दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

पालिका प्रमुख र वडाध्यक्षमा एक÷एक महिला

रामपुर।  पाल्पामा दश पालिकामध्ये एकमा महिला मात्रै प्रमुख पदमा निर्वाचित हुनुभएको छ । बगनासकाली गाउँपालिकामा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएकी सरस्वती चिदी पालिका प्रमुखको जिम्मेवारी पाउने जिल्लाको एक मात्र महिला हुनुहुन्छ । गाउँपालिकाको पूर्व उपाध्यक्ष समेत रहनुभएकी चिदीले छ हजार ४६६ मत प्राप्त गरी विजयी हुनुभएको हो । 

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुनिता अधिकारीलाई ८३३ मतअन्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको थियो । पराजित अधिकारीले पाँच हजार ६३३ मत प्राप्त गर्नुभयो  । पालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएर पाँच वर्ष कार्य गरेको अनुभवले उहाँलाई पार्टीले अध्यक्ष पदमा सर्वसम्मत अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको थियो । “महिलालाई सीपमूलक तथा उनीहरुको क्षमता विकास गर्ने खालका कार्यक्रममा जोड दिनेछु, क्षमतावान् भएर पनि महिला भएकै कारण नेतृत्व तहबाट पछाडि परिरहेका छन्, महिलालाई नेतृत्व लिनसक्ने र स्वरोजगार बनाउने खालका कार्यक्रममा मेरो जोड रहनेछ” चिदीले भन्नुभयो । 

उहाँले पाँच वर्षको अवधिमा पालिका उपाध्यक्ष भएर सबै वडामा समन्वय समिति, पालिकास्तरीय महिला सञ्जाल, महिला सशक्तिकरणका लागि विभिन्न तालिम सञ्चालन गरेर उनीहरुको आयस्तर वृद्धि गर्ने खालका कार्यक्रम गरेको बताउनुभयो । अवसर दिनुप¥यो महिलाले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह गर्नसक्ने उहाँको तर्क थियो । 
जिल्लामा ८१ वडामा एक महिला मात्रै वडाध्यक्षमा निर्वाचित बन्नुभएको छ । तिनाउँ गाउँपालिका –५ मा एमालेबाट इन्द्रा चिदी ६७७ मतसहित वडाध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिष्पर्धी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का गणेश रासकोटी हुनुहुन्थ्यो । अघिल्लो निर्वाचनमा सोही वडामा वडा सदस्यमा निर्वाचित भएर काम गर्नुभएकी चिदी यस पटक भने वडाध्यक्ष नै बन्न सफल हुनुभएको हो । 

अन्य वडामा भने सबै पुरुष नै वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेले चिदीलाई मात्रै वडाध्यक्षको उम्मेदवार बनाएको थियो भने अन्य पार्टीबाट कुनै पनि महिला वडाध्यक्षको उम्मेदवारमा सिफारिस भएनन् । 
  घरधन्दा, छोराछोरीको स्याहारसुसारजस्ता सबै जिम्मेवारी महिलाको काँधमा छ । यस्ता जिम्मेवारी निर्वाह गर्नुपरे पनि  सामाजिक, राजनीतिक तथा विभिन्न क्षेत्रमा महिलाको अग्रसरता उत्साहजनक नै छ । पितृसतात्मक सोचले अझैपनि समाज माथि उठ्न नसकिरहेको अवस्थामा महिलाहरु पुरुष सरह नै नेतृत्व लिने कसरतमा छन् । 
 भरसक नेतृत्व तहमा पुरुष नै हुनुपर्छ भन्ने मनसाय नै छ । विगतका अवस्थालाई केलाउदा भने पछिल्लो समय महिला नेतृत्व तहमा जुर्मुराएका देखिन्छन् । झट्ट महिलालाई नेतृत्वमा स्थान दिन पुरुष नै सहमत हुदैनन् । सक्षम र योग्य भए पनि महिला महिला भएकै कारण कतिपय स्थानबाट नेतृत्वमा आउन नसकेको अवस्था पनि छ ।

एक कार्यकाल पालिका उपप्रमुख वा उपाध्यक्षमा रहेर काम गरेका महिलाहरु यस स्थानीय तहको  निर्वाचनमा पालिका प्रमुखको दाबेदार नभएका पनि होइनन् तर सक्षम र योग्य रहेपनि राजनैतिक दलका नेताहरुले पत्याउन सकेनन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा सबै पालिकाको नतिजा सार्वजनिक भएको छ ।

निस्दी, पूर्वखोला, माथागढी, रम्भा, बगनासकाली गाउँपालिकामा नेकपा एमालेले पालिका अध्यक्ष र  उपाध्यक्ष तथा  तिनाउँमा अध्यक्ष पदमा विजयी भएको छ भने नेपाली कांग्रेस रामपुर नगरपालिकाको प्रमुख, उपप्रमुख, तानसेन नगरपालिकाको प्रमुख, रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष, तिनाउँ र रिब्दिकोटको उपाध्यक्ष पदमा निर्वाचित भएको छ ।    नेकपा (माओवादी केन्द्र) रिब्दिकोट गाउँपालिकाको अध्यक्ष, तानसेन नगरपालिकाको उपप्रमुख, रैनादेवी छहराको उपाध्यक्षमा निर्वाचित भएको छ । जिल्लाको मत परिणामको नतिजा हेर्दा एमाले बलियो बनेको छ । यस पटक पनि एमालेकै नेतृत्वमा जिल्ला समन्वय समिति बन्ने भएको छ । यस अघिको  निर्वाचनमा पनि समन्वय समिति एमालेकै नेतृत्वमा बनेको थियो । 
 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १ : ४२ बजे