आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बाराका १५ पालिकामा मतगणना सकियो, कसले कहाँ जिते ?

बारा । १६ वटा स्थानीय तह रहेको बाराका १५ स्थानीय तहको मतगणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले चार, कांग्रेसले चार, लोसपाले तीन, जसपाले दुई, माओवादी केन्द्र एक र विवेकशील साझाले एक पालिकामा जित हासिल गरेको छ ।

कलैया उपमहानगरपालिकामा एमालेका विनोदप्रसाद साह २४ हजार १७४ मत ल्याई नगरप्रमुख पदमा विजयी हुनुभएको छ भने निजगढ नगरपालिकामा एमालेका सुरथ पुरीले ९ हजार ४७५ मत ल्याई नगरप्रमुख पदमा विजयी हुनुभएको छ । परवानीपुर गाउँपालिकामा एमालेका रामक्षत्रीप्रसाद कुर्मीले २ हजार ९१७ र प्रसौनी गाउँपालिका एमालेकै विनोद प्रसाद जैसवालले ४ हजार ४८८ मत प्राप्त गरी गाउँपालिकाको प्रमुखमा विजयी हुनुभएको हो । 

२०७४ को निर्वाचनमा दुई पालिकामा मात्र जित हासिल गरेको एमालेले बारामा हालसम्ममा चार पालिकामा जित हासिल गरेको हो । यसअघि एमालेले जित हासिल गरेको कोल्हवी र जितपुरसिमरा उपमहानगरपालिका दुबै पालिका भने गुमाएको छ ।

कोल्हवी नगरपालिकामा नेपाली का‌ंग्रेसका रामप्रसाद चौधरीले ९ हजार १०५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने कांग्रसकै राजेशप्रसाद यादवले ५ हजार ३५१ मत ल्याई सुवर्ण गाउँपालिकामा विजयी हुनुभएको हो । महागढीमाई नगरपालिकाको मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव उपन यादव दोहोरिनुभएको छ । 

निवर्तमान मेयरसमेत रहेका यादवले ८ हजार ६७० मत ल्याएर विजयी हुनुभएको छ । आदर्श कोत्वाल गाउँपालिकाकमा समेत कांग्रेसले जित हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जवाहर साह विजयी हुनुभएको छ । उहाँले ४ हजार ८७ मत प्राप्त गरी विजयी हुनुभएको हो । २०७४ को निर्वाचनमा ६ पालिकामा जित हासिल गरेको कांग्रेसले बारामा हालसम्ममा चार पालिकामा जित हासिल गरेको हो ।

यसअघि कांग्रेसले जित हासिल गरेको कलैया उपमहानगरपालिकासहित निजगढ, सिम्रौनगढ, बारागढी र करैयामाई भने गुमाएको छ । जनता समाजवादी पार्टी, नेपालले दुई गाउँपालिकामा जित हात पारेको छ । जसपाले देवताल गाउँपालिकाको अध्यक्षमा उदयप्रसाद यादवले ४ हजार १७६ मत र करैयामाई गाउँपालिकामा शम्भु प्रसाद यादवले ५ हजार ५९८ मतले विजयी हासिल गर्नुभएको छ । 

यसअघि करैयामाईमा कांग्रेसले र देवतालमा राष्ट्रिय जनता पार्टी, नेपालले जित हासिल गरेको थियो । विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका जुल्फकार अली भुटोले ४ हजार ३१७ मत र सिम्रौनगढ नगरपालिकामा किशोरीप्रसाद कलवारले ११ हजार १३७ मतसहित विजयी हुनुभएको छ । 

बारागढी गाउँपालिकामा समेत लोसपाले चुनाव जितेको छ । पालिका अध्यक्षमा लोसपाका अशोककुमार जयसवालले ५ हजार ४२६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । यसअघि २०७४ को निर्वाचनमा सिम्रौनगढ र बारागढीमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो ।

जितपुरसिमरा उपमहानगरपालिकामा माओवादी केन्द्रका राजन पौडेलले १८ हजार ७४३ मतसहित जित हात पार्नुभएको छ । उहाँको जितसँगै बारामा माओवादी केन्द्रले खाता खोलेको हो । यसअघिको निर्वाचनमा माओवादी केन्द्रले कुनै पनि पालिकाको प्रमुखमा जित हासिल गर्न सकेको थिएन ।

बारामा विवेकशील साझा पार्टीले पनि खाता खोलेको छ । फेटा गाउँपालिकामा विवेकशीलका रुस्तम अन्सारीले ४ हजार ४८५ प्राप्त गरी विजयी हुनुभएको हो । अन्सारीलाई कांग्रेसले टिकट नदिएपछि उहाँ विवेकशील प्रवेश गरी निर्वाचनमा होमिनुभएको थियो । यसअघि फेटा गाउँपालिकामा संघीय समाजवादी फोरम, नेपालले जित हात पारेको थियो ।   जिल्लामा हालसम्म पनि पचरौता नगरपालिकाको भने मतगणना भइरहेको निर्वाचित भएको जिल्ला निर्वाचन प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो । 

जिल्लाको १६ स्थानीय तहमध्ये हालसम्म १५ स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ भने पचरौता नगरपालिकामा मतगणना जारी छ । ३० वैशाखमा पचरौताको २ र ४ नम्बर वडाको निर्वाचन विवादको कारण स्थगित भएपछि ढिलाइ भएको हो । ४ जेठमा उक्त दुई वडामा पुनः निर्वाचन गरिएपछि सुरु भएको मतगणनाको अन्तिम परिणाम आउन बाँकी छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  २ : ०६ बजे