आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

हालसम्म ७ सय २९ पालिकाको अन्तिम परिणाम सार्वजनिक कुन दलले कति जिते ?

काठमाडौं । निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ । 

आयोगले गत वैशाख ३० गते एकसाथा सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । 

आयोगका अनुसार मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, नेपाल, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष पदमा जित हासिल गर्नुभएको हो ।  

आयोगको पछिल्लो तथ्याङ्कअनुसार मतगणना सम्पन्न भएकामध्ये ३१९ पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । मतगणना भइरहेकामध्ये ६ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ । 

एमालेका उम्मेदवारले हालसम्म १९९ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित हासिल गर्नुभएको छ ।  मतगणना भइरहेका पालिकामध्ये ६ वटाको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारको अग्रता रहेको छ । 

माओवादी केन्द्रका उम्मेदवार १२० पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी बन्नुभएको छ । मतगणना भइरहेकामध्ये २ पालिकाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवारले अग्रता कायम गरिरहनुभएको छ । 

जसपाले हालसम्म २९ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये ३ वटाको प्रमुख तथा अध्यक्षमा जसपाका उम्मेदवारको अग्रता रहेको छ । 

एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना भइरहेका पालिकामध्ये २ वटा एकीकृत समाजवादीका उम्मेदवार अगाडि रहनुभएको छ । 

लोसपाका उम्मेदवारले १५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जित्नुभएको छ । मतगणना भइरहेका पालिकामध्ये एउटामा लोसपाको अग्रता रहेको छ । 
आयोगका अनुसार अन्य दल र स्वतन्त्र उम्मेदवार २९ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी भइसकेका छन् । मतगणना भइरहेकोमध्ये एउटा पालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ । 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १२ : १२ बजे