जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोकियो

​​​​​​​भैरहवा । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ । 

आज बिहान २ः०० बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । 

विमान यात्रु ओरालेर एप्रोनमा छ ।  १२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरासतमा रहेका कैदी थिए । उनीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको हो । विमान अवतरण गरेपछि चरासँग ठोकिएको थियो । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रनवेमा कतै चरा देखिन्न । “पाइलटहरूले अवतरणको क्रममा चरासँग ठोकिएको आशङ्का गरेका छन् । तर, रनवेमा देखिनुपर्ने चरा देखिएन”, साहले भन्नुभयो, “चरा कतै इन्जिनमा त गएन भनेर जहाज यही होल्ड भएको छ ।”

एयरलाइन्सका इन्जिनियरले विमान चेकजाँच गरेर मात्रै उडान गरिने भएको छ । जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सोमबार, बुधवार र शुक्रवार उडान गरिरहेको छ ।

 

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ९ : ४३ बजे