप छ ।

पीडकबाट १० हजार रुपैयाँ १० दिन पछि दिने गरी सही गराएर प्रहरीले आफूहरुलाई फर्काएको पीडितकी फुपु सेतीमायाले बताउनुभयो । 
तर, पैसा लिएकोबारे कागजलमा लेख्न नमिल्ने र कागजमा के लेखिएको थियो, यसबारे पनि प्रहरीले पढेर नसुनाएको उहाँको आरोप छ । आफूहरुले कागजमा सही गर्न लगाएर पठाएको उहाँले बताउनुभयो। 

‘पुलिसले के लेखेर सही गराएको हो, त्यो पनि सुनाएन,’ पीडितकी फूपु सेतीमायाले भन्नुभयो, ‘भदैलाई खोज्ने क्रममा मेरो ४० हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । पुलिस १० हजार पाउछेस् भन्छ । त्यो पनि कहिले दिने हो थाहा छैन । म त पुलिसकोमा पनि जान्न, कस्तो थर्काउँछ । हामी साह्रै अन्यायमा पर्‍यौँ ।’ 

जन्मदर्ता प्रमाणपत्रअनुसार किशोरीको जन्म मिति १९ असार २०६२ उल्लेख छ । उमेर पुगेको भन्दै मिलापत्र गराउन खोजेको प्रहरीले चेलीबेटी बेचबिखन जस्तो संवेदनशील विषयमा   पीडितहरू प्रति गरेको व्यवहारले थप आशंका उपब्जाएको पीडित पक्षको भनाइ छ । 

निर्वाचनका कारण भारतीय सीमानाका शील भएकाले किशोरीलाई काठमाडौंमा होटेलमा लगेर राखेको अवस्थामा फेला पारेर लमजुङ ल्याइएपछि पीडित उजुरीसहित प्रहरीकोमा पुगेको हो । 

करकापमा नभई सहमतिमा काम लगाउन लगिएको र अहिले किशोरी फर्किसकेकाले सम्झाएर पठाएको प्रहरीको जवाफ छ । ‘उमेर पुगेको केटी हो, करकापमा लगिएको होइन । काम लगाइदिन भनेर लगेको हो र अहिले सही सलामत केटी फिर्ता आएको हुँदा सम्झाएर पठाएका हौं,’ लमजुङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो ।
 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १ : ५६ बजे