प्रधानमन्त्रीको समवेदना सन्देश मानन्धरका छोरालाई हस्तान्तरण

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का अध्यक्ष विष्णुबहादुर मानन्धरको निधन भएकोमा पठाउनुभएको शोक तथा समवेदना सन्देश आज मैतीदेवीस्थित मानन्धर निवासमा परिवारजनलाई हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्रीको शोक तथा समवेदना सन्देश लिएर शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, सांसद विना श्रेष्ठलगायत मानन्धर निवासमा पुगेर छोरा सुनिल मानन्धर र परिवारजनलाई हस्तान्तरण गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । 

 मानन्धरको यहि चैत १६ गते  ९१ वर्षको उमेरमा निधन भएको थियो ।   नेपालको राणाविरोधी र सिङ्गो कम्युनिष्ट आन्दोलनमा मानन्धरको सक्रिय, प्रेरणादायी र उल्लेखनीय योगदान रहेको छ । प्रधानमन्त्री ओलीले मानन्धरका छोरा सुनिल तथा परिवारलाई सम्बोधन गर्दै समवेदना सन्देश पठाउनु भएको हो । 

सन्देशमा मानन्धरको निधनले आफूलाई दुःखित तुल्याएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । “पितृवियोगमा पर्नुभएका तपाई, पारिवारिक वियोगले मर्माहत तपाईको परिवार र आफन्तजनप्रति म गहिरो समवेदना व्यक्त गर्दछु ।” जहानियाँ राणाशासन विरुद्धको संघर्षमा समेत सक्रिय रहनुभएका मानन्धरले नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै पार्टीमा संगठित रहेर पु¥याउनुभएको योगदानको प्रधानमन्त्रीले स्मरण गर्नुभएको छ । 
 

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ९ : ०५ बजे